• ६ चैत २०८०, मङ्गलबार

आव २०७८/०७९ मा बजार अनुगमन

नब्बे प्रतिशत फर्म कारबाहीमा

blog

काठमाडौँ, साउन १२ गते ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आव २०७८/७९ मा बजार अनुगमन गरेकामध्ये ९० प्रतिशत व्यवसायी फर्म कुनै न कुनै कारबाहीमा परेका छन् । 

विभागले २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म उपत्यकामा अनुगमन गरेका तीन हजार १४७ वटा व्यवसायी फर्ममध्ये दुई हजार ८३५ फर्म कारबाही वा जरिवानामा परेका हुन् । 

यस अवधिमा विभागले अनुगमन गरेकामध्ये एक हजार ३३१ वटालाई न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिवाना गरेको छ भने एक हजार ७३ वटामा म्याद नाघेका सामान नष्ट गर्ने र कागजात पेस गर्न निर्देशन दिएको छ । 

यस अवधिमा अनुगमन गरिएका व्यवसायी फर्ममध्ये १३ वटाको सिलबन्दी गरिएको छ भने ६८५ वटा व्यवसायी फर्मलाई स्पष्टीकरण तथा बयानका लागि बोलाइएको विभागले जनाएको छ । 

विभागका अनुसार सो अवधिमा छवटा व्यवसायी फर्मविरुद्ध मुद्दा प्रक्रिया सुरु गरिएको छ ।

सोही अवधिमा विभागले तीन हजार १४७ फर्मको अनुगमन गर्दा ३१२ फर्म मात्र सामान्य अवस्थामा रहेको, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमुना सङ्कलन गरिएको थियो भने तीन जनालाई प्रक्राउ गरिएको थियो । 

खाद्य किनारा पसल बढी कारबाहीमा 

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा सबैभन्दा धेरै कारबाही खाद्यान्न तथा किराना पसल परेका छन् । एक वर्षको अवधिमा ८३८ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा ४२९ फर्मलाई जरिवाना गरेको विभागले जनाएको छ । 

सो अवधिमा विभागले ११९ फार्मेसी (औषधि पसल)को अनुगमन गरेकामा ३९ कारबाहीमा परे भने २३३ कस्मेटिक तथा कपडा पसलको अनुगमन गर्दा २५ वटा कारबाही तथा जरिवानामा परेको जनाएको छ । 

विभागका अनुसार सो अवधिमा चार स्टेसनरी, तीन सर्जिकल हाउस, २९ वटा अण्डा तथा मासु पसल, पाँचवटा बिगमार्ट, छवटा फ्युल तथा कोइला पसल, १७ वटा ग्यास, नौवटा चस्मा पसल, ११ वटा डिर्पाटमेन्ट स्टोर, १४ वटा पानी उद्योग, मदिरा तथा पेय पदार्थ १७ वटा, फलफूल तथा तरकारी पसल ४३ वटा, दुग्धजन्य पदार्थ तथा बेकरी उद्योग १८ वटा र ६६० अन्य फर्मलाई कारबाही तथा जरिवाना गरिएको छ । उहाँका अनुसार विभागले नियमित रूपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, तरकारी तथा फलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलेक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ ।

५५ लाखको सामान नष्ट

गत आर्थिक वर्ष विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार ३३१ व्यवसायी फर्मलाई जरिवाना गरेर झन्डै दुई करोड रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । विभागका अनुसार आव २०७८/७९ मा ५५ लाख रुपियाँको सामान नष्ट गरेको जनाएको छ । 

विभागले सो अवधिमा अनुगमन गरेर म्याद नाघेका त्यो मूल्य बराबरका सामान नष्ट गरेको हो । म्याद नाघेका, गुणस्तरहीन सामान नष्ट गरिनुका साथै ती उत्पादक तथा व्यवसायी फर्मलाई कारबाही गरिएको विभागका निर्देशक हरि पङ्गेनीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अनुगमनका क्रममा कतिपय व्यावसायिक फर्मले साइन बोर्ड नराख्ने, व्यवसाय दर्ता प्रमाणपत्र नराख्ने, नापतौल प्रमाणपत्र नलिने, नापतौल उपकरण नराख्ने, खाद्य अनुज्ञापत्र नलिने गरेको पनि भेटिएको छ । विभागले योबाहेक व्यवसायी फर्मलाई सरसफाइ सुधार गर्न, भ्याट वा प्यान प्रमाणपत्र लिन निर्देशन दिने, स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिँदै आएको छ । 

विभागले दैनिक उपयोग्य वस्तुअन्तर्गत औषधि, मासु, तेल, खाद्यान्न, पेट्रोलियम पदार्थ, तरकारी, फलफूललगायतमा अनुगमन गर्दै आएको छ । 

ती वस्तुको अनुगमनका क्रममा चर्को मूल्य लिने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गरेका, व्यवसाय दर्ता नगरेका र बिलबिजकबिना कारोबार गर्ने गरेको भेटिएको विभागले 

जनाएको छ । खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिएर कालोबजारी गर्ने, मूल्य वृद्धिजस्ता अवाञ्छित गतिविधि गर्ने व्यवसायीलाई विभाग, जिल्ला प्रशासन कार्यालयलगायत निकायले संयुक्त बजार अनुमगन गरेर कारबाही वा जरिवाना हुँदै आएको छ ।