• १६ चैत २०८०, शुक्रबार

नारायणगढ–बुटवल खण्ड विस्तार

म्याद सकिन लाग्दा १८.४४ प्रतिशत मात्र काम

blog

काठमाडौँ, साउन १२ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्य सम्पन्न हुने समयमा जम्मा भौतिक प्रगति १८.४४ प्रतिशत मात्र काम भएको छ । आयोजना विस्तारको अन्तिम म्याद साउन २२ गतेसम्म रहेको छ ।

यसैबीच प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समिति आयोजना सम्पन्न हुने समयमा समेत भौतिक प्रगति न्यून र निराशाजनक रहेकोमा आपत्ति जनाउँदै आयोजनाको ठेक्का नै रद्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठक सो निष्कर्षमा पुगेको हो । 

४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । सम्झौता भएको दुई महिनापछि २०७५ चैत ८ गते विस्तार कार्यको शिलान्यास गरिएको थियो । 

समितिले सो आयोजनाको समग्र स्थितिबारे जानकारी लिन तथा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री, सो मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुखलाई बैठकमा बोलाएको थियो ।

समितिले सो आयोजनाबारे गम्भीरतापूर्वक छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन र आगामी दिनमा आयोजनाको लागत नबढ्ने गरी निर्धारित समयमा र गुणस्तरीय रूपमा सम्पन्न गर्न समितिले प्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

मित्र राष्ट्रहरूको निर्धारित सर्तसहितको अनुदान तथा ऋण सहयोगमा निर्माण तथा स्तरोन्नति भइरहेका विभिन्न आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकिरहेको र आर्थिक व्यभारसमेत वृद्धि भइरहेको अहिलेको अवस्थामा राष्ट्रिय हितलाई ध्यानमा राखी यस्ता सम्झौताका सर्तको तत्काल समीक्षा गर्नसमेत समितिले निर्देशन दिएको छ ।

समितिले देशका राष्ट्रियस्तरका तथा मुख्य सडकहरू नै क्षत–विक्षत हुने गरी उपयुक्त योजनाबिना पहुँच मार्गहरू निर्माण गर्ने प्रवृत्ति तत्काल निर्धारण गरी कडाइका साथ कार्यान्वयन गर्नसमेत भौतिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी समितिले निर्माणाधीन कर्णालीको कालीकोट–जुम्ला जोड्ने नाङ्मा पक्की पुल हालैको वर्षाले चर्किएको बारेमा पनि आपत्ति जनाउँदै यसमा प्राविधिक पक्ष तथा गुणस्तर सम्बन्धमा १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा पेस गर्न निर्देशन दिएको छ ।

भारतको एक्जिम बैङ्कको सहयोगमा निर्माणाधीन नुवाकोट जाने बाटो बालाजु–रानीपौवा र रानीपौवा–पीपलटार सडक खण्ड विस्तारको कार्य गर्दा साबिकमा भएको पिच तथा ड्रेनहरू भत्काई डोजर लगाएर क्षत–विक्षत बनाई अहिलेसम्म सम्पन्न नभएको विषयबारे समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

 ठेक्का तोड्ने चेतावनी

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एक पटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्द गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “नारायणघाट–बुटवल सडक खण्डको काम राम्रो नभएकाले ठेक्का रद्द गर्ने कि नगर्ने आयोजना प्रमुखले लिखित रूपमा पत्राचार गर्न‘भएको छ । मैले ठेक्का रद्द गर्ने कुरा सार्वजनिक रूपमा नै भनेको छु । समितिले ठेक्का रद्द गर्न निर्देशन दिओस् । निर्देशनपछि एक पटक निर्देशन गर्छौं भएन भने जे जति क्षति भए पनि ठेक्का तोड्छौँ ।’’