• ६ चैत २०८०, मङ्गलबार

थामी समुदायका विद्यार्थी मावि पुग्नै मुस्किल

blog

दोलखा समाचारदाता

चरीकोट, साउन १० गते । दोलखाको कालिञ्चोक गाउँपालिका–१, उत्तरीगाउँका सीमान्तकृत थामी समुदायका बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । थामी समुदायको बाहुल्य रहेको क्याम्पल, बेगुम्पा, तारेभिरका बालबालिका आधारभूत तहसम्म मुस्किलले रहे पनि कम मात्रै माध्यमिक तहमा पुग्ने गरेका अभिभावक बुधवीर थामीले बताउनुभयो । 

उहाँका अनुसार मुस्किलले कक्षा ९ सम्म पुगे पनि पढ्न छाडिहाल्छन् । जतिभन्दा पनि नमान्ने, पढ्न छाडेर गाउँमै हल्लिएर बस्ने गरेका र कोही भने भारततिर जाने गरेका छन् । माथिल्लो कक्षा पास गर्ने भनेको चार/पाँच प्रतिशत मात्र हुन्छन् । 

विद्यालय नभएर होइन, गाउँमा दिव्यश्वरी आधारभूत विद्यालय, सूर्योदय र सेतीदेवी प्रावि र बालोदय माध्यमिक विद्यालय छन् । यी विद्यालयको अभिलेख हेर्दा शिशु कक्षाका १४८ विद्यार्थीमा कक्षा १ मा पुग्दा ११५ हुन्छन् । आधारभूतसम्म विद्यार्थी रहे पनि घट्दै गएर कक्षा १० मा पुग्दा २६ जना मात्र रहेको देखिन्छ । 

वडाध्यक्ष पदम थामीले भन्नुभयो, “परिवार नियोजनसम्बन्धी सचेतना नहुँदा एउटा घरमा कम्तीमा छ/सात जना बच्चा जन्मेकै हुन्छन् । यिनीहरूको पालनपोषणका लागि बाबु भारतको दार्जिलिङ, सिक्किम जाने र आमा गाउँघरमा रोजगारी गर्न बाध्य बनेका छन् । आर्थिक अभावले अभिभावकले पनि विद्यालय पठाउनुको सट्टा काममा पठाउने गरेका छन् । बीचमै विद्यालय छाडेका अधिकांश काम गर्नसक्ने बालबालिका रोजगारीका लागि दार्जिलिङ र सिक्किम पुग्ने गरेका छन् । अहिले गाउँमा महिला, साना बालबालिका र वृद्धवृद्धा मात्र छन् ।