आमसञ्चार प्रतिष्ठानको औचित्य

laxaman pantaलक्ष्मणदत्त पन्त

 


वि.संं. २०१२ साल चैत १६ गते स्थापित नेपाल पत्रकार सङ्घका सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका नाममा स्थापना गर्न भनी यसअघिको सरकारले घोषणा गरेको आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानलाई वर्तमान सरकारले भट्टराईको नाम हटाउन लागेको भनी केही दिनयता राजनीतिक आस्थामा विभाजित पत्रकारले त्यसको समर्थन र विरोध दुवै गरेका छन् । नेपाली काँग्रेसको भातृ संस्था नेपाल प्रेस युनियनले त प्रेस विज्ञतिमार्फत भट्टराईको नाम हटाउने विषयको विरोध मात्र गरेको छ भने युनियनआबद्ध पत्रकारले पत्रकार महासङ्घको सदस्यतासमेत च्यात्नेसम्मको धम्की सामाजिक सञ्जालमार्फत दिएका छन् । सामाजिक सञ्जालमा प्रस्तावित प्रतिष्ठानको स्वरूप र कार्यबारे नभई हालको नेपाल पत्रकार महासङ्घका संस्थापक को थिए भन्नेबारे बहस गरिएको छ ।
महासङ्घ विवाद
दक्ष पत्रकार र सञ्चारकर्मी उत्पादन गर्ने लक्ष्य राखी स्थापना हुने प्रतिष्ठानको नाम के राख्ने विषय महŒवपूर्ण नभए पनि वि.सं. २०१२ चैत १६ गते स्थापित नेपाल पत्रकार सङ्घका सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नै हालको नेपाल पत्रकार महासङ्घले आफ्नो संस्थापक मानेको विषय कतैबाट लुकेको छैन । यद्यपि नेपालमा सर्वप्रथम वि.स. २००८ सालमा स्थापित नेपाल पत्रकार सङ्घका सभापति भने सत्यनारायणबहादुर श्रेष्ठ थिए । त्यसो त मिडिया विकास र पत्रकारका सवालमा सबै कुराको जिम्मेवारी हालको पत्रकार महासङ्घले नै लिन खोज्नु विषयगत र विवधतायुक्त नेपालको पहिचान आत्मसात् गर्न नसक्नु नै हो । पत्रकारको पेसागत हकहित, श्र्रमजीवी पत्रकार ऐनको कार्यान्वयन (नियमित र तोकिएको तलबसमेत पाउने) र प्रेस स्वतन्त्रताको संरक्षणजस्ता विषयमा आफ्ना कामकारबाहीको कार्यान्वयन गर्न खोजे महासङ्घ कम विवादमा आउने कुरामा शङ्का छैन ।
पत्रकारितालाई पेसा मानिसकिएको परिप्रेक्ष्य, मिडिया (आमसञ्चार) लाई उद्योग भन्न थालिएको सन्दर्भ र विशिष्टकृत विषयको छनोटसमेत हुनथालेको नेपाली मिडिया बजारमा महासङ्घले आफूआबद्ध र राजनीतिक विचार बोक्ने पत्रकारलाई मात्र पत्रकार ठान्ने भ्रमबाट मुक्ति पाउनु जरूरी छ । सहजीकरण र संयोजन गरेमात्रै पुग्ने विषयमा पनि हस्तक्षेपकारी भूमिकाको खोजी गरिनु महासङ्घ स्वयंका लागि पनि आत्मघाती निर्णय हो । प्रस्तावित प्रतिष्ठानको स्थापना प्रक्रियामा महासङ्घले आफूलाई केन्द«मा राखी काम गर्न खोज्नुले यसप्रतिको विश्वसनीयता घटाएको छ । फेडरेसनकै स्वरूपमा स्थापित आदिवासी जनजाति पत्रकार महासङ्घ वा भर्खरै गठित मधेसी पत्रकार महासङ्घले प्रस्तावित प्रतिष्ठानमा सोही भूमिकाको खोजी गर्न किन नपाउने भन्ने प्रश्न नउठला भन्न सकिँदैन । आफ्ना विषयगत आयाममा सिमित रही मिडिया विकासका प्राज्ञिक विषयमा सहजीकरण मात्रै गरे महासङ्घको स्विकार्यता बढ्ने कुरामा द्विविधा छैन ।
प्राज्ञिक अभ्यास
छिमेकी राष्ट्र भारतमा इण्डियन इन्स्टिच्युट फर मास कम्युनिकेसनकोे स्थापना सन् १९६५ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) आबद्ध अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित आमसञ्चार विज्ञहरूको सिफारिसमा भएको हो । उक्त इन्स्टिच्युटमा स्थापनाकालदेखि नै प्राज्ञ, पत्रकारिताका प्राध्यापक र विज्ञहरूको संलग्नता रहँदै आएको छ । थुप्रै नेपाली पत्रकारले समेत त्यहाँबाट तालिम प्राप्त गरेका छन् ।
विश्वका थुप्रै मुलुकमा विश्वविद्यालयस्तरमा हुने पत्रकारिता र आमसञ्चारको अध्ययन अध्यापनका साथै सरकारी संरक्षण र लगानीमा त्यस्ता प्रतिस्ठान स्थापना गरिएका छन् । त्यसरी स्थापित प्रतिस्ठान वा तालिम केन्द«ले वर्षौं लगाएर त्यस्ता संस्थाको स्थापनापूर्व आवश्यकता र सम्भावनाका बारे अध्ययन गर्ने गरेका छन् । पत्रकारिताको प्राज्ञिक अभ्यासमा संलग्न व्यक्तिलाई नै प्रतिष्ठान वा तालिम केन्द«को स्वरूप, सञ्चालन विधि, पाठ्यक्रम निर्माण, मिडिया उद्योगको आवश्यकतालगायतका विषयको छनोट गर्ने र सोही अनुरूप रूपरेखा कोर्ने जिम्मेवारी दिइएको हुन्छ ।
नेपालमा पत्रकारिता विषयको प्राज्ञिक अभ्यास गर्न थालिएको पनि चार दशक भइसकेको छ । त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०३३ मा प्रविणता प्रमाणतहबाट सुरु गरिएको पत्रकारिता विषयको अध्ययन अध्यापन अहिले विशिष्टकृत रूपमा त्रिभुवन, काठमाडौँ, पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र शोधतहसम्म पुगेको छ भने यी चारवटै र पोखरा विश्वविद्यालयसमेतले ‘इलेक्टिभ’ विषयका रूपमा आमसञ्चार, मिडिया रिलेसन्स, विजनस सञ्चारलगायतका शीर्षकमा अध्यापन थालेका छन् । पत्रकारिता विषयमा तालिम प्रदान गर्दै आएको अग्रणी संस्था नेपाल प्रेस इन्स्टिच्युटले तालिम प्रदान गर्न थालेको समेत तीन दशक नाघिसकेको छ । नेपाली मिडियामा कार्यरत धेरैजसो पत्रकारले यही संस्थाबाट पत्रकारिताबारे सीप हासिल गरेका छन् । यसबाहेक प्रसारणमाध्यममा कार्यक्रम उत्पादन, उद्घोषण र पत्रकारिताको अभ्यास गर्न चाहनेका लागि तालिम दिने तालिम केन्द« विगत दुई दशकमा कति खुले, कति बन्द भए र कस्तो तालिम दिए कुनै लेखाजोखा छैन ।
विश्वविद्यालय तहको अध्ययन अध्यापन र तालिम केन्द«को अभ्यास र अनुभवबाट पाठ सिकी प्रतिष्ठानले यस विषयको पृथक पाठ्यक्रम तयार गरी नवीन नेपालको सटिक विश्लेषण गर्नसक्ने र आफ्नो राजनीतिक विचारलाई मताधिकारमा सिमित राख्ने दक्ष पत्रकार उत्पादन गर्नसके प्रस्तावित प्रतिष्ठानको लक्ष्य पूरा हुनेछ ।
तालिम, प्रशिक्षण र शोध
केही समयअघि युरोपियन युनियनको सहयोगमा सञ्चालित सूचनाको हकसम्बन्धी एक परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय प्रशिक्षकले प्रशिक्षण दिने खोज पत्रकारितासम्बन्धी एक हप्ते प्रशिक्षक–प्रशिक्षण तालिममा कसलाई सहभागी बनाउने भन्ने विषयमा सरोकारवाला अल्मलिए । भविष्यमा तालिम प्रदान गर्नसक्ने प्रशिक्षक उत्पादन गर्ने त्यो पनि एक हप्तामै सरल विषय थिएन । सरोकारवालाले राजनीतिक भागबण्डाका आधारमा केही यस्तालाई सहभागी गरायो कि तालिममा गरिएको त्यो लगानी बालुवामा पानी भयो । तालिम कसलाई दिने, के विषयमा तालिम सञ्चालन गर्ने, कति अवधिको तालिम कसलाई आवश्यक हो र त्यसबाट समग्र पत्रकारिता क्षेत्र कसरी लाभान्वित हुनसक्छ भन्ने विषयमा अध्ययन नगरी तालिम सञ्चालन गरिए परिणाम शून्य हुनसक्छ ।
प्रस्तावित प्रतिष्ठानलाई लामो र छोटो अवधिका सीपयुक्त ठोस तालिम, समकालीन नेपाली मिडियाको विकासबारे अद्यावधिक शोध र विषयगत विद्यामा प्रशिक्षणको प्रदान गर्नसक्ने विशुद्ध प्राज्ञिक अभ्यासको थलो बनाइनुपर्छ । आमसञ्चार र पत्रकारिता विषयमा देशमा दशकौँदेखि सञ्चालित विश्वविद्यालय र तालिम केन्द«भन्दा पृथक र व्यावहारिक सीपसँग सम्बन्धित विषयको पाठ्यक्रम तयार गरी राजनीतिक विषयमा नेताले गर्ने भाषणका पङ्क्तिमा सिमित नेपाली पत्रकारिताको अभ्यासलाई नयाँ स्वरूप प्रदान गर्नसके प्रतिष्ठान स्थापनाको औचित्य पुष्टि हुनेछ । समाज विकासको दिगोपनमा प्रभाव पारिरहने सामाजिक, सांस्कृतिक, आर्थिक तथा नीतिगत तŒव, सामाजिक समूह र वर्ग, शक्ति सम्बन्ध, लैङ्गिक तथा जातीय वा क्षेत्रीय सम्बन्धले सिर्जना गरेको असमान सामाजिक सम्बन्ध तथा राजनीतिक स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र निशस्त्रीकरणजस्ता विषयमा विश्लेषणात्मक र यथार्थपरक समाचार नेपाली मिडियाबाट सम्प्रेषण हुनसके नसकेको ध्यानमा राखी प्रस्तावित प्रतिष्ठानले प्रदान गर्ने सीप र तालिममा यी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।
साथै, जनमुखी विकास, सशक्तिकरण, परिचालन, सहभागितामूलक योजना र मूल्याङ्कन, नगद वा जिन्सी योगदानमा आमजनताको सक्रिय सहभागिता, स्थानीय, क्षेत्रीय र राष्ट्रिय तहमा व्यवस्थापन, प्रविधि चयन र जवाफदेहिताका लागि संस्थागत विकास र वातावरणीय संरक्षणका लागि वातावरणीय प्रभाव, प्राकृतिक स्रोत व्यवस्थापनजस्ता विषयमा कसरी निरन्तर रिर्पोटिङ गर्नेबारे पनि सिकाइनु पर्दछ । राजनीतिक अस्थिरता, द्वन्द्व वा युद्ध, प्राकृतिक प्रकोप वा सरकारको लापरवाहीका कारण सिर्जित भोकमरीका विषय, शिक्षामा आममानिस, बालबालिकाको पहुँचका मुद्दा, मानव स्वास्थ्यसँग सम्बन्धित विषयहरू र देशको विकासका लागि आर्थिक सम्बृद्धिका लागि गरिने लगानी, राहत, अन्तर्राष्ट्रि«य सम्बन्ध वा साझेदारीजस्ता विषयमा प्रभावकारी र परिणाममुखी समाचार सम्प्रेषण गर्न सक्ने दक्ष जनशक्ति उत्पादनतिर प्रतिष्ठानको जोड हुनुपर्छ ।
पत्रकारिता र आमसञ्चार विषयमा तालिम कस्तो, कसलाई, किन, कसरी, कति र कहाँजस्ता विषयमा छलफल चलाइनुपर्ने समयमा प्रतिष्ठानको नाम के राख्ने विषयमा विवाद हुनु कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ भएको छ । प्रस्तावित प्रतिष्ठान विगतमा मिडिया विकास र पत्रकारको हितका लागि भनी स्थापित÷गठित समिति, आयोगजस्तै राजनीतिक नियुक्ति गर्ने स्थल नबनोस् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना