संस्थापक सभापतिबारे यथार्थ

GOPAL SHOWAKOTIप्रा.डा. गोपाल शिवाकोटी

राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम हटाइएको भन्नेसम्बन्धमा नेपाल पत्रकार सङ्घका संस्थापक सभापति को हुन् भन्ने विवाद खडा भएको छ । सरकारले यो प्रतिष्ठानसम्बन्धी विधेयकमा कृष्णप्रसाद भट्टराईको नाम हटाएको भनी नेपाल पत्रकार महासङ्घभित्रैबाट आपत्ति सुरु भएपछि नेपाल पत्रकार सङ्घका संस्थापक सदस्य को हुन् ? नेपाल पत्रकार सङ्घको आधिकारिकता कसलाई मान्ने भन्ने विषय सार्वजनिक बहसको विषय भएको छ । यसप्रति भएका भ्रम र यथार्थ के हो भन्ने कुराको खोजी गरी यो विवादलाई टुङ्गो लगाउनु अनिवार्य भएको छ ।
नेपाल पत्रकार सङ्घको ऐतिहासिक पृष्ठभूमिबारेमा प्रष्ट भएमा यी भ्रमहरू स्वतः निवारण हुनेछन् । कृष्णप्रसाद भट्टराई संस्थापक सभापति भएको हुँदा उहाँलाई सम्मान गर्न यो राष्ट्रिय आमसञ्चार प्रतिष्ठान उहाँकै नाममा राखेर सम्मानित गर्न खोजेको हो वा भट्टराई पत्रकार सङ्घको संस्थापक सदस्य भएको नाताले उहाँको नाम प्रतिष्ठानसँग जोडिएको हो भन्ने कुरा पनि प्रष्ट हुनु जरुरी छ ।
संस्थापक सभापतिलाई सम्मानित गर्नका लागि भट्टराईको नाम प्रस्तावित गरिएको हो वा भट्टराईले पत्रकार सङ्गठनको स्थापना गर्न दिएको योगदानलाई कदर गर्नको लागि उहाँको नाम राख्न खोजिएको हो ? भन्ने दुई छुट्टाछुट्टै विषय हुन् । यसअघिको सुशील कोइराला नेतृत्वको सरकारले सन्तनेता कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गठन गर्ने कामलाई अगाडि बढाएकोमा वर्तमान सरकारले भट्टराईको नाम हटाएर प्रतिष्ठान गठन कार्य अगाडि बढाएको भनी पत्रकार सङ्घका संस्थापक सभापतिभन्दा पनि राजनीतिक आस्थाबाट समर्थन र विरोध गर्ने काम भएकोले यसप्रति राजनीतिक पूर्वाग्रहसमेत देखिन पुगेको छ । नेपाली काँग्रेस समर्थकहरूले कृष्णप्रसादको नाम हटाएर उहाँको सम्मानमा चोट पु¥याएको रूपमा प्रस्तुत गरेको देखिन्छ भने अन्य पक्षले संस्थापक सभापति भट्टराई हुँदै नभएकोले उहाँको नाम हटाएकोमा समर्थन गर्ने देखिन्छ । यो विषय राजनीतिक विवादमा मुछिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार प्रतिष्ठान गठनका लागि तयारी गरेको मस्यौदामा अघिल्लो वर्षको बजेट भाषणमा उल्लेख भएको प्रतिष्ठानबाट भट्टराईको नाम हटाएर राष्ट्रिय आमसञ्चार प्रतिष्ठान राख्ने तयारी गरेको भनी विवाद अगाडि आएको हो । प्रतिष्ठान गठन आदेशको विषयमा सरोकारवालाहरूसँग छलफल हुँदा नाम परिवर्तन गर्ने प्रस्ताव आएपछि यस बारेमा सबैको चासो उत्पन्न भएको छ । पञ्चायत व्यवस्था हटेपछि पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भएपछि तत्कालीन अवस्थामा कृष्णप्रसादसमेत नेपाल पत्रकार सङ्घको सभापति बनिसकेकोले पत्रकार सङ्घले बढी फाइदा लिन उहाँको फोटो पत्रकार सङ्घमा झुण्ड्याएर संस्थापक सभापति भनेदेखि नै नेपाल पत्रकार सङ्घको संस्थापक अध्यक्ष को हो ? भन्ने बारेमा चर्चा चले पनि अहिले यो विवाद उत्कर्षमा पुगेको छ । म स्वयं पनि पत्रकार सङ्घको लामो समय सदस्य रही पत्रकारहरूको आन्दोलनमा सक्रीय रहेको हुँदा यो बारेमा प्रष्ट गर्नु आवश्यक ठानेर यसको ऐतिहासिक पृष्ठभूमिबारेमा यथार्थ पस्केको छु ।
नेपालमा राणाशासन समाप्त भएपछि विभिन्न सङ्घ संस्थाहरू गठन गर्ने कामको बाढी नै आएको थियो । नेपाल तथा नेपाल बाहिरका पत्रकारहरूलाई सङ्गठित गरी पत्रकारहरूको आवश्यक सुविधा, हकहितको संरक्षण गर्ने र बाह्य देशका पत्रकारहरूसँग समेत सम्बन्ध कायम गर्नका लागि २००८ सालमा ‘नेपाल टुडे’को सम्पादक सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्व र ‘तरङ्ग’का सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार सङ्घको गठन भएको हो । यसैले नेपाल पत्रकार सङ्घका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ भएकोले नेपाल पत्रकार सङ्घको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।
सत्यबहादुर श्रेष्ठको सभापतित्वमा गठन भएको त्यही नेपाल पत्रकार सङ्घको दोस्रोसभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाज भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार सङ्घको पुनर्गठन गरेको थियो । यो सङ्घमा ‘गोरखापत्र’का प्रेमराज शर्मा उपसभापति, सचिव भोजबहादुर सिंह न्यौपाने, उपसचिव रामहरी जोशी र कोषाध्यक्षमा रामराज शर्मा (नेपाल पुकार) लगायतका नौ जनाको कार्यसमिति गठन भएको थियो । यो कार्यसमितिले तत्काल बनेको छापाखाना प्रकाशन सम्बन्धी ऐनमा रहेका पत्रकारिता विरुद्ध प्रावधानहरूको विरोध र पत्रकारहरूको हकहितका सम्बन्धमा सरकारसमक्ष मागहरू प्रस्तुत गरेको थियो । यो पत्रकार सङ्घमा सम्पादक तथा पत्रिकाका लेखकहरू तथा विदेशबाट नेपालमा आएर पत्रकारिता गरिरहेका व्यक्तिसमेत सदस्य हुने प्रावधान राखिएको थियो र सदस्य हुनका लागि दुईजना सदस्यको सिफारिश तथा सङ्घले तोकेको शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।
यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार सङ्घको गठन भएको थियो । उदयराज शास्त्रीको सक्रियतामा २०१२ सालको पुस १९ मा पत्रकारहरूको बैठक बोलाएर सङ्घको गठन गर्ने प्रयास गरिएको थियो तर आवश्यक सङ्ख्यामा पत्रकारहरूको उपस्थिति नभएकोले २०१२ सालको चैत १६ गते अर्को बैठक बोलाएर ‘नेपाल पुकार’का सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराईको सभापतित्वमा नेपाल पत्रकार सङ्घको गठन गरिएको हो । यो सङ्घमा उपसभापति नेपाल भाषाका सम्पादक फत्तेबहादुर सिंह, मन्त्री तथा ‘समाज’का सम्पादक मणिराज उपाध्याय, सहायक मन्त्री तथा ‘नेपाल टाइम्स’का सम्पादक श्री रामसिंह, ‘नेपाल समाचार’का सम्पादक उदयराज शास्त्री कोषाध्यक्ष रहेको नौ जनाको कार्यसमिति गठन भयो । यसका मन्त्री मणिराज उपाध्याय अहिले पनि जीवित र क्रियाशील हुनुहुन्छ तर यो कार्यसमितिले डेढ वर्षसम्म पनि राम्ररी काम गर्न सकेको थिएन । सोभियत सङ्घबाट निम्ता आएको र भरत समशेरले सो निम्तामा जानका लागि षड्यन्त्र गरेपछि यो सङ्घ विभाजन भएर एक किसिमले निष्क्रिय हुनपुगेको थियो । त्यसैले नेपाल पत्रकार सङ्घका पहिलो संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ । त्यसको चार वर्षपछि मात्र कृष्णप्रसाद भट्टराई सभापति भएकोले भट्टराई पत्रकार सङ्घको संस्थापक सभापति मान्नसक्ने स्थिति देखिँदैन । तथापि अहिलेको पत्रकार सङ्घले चैत १६ गतेलाई नै स्थापना दिवस मानेको र कृष्णप्रसाद भट्टराईको संस्थापकको रूपमा फोटो झुण्ड्याएको हुँदा भट्टराई नै संस्थापक भन्ने भ्रम परेको हुनसक्छ ।
यो सङ्घको २०१३ को चैत १५ गते बसेको बैठकमा ‘राष्ट्रवाण’ का तर्फबाट भरत शमशेरले मन्त्री रामसिंह विदेशी भएकोले मन्त्री पदमा राख्न हुँदैन भनी आपत्ति गरेपछि सङ्घ विभाजित भएको थियो । भरत समशेर रामसिंहलाई हटाएर आफू सोभियत सङ्घमा पत्रकार प्रतिनिधिका रूपमा जान खोजेकोले नै विवाद भएको थियो । यसबाट पत्रकार सङ्घ दुई गुटमा विभाजन भई एउटा गुटका सभापतिमा ‘द कमनर’का सम्पादक गोपालदास श्रेष्ठ र अर्को गुट भट्टराईको सभापतित्वमा रहेको थियो । त्यसपछि यो सङ्घले खासै काम गर्न सकेन ।
पञ्चायत व्यवस्था सुरु भएपछि यसअघि विभाजित भएका दुवै पत्रकार सङ्घहरू एक ठाउँमा आउने निर्णय गरेका थिए । २०२३ को असार २७ गते पत्रकारहरूको पारस होटेलमा दाताराम शर्माको नेतृत्वमा बैठक बसी नयाँ पत्रकार सङ्घको गठन भएको थियो । यो पत्रकार सङ्घलाई राष्ट्रिय निर्देशन ऐन अन्तर्गत दर्ता गरिएको थियो । यो पत्रकार सङ्घले राजालाई अभिनन्दनसमेत चढाएको थियो । यसपछि ०२७ सालमा पत्रकारहरूको सम्मेलन दुई ठाउँमा भएर विभाजित भएको थियो । पछि पत्रकार सङ्घमा गैर पत्रकारहरूलाई प्रवेश गराएर पत्रकार सङ्घ कब्जा गर्ने कार्यहरू भएपछि नेपाल पत्रकार सङ्घ पत्रकारहरूको भन्दा पनि गैर पत्रकारहरूको व्यक्तिगत स्वार्थ पूरा गर्ने साधनमात्र बन्यो । ०३६ सालमा यही पत्रकार सङ्घको सभापतिलाई शाही आयोगमा समेत राखिएको थियो । यसैले गर्दा २०३९ पछि पुराना पत्रकारहरू निष्क्रिय भएका थिए । उनीहरूलाई श्रमजीवी पत्रकार सङ्घले पुनः सक्रिय बनाएपछि चौधजना सम्पादकले दस्तखत गरी पत्रकारको नयाँ सङ्गठनको प्रारम्भ गरेका थिए । त्यसैले अहिलेको पत्रकार महासङ्घ यही १४ सम्पादकको संयुक्त विज्ञप्तिपछि खडा भएको हो । नेपाल पत्रकार सङ्घ अहिले पनि व्यक्तिगत स्वामित्वमा क्रियाशील र वैधानिकरूपमा जीवित छ ।
पञ्चायतको पतन भएपछि पत्रकार सङ्घमा गैर पत्रकारहरूको हस्तक्षेपबाट मुक्त गर्नका लागि यसलाई महासङ्घीय ढाँचा प्रदान गरिएको थियो । यही ढाँचा अन्तर्गत नै अहिलेको पत्रकार महासङ्घ क्रियाशील रहेको छ । यसैले पत्रकारहरूको संस्थापक कसलाई मान्ने भन्ने बारेमा खासै महŒव नदिएर कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापतिको रूपमा लिने र चैत १६ लाई स्थापना दिवस भनी हचुवाको तालमा मात्र केही व्यक्तिले स्वार्थसिद्धिका लागि गरिएको प्रपञ्च मात्र हो ।
वास्तवमा नेपाल पत्रकार सङ्घको स्थापना विभिन्न समयमा भएको पाइन्छ । पहिलो संस्थापक सभापति सत्यनारायण श्रेष्ठ र दोस्रो सभापति कृष्णप्रसाद भट्टराई हुनुहुन्छ । पञ्चायत सुरु भएपछि राष्ट्रिय निर्देशन ऐन अन्तर्गत दर्ता भएको पत्रकार सङ्घका सभापति मणिराज उपाध्याय हुनुहुन्छ । उहाँले पछिल्लो अवस्थामा पत्रकार सङ्घलाई विभाजित गरी नयाँ आन्दोलनको रूपमा मलगायत चौधजना सम्पादकहरूले विज्ञप्ति जारी गरी सुरु गरेको अभियानबाटै पत्रकार महासङ्घको निर्माण भएको हो । यसैले अहिले फेरि राजनीतिक लाभका लागि विवाद नै नरहेको विषयमा संस्थापक भट्टराईको नाम हटाइयो भनी यसको विरोध गर्नु र उहाँको अपमान भयो भन्ने कुराको कुनै तुक देखिँदैन तर भट्टराई कुनै समयमा पत्रकार भएको र उहाँ प्रधामन्त्रीसमेत भएकोलाई सम्मानित गर्नको लागि हो भने भट्टराईलाई संस्थापक विवादभन्दा पनि माथि उठेर कृष्णप्रसाद भट्टराई प्रतिष्ठान बनाएमा अनावश्यक विवादबाट भट्टराईको व्यक्तित्वलाई समेत अलग गर्न सकिने हुँदा यसतर्फ ध्यान दिन सकिन्छ तर अहिलेको विवाद संस्थापकको हैसियतमा भने कृष्णप्रसाद भट्टराईलाई राख्नु कुनै पनि दृष्टिले उपयुक्त र तर्कसङ्गत हुँदैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना