पृथ्वीको मिर्गौला

ramchandra adhikariरामचन्द्र अधिकारी

सिमसारको जानपहिचान हालसम्म पूर्णरूपमा हुन सकेको छैन तर पहिचान नभइकन धेरै सिमसार मासिएर गएका छन् । एक ऐतिहासिक आँकडाअनुसार सन् १९०० सम्ममा पत्ता लागेकामध्ये ६४ प्रतिशत सिमसार हराइसकेका थिए । अहिलेको सन्दर्भमा पनि सिमसारको ह्रास हुने क्रम घटेको छैन बरु बढेकै छ । सन् १९७० देखि २०१० मा आइपुग्दा करिब ७६ प्रतिशत हल्का लवणयुक्त पानी (समुद्रबाहेकको) मा बस्ने जलचरको ह्रास भएको तथ्याङ्क वन्यजन्तु कोषले तयार गरेको छ । बढ्दो सहरीकरण, अव्यवस्थित बसोबास, जङ्गल फँडानी, जमीनको चाक्लीकरण, बाढी पहिरो, भूकम्प आदि कारणले छिपछिपे पानी रहने क्षेत्र मासिएर गइरहेका छन् । जलवायु परिवर्तनका कारण हुने अपर्याप्त वर्षा, खण्डवृष्टि, लामो खडेरी, अतिवर्षाजस्ता अनियमित जलीय चक्रका कारण पनि सिमसार सङ्कटमा पर्दै आएको छ ।
यस्ता समस्याको पहिचान आधा शताब्दीअघि नै भएको हो । यसलाई नियन्त्रित गर्दै सिमसारलाई जोगाउने सानातिना प्रयास पहिला पनि नभएका होइनन् तर सन् १९७१ मा इरानको रामसार भन्ने ठाउँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट संरक्षणको संस्थाव्यापी र विश्वव्यापी अभियानको सुरुआत भयो । रामसार सम्मेलन फेब्रुवरी २ तारेखमा भएको थियो । तसर्थ यही मितिमा हरेक साल विश्व सिमसार दिवस मनाइन्छ ।
यस वर्षको सिमसार दिवसको नारा हाम्रो भविष्यको लागि सिमसारः दिगो जीविकोपार्जनको आधार भन्ने आशयको तय भएको छ । सिमसार विगतका धराबासीको पनि जीवनको आधार थियो अहिले पनि उस्तै महìवको छ र अब झन् यो महìवपूर्ण ठानिएको छ । त्यसैले हाम्रो भविष्य र भावी सन्ततिको जीवनको सार्थकताका लागि उनीहरूका जीवनको दिगोपनाको लागि सिमसार जरुरी छ भन्ने आजका प्रकृतिविद्को ठहर हो । आजको परिस्थितिमा करिब एक अर्ब मानिसको जीविकोपार्जनको आधार सिमसार हो । उनीहरू माछा मार्ने, जलविहार गराउने, पर्यटक घुमाउने, सिमका विभिन्न जन्तु र वनस्पति झिक्ने, सिममा पलाउने झारहरूका सामग्री बनाउनेजस्ता कार्यहरूबाट यतिका मानिसको जीवन चलेको छ । नेपालका पनि करिब २१ वटा जनजातिको जीविकोपार्जन सिमसारमा आधारित छ ।
संसारका सबै भागमा सिमसार छरिएका छन् । यिनीहरू सानामा साना एक हेक्टरदेखि लिएर लाखौँ (६० लाख) हेक्टरसम्म फैलिएका छन् । ब्राजिल, बोलिभियाजस्ता देशमा निकै ठूला सिमसार पाइन्छन् । नेपालमा तराई क्षेत्रमा कम्तीमा २०० वटा सिमसार पहिचान गरिएका छन् तर यो सङ्ख्या यतिमै सीमित अवश्य छैन । अध्ययन र अनुसन्धान हुन बाँकी छ ।
२१ आँै शताब्दी पानीको लागि लडाइँको शताब्दी हो भनी व्याख्या गरिँदै आइएको छ । पानीलाई शुद्ध पार्ने मुख्य भूमिका सिमसारको छ । यसर्थ भावी जीवनको लागि प्राणजल सञ्चय गरिदिने सिमसार नै हुन् । यसले आकाशको र जमीनको पानीलाई विस्तारै सोसाएर भूमिगत पानीमा रूपान्तरण गरिदिन्छ । एशियाका करिब दुई अर्ब र युरोपका ३८ करोड मानिसको पिउने पानीको स्रोत भूमिगत पानी नै हो । सतहको पानीमा भएका हानिकारक धातु र अन्य विषादीयुक्त पदार्थहरूलाई यसले छानेर भूमिगत पानीलाई शुद्ध पार्ने हो । त्यसैले सिमसारलाई पृथ्वीको मिर्गौला पनि भनिन्छ ।
बर्सेनि वायुप्रदूषणको अवस्था कहालीलाग्दो बन्दैआएको छ । हावामा हानिकारक कार्बनमोनोअक्साइड र कार्बनडाइअक्साइडजस्ता ग्यासको मात्रा बढ्दै र प्राण वायु अक्सिजनको मात्रा घट्दै गरेको स्थिति छ । यी दुईलगायत अन्य कार्बनयुक्त ग्यासहरूलाई सिमसारले सोसिदिएर हावालाई शुद्ध राख्ने प्रयास गरिरहेको छ । सिमसारले हावामा रहेको कार्बनलाई सोसिदिने भएकोले ‘कार्वन सिन्क’ पनि भन्ने गरिएको छ । यदि सिमसारको कार्बन सोच्ने भूमिका हुन्नथ्यो भने भोलिको पुस्तालाई स्वच्छ जीवनको प्रश्न खडा हुन कति बेर लाग्नेवाला छैन ।
जैविक विविधताको हिसाबले सिमसारलाई विशालबजार भन्ने गरिन्छ । यसको अर्थ यस्ता सिमक्षेत्रमा अनेक प्रकारका वनस्पति र जनावरहरूको जीवन चलेको हुन्छ । संसारमा भएका करिब दस हजार चराका प्रजातिमध्ये आधाजसो सिमसारमा नै बस्छन् । धरतीमा सङ्कटमा परिसकेका जनावरहरू जस्तै हात्ती, गैँडा, अर्ना आदिको जीवन सिमसार नभए चल्न सक्दैन । सिमसार जोगाएमा यस्ता सङ्कटापन्न जनावरको पनि रक्षा हुनेछ र भावी पुस्ता यसलाई भजाएर, यसैलाई देखाएर पर्यटकीय विकास गरी गरीखान सक्छ ।
विश्व खाद्य सङ्कटमा गुज्रिरहेको यो परिवेशमा सिमसारमा नयाँ खेतीपाती लगाउन सकिने तथ्य वैज्ञानिकहरूले उठाउन थालेका छन् । सिमसारमा फस्टाउने र फल्ने अन्नअनाजको पहिचान भइरहेको छ । जलआहारका बहु गुणहरूको पहिचान भइरहेको छ । यस आधारमा भन्न सकिन्छ पछिका मानिसहरूलाई सिमसार जीवन समृद्धिको आधार बन्नसक्छ । पशुपालन व्यवसायको सोझो सम्बन्ध सिमसँग छ । पशुलाई चाहिने आहार, जलविहार, शितलता, सोत्तर आदि पाइने सिममा नै हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना