के बल हुनेले मात्रै अधिकार पाउने ?

नारद गौतम काठमाडौं, पुस ७ गते । संविधानसभाको सोमबार १२ बजेपछि सुरु भएको बैठकलाई अगाडि बढाउने क्रममा सरकारमा रहेका र विपक्षमा रहेका दलबीच द्वन्द्वको अवस्था सिर्जना भयो । सत्तारुढ दलहरु प्रश्नावली बनाउने समिति बनाउन चाहन्थे तर विपक्षीले त्यसलाई अस्वीकार गर्दै संविधानसभा बैठक अवरुद्ध मात्र गरेनन् व्यापक तोडफोडमा उत्रे । बौद्धिक बहस हुने थलोमा बलको प्रयोग भएकोमा निन्दा र भत्र्सना पनि भएको छ । के बल हुनेले मात्रै अधिकार पाउने हुन् त ? बल र पहुँच नभएका सीमान्तकृत, पिछडिएको वर्ग र समुदायले यो संविधानसभाबाट कस्तो अपेक्षा राख्ने ? यिनै विषयमा विभिन्न राजनीतिक दलका नेताहरुसँग गरिएको कुराकानी ः

mahantha thakurपरिवर्तनको आकांक्षा पूरा हुनुपर्छ
महन्थ ठाकुर, अध्यक्ष तराई–मधेस लोकतान्त्रिक पार्टी
अब पनि दलहरुबीच कुराकानी बन्द भएको छैन । मंगलबार त बन्दका कारण त्यो छलफल सम्भव भएन । अब केही न केही समाधान निकाल्नुपर्छ । संघीयताका विषयमा सत्तामा रहेका दलहरु लचक देखिएनन् । संविधानसभा आउनुअघि जति समझादारी भएका थिए त्यसको कार्यान्वयन हुनुप¥यो नत्र फेरि द्वन्द्व त रहिरहन्छ । नेपाली कांग्रेसको सरकार हुँदा भएका सहमति अहिले कांग्रेसकै नेतृत्वमा रहेको सरकारले पूरा नगर्ने हो भने कसले गर्ने ? संविधानसभामा त्यही विषयमा कुरा नमिल्दा तनाव भयो, कार्य व्यवस्था परामर्श समिति नै विभाजित बनेको थियो । हामीले दुई दिन छलफल गर्न समय माग गरेका थियौं, त्यसमा सहमति भएन, जसको परिणाम हामीले देख्नुप¥यो । संविधानसभामा जे जस्ता दृश्य देखिए, त्यो नभएको भए राम्रो हुन्थ्यो । आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको जुन आंकाक्षा छ त्यसलाई सम्बोधन गर्नुप¥यो, अब देश पुरानै ढाँचामा चल्न सक्दैन ।

Cp mainaliअराजक र घोर अमर्यादित
सी.पी. मैनाली, महासचिव, नेकपा (माले)
मध्यराति संविधानसभामा भएको तोडफोड र आक्रमणकारी कृत्यको नेकपा (माले) घोर निन्दा एवं भ्रत्र्सना गर्दछ । बाह्य तत्वको रणनीतिमा देशलाई विघटनतर्फ धकेल्न उद्यत एनेकपा (माओवादी) र त्यसकै नेतृत्वको मोर्चाले आफ्ना गलत प्रस्थापनाहरु जबरजस्ती थोपर्न पाए संविधान बनाउने अन्यथा संविधान नै बन्न नदिने गरी गरिएका हरकतहरु अलोकतान्त्रिक त हुँदै हुन् ती अराजक र घोर अमर्यादित समेत हुन् ।
उनीहरुका विकास विरोधी, राष्ट्रियता र लोकतन्त्र विरोधी प्रस्तावहरु संविधानसभामा असफल हुने आंकलन गरेर नै जसरी पनि संविधानसभाबाट लोकतान्त्रिक संविधान बन्न नदिने योजना अन्तर्गत उनीहरुले उक्त तोडफोड र आक्रमणकारी कृत्यको सहारा लिएको प्रतीत हुन्छ । अर्कातिर एनेकपा (माओवादी) का नेता बाबुराम भट्टराईको महाभारत मच्चाउने मन्तव्यपश्चात् पनि सम्भाव्य अनपेक्षित आक्रमण र झडप रोक्ने गरी संविधानसभाभित्र पर्याप्त सुरक्षा व्यवस्था नगर्नुले सभाध्यक्षको नियतमाथि समेत प्रश्न खडा भएको छ ।
यस्तो स्थितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका दलहरुले १७ कार्तिक, २०७१ मा ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’ मा प्रस्तुत गरेका र हाल संविधानसभामा रहेको ९ बुँदे त्रुटिपूर्णप्रस्तावमा जनभावना अनुकुल जल्दा बल्दा समस्याहरु समाधान गर्ने गरी परिमार्जन गर्दै निर्धारित प्रक्रिया अनुसार संविधान निर्माण प्रक्रियामार्फत अघि बढ्नु नै श्रेयष्कर हुनेतर्फ हामी सबैको पुनः ध्यानाकर्षण गर्दछौं ।

Narayanman bijukchheबुद्धि र विवेक चाहियो
नारायणमान बिजुक्छे, अध्यक्ष, नेपाल मजदुर किसान पार्टी
चार दलले मात्रै छलफल गर्ने प्रक्रिया ठीक थिएन । सबै दलका प्रस्तावमा प्राज्ञिक ढंगले एक एक गरेर छलफल गर्नुपर्ने थियो, त्यो हुन सकेन । सबै दलको प्रस्तावमा छलफल गर्न पाउनुपर्छ भनेर मैले नेताहरुसँग पनि आग्रह गरेको छु । चार दलका शीर्ष नेताहरुको बैठक युद्ध सरदारहरुको जस्तो भयो, के कुरा मिलेन भनेर बाहिर पनि भनिँदैन । कतिपय दलहरुका सांसद मन्त्रीको लोभमा यता र उता लागेका छन् । संविधानसभा अध्यक्षले पनि आफू प्राध्यापक र सांसद विद्यार्थी हुन् भन्ने जस्तो गर्नुभएन । अध्यक्ष आफ्नो मर्यादाभन्दा बाहिर जानुभयो, दलहरुलाई मिलाउन लाग्नुभयो, सभामुख कुनै पक्षतिर लागेजस्तो सभासदलाई लाग्यो होला । अध्यक्ष विवादमा फस्नु भएन । जहाँसम्म संविधानसभाको उपद्रो छ, त्यो राम्रो दृश्य होइन भन्ने सबैलाई लागेको छ । संविधानसभा बौद्धिक तर्क राखेर विवेक पु¥याएर काम गर्ने थलो हो, यो बल प्रयोग गर्ने स्थल होइन । जनताले प्रतिनिधि छान्दा अब चार जनालाई ढाल्न सक्ने, मेच फाल्न सक्ने, बलियो पाखुरा भएका छान्नुपर्ने सन्देश जानुभएन, सबै कुरा बलले हुँदैन, बुद्धि र विवेकले काम गर्नुप¥यो ।

Chitra bdr kcगणतन्त्रमाथि ग्रहण लाग्न सक्छ
चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चा
सहमतिको नाउँमा अघिल्लो चार वर्ष बित्यो र अहिले पनि एक वर्ष बित्यो । जनताले छिटो संविधान आओस् भनेका छन् । संविधानसभा जनताले निर्वाचित गरेर पठाएको थलो । यहाँ संविधानका अन्तरवस्तुमा बौद्धिक बहस हुनुपर्ने हो तर बलबाहुको प्रयोग एक्कासि गरियो, यो गलत प्रक्रिया भयो । संविधानसभामा निरंकुश शैलीको अराजकता प्रकट भयो, यसले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सल्बलाइरहेको शक्तिलाई बल पु¥यो । यस्तै रवैया रहेमा गणतन्त्रमाथि ग्रहण लाग्ने खतरा देखियो, यो गणतन्त्रविरोधी कार्य भयो । सहमतिको रटान भएको धेरै भयो, अब सहमति नभएपछि प्रक्रियामा जानुको विकल्प छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना