तस्करी रोक्न त्रिदेशीय नाका टिंकरमा सरकारी सक्रियता


काठमाडौं, माघ ६ गते । वन्यजन्तुको अवैध चोरी तस्करी हुने ठाउँका रुपमा परिचित नेपाल, भारत र तिब्बतबीचको त्रिदेशीय नाका टिंकर क्षेत्रमा सरकारले प्रभावकारी रुपमा काम गर्न थालेको छ । सरकारी काम प्रभावकारी भएपछि यो नाकाबाट हुने गरेको वन्यजन्तुको तस्करी लगायतका अवैध धन्दाहरु नियन्त्रणमा आएको दावी सरकारी अधिकारीले गरेका छन् ।
कैलाश मानासरोवर क्षेत्रसँग जोडिएको सुदूरपश्चिमको हिमाली दार्चुला जिल्लाको उत्तरी नाका टिंकर क्षेत्रलाई समेटेर सरकारले अपी नाम्पा संरक्षण क्षेत्र घोषणा गरी चोरी तस्करी नियन्त्रण तथा वन्यजन्तु, जैविक विविधताको संरक्षणमा स्थानीय बासिन्दालाई प्रत्यक्ष रुपमा सहभागी गराउन थालेपछि अवैध क्रियाकलापहरु नियन्त्रणमा आउन सकेको बताइएको छ ।
अपी नाम्पा संरक्षण कार्यालय दार्चुलाका प्रमुख अशोक रामका अनुसार भौगोलिक हिसाबले निकै दुर्गम तथा कष्टकर मानिएको यो क्षेत्रमा पछिल्लो चरणमा सरकारी निकायले प्रभावकारी उपस्थिति देखाउनु,  चोरी तस्करी नियन्त्रण गर्न र संरक्षण अभियानमा स्थानीय बासिन्दामा जागरुक आएकाले यो क्षेत्रमा तीन देशीय रुपमा हुने गरेको वन्यजन्तु लगायतका अन्य अवैध सामानको ओसारपसार नियन्त्रणमा आउन सकेको हो । भौगोलिक बिकटताका कारण यो क्षेत्रमा सरकारी निकायको उपस्थिति प्राय शून्य झै हुने गरेकोले विगतमा तस्करहरुले यही नाकालाई प्रयोग गर्दै आएका थिए ।
भारत तथा नेपालका गरिएको चोरी शिकारलाई तिब्बतको बजारसम्म पुर्याउन विशेष गरेर यो नाका प्रयोगमा आउने गरेको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । संरक्षण कार्यालयय स्थापना भएपछि चोरी तस्करी हुने सम्भावित हुने स्थानमा निरन्तर अनुगमन गर्ने गरेको र  स्थानीय सुराकीको आधारमा बिभिन्न पटक गरिएको सर्च अभियानले अवैध रुपमा चोरी तस्करीका कार्यहरु नियन्त्रणमा आएको दावी प्रमुख अशोक रामले गर्नुभयो ।
विभागका अनुसार हाल संरक्षण क्षेत्र कार्यालयले अपी नाम्पा क्षेत्रमा विद्यमान जैविक विविधता, जडिबुटी र संसारमै लोपोन्मुख मानिएको वन्यजन्तुको संरक्षण गर्न बिभिन्न आठ वटा स्थानमा चेक पोष्ट खडा गरेर निरन्तर गस्ती गर्दै सुराकीको प्रयोग गर्दै आएको छ । विशेष गरी हिउँ चितुवा, हिमाली कालो भालू, कस्तुरी, मृग, नाउर, थार, चितुवा लगायतका अति दुर्लभ तथा महत्वपूर्ण वन्यजुन्तु पाइने यो क्षेत्रमा चोरी शिकार तथा तस्करी नियन्त्रण गर्न संरक्षण कार्यालयले स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा संरक्षण व्यवस्थापनका कार्य गर्ने र जीविकोपार्जनका बिभिन्न क्रियाकलापहरु पनि सञ्चालन गर्दै आएको छ ।
स्थानीय तहमा पर्यटन पूर्वाधारको निर्माण तथा विकास, साना सिंचाइ तथा खानेपानीका आयोजना, लघु उद्यम, लघु जलविद्युत्, जडिबुटी व्यवसायको विकास र प्रोत्साहन लगायतका क्रियाकलापहरु सरकारले गर्न थालेपछि स्थानीय बासिन्दामा विद्यमान प्राकृतिक सम्पदाको संरक्षण र चोरी तस्करी नियन्त्रणमा निकै उत्साह जागेको प्रमुख अशोक रामले बताउनुभयो ।
राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार भारतबाट नेपालको टिंकर नाका भएर तिब्बत क्षेत्रमा विशेष गरी बाघको छाला, हड्डी,चितुवा, सालकको कत्ला, हात्तीको दाँत, गैंडाको खाग लगायतका बहुमूल्य वन्यजन्तु र यार्सागुम्वा लगायतका बहुमूल्य जडिबुटीको तस्करी हुँदै आउने गरेको थियो । विभागको उपस्थितिसँगै स्थानीय प्रशासन र व्यक्तिहरुको सहयोगले हाल यो नाकाबाट यस्ता गतिविधिहरु  हदैसम्म नियन्त्रणमा आएको विभागका महानिर्देशक टिकाराम अधिकारीले बताउनुभयो । यो क्षेत्रमा साना ठूला गरी १२ वटा हिमाल, १७ वटा पाटन रहेको छन् । यो क्षेत्रको बाटो भएर कैलाश मानासरोवर पुग्न तीन दिनमात्र लाग्ने गर्छ । अपी नाम्पा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न समेत स्थानीय निकायसँग मिलेर काम गरिरहेको संरक्षण कार्यालय जनाएको छ । हरेक वर्ष अपी नाम्पा क्षेत्रबाट मात्रै कम्तिमा एक हजार किलो यार्सागुम्बा संकलन हुने गरेको सरकारी तथ्यांक रहेको छ । सरकारी अनुमति लिएर भन्दा बढी मात्रामा यार्सागुम्बाको व्यापार हुने गरेको बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना