अलपत्र परेका योजनाको निगरानी शुरु


नेपालगन्ज, माघ ५ गते । नेपालगन्ज उपमहानगर पालिका भित्र बजेट आएपनि गति लिन नसकेका निर्माण योजनाहरु प्रति निगरानी सुरु गरिएको छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद भुषालले आफु सरुवा भएर आएको एक साताभित्रै ति योजनाहरु प्रति चासो राख्दै निगरानी सुरु गरेको जनाउनु भएको छ ।
त्यसक्रममा नेपालगन्जमा उच्च प्राथमिकतामा रहेका तीन योजनाको स्थलगत निरीक्षण गरिएको कार्यकारी अधिकृत भुषालले जानकारी दिनुभयो । उहाले लामो समयदेखि पेण्डिङमा रहेका प्रोजेक्टहरुको काम अगाडी नबढ्नुको कारण बारे निगरानी शुरु गरिएको बताउनु भयो ।
इन्जिनियर श्यामकाजी पिया, सुरज गुप्ता, लेखा अधिकृत राजन केसी सहितको टोली लिएर कार्यकारी अधिकृत भुषालले उपमहानगरका गतिहिन योजनाहरुको स्थलगत अनुगमन तथा छलफल गर्नु भएको छ ।
चार बर्षदेखि अलपत्र परेको नेपालगन्ज–१ धम्बोझी स्थित सहरी स्वास्थ्य क्लिनिक, महेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन, उपमहानगरको आफ्नै निर्माणाधिन भवनहरु बारे कार्यकारी अधिकृत भुषालले सम्बन्धित पक्षसंग छलफल गरेको बताउनु भएको छ ।
पुरानै सर्त र सुविधामा ठेकेदार नरसिंह धामीले निर्माण कार्य अगाडी बढाउने प्रतिबद्धता जनाएको बताउदै उपहानगरपालिकाका लेखा अधिकृत केसीले ३४ लाख बढीको लगानीमा सहरी स्वास्थ्य क्लिनिक आर्थिक बर्ष ०६७÷०६८ देखि अलपत्र रहेको जानकारी दिनु भयोे ।
केसीले मूल्य वृद्धि थप नहुने गरी ठेकेदारले तत्कालैदेखि काम सुरु गर्न पुनः सहमति जनाएको बताउनु भयो ।
३ करोड १२ लाख बढीको लगानीमा निर्माणाधिन उपमहानगरपालिकाको भवन थपिएको म्याद समेत सकिएको छ ।
कार्यकारी अधिकृतको टोलीले ठेकेदार संग अन्तिम समय दिएर सक्ने गरी छलफल गरेको उपमहानगरपालिकाले जनाएको छ ।
क्याम्पसको डिग्री भवनका लागि राजदुतावाससंग छलफल अघि बढाएको जनाउदै उपमहानगरपालिकाका कार्यकारी अधिकृत भुषालले भारतीय सहयोगमा निर्मार्णाधिन मब क्याम्पसको डिग्री भवन छिटै सकाउने जानकारी पाएको बताउनु भयो ।
नयाँ कार्यकारी अधिकृत भुषालले उपमहानगर भित्रका अन्य योजनाहरुको पनि निरिक्षण गरी भत्किएका सडक र गल्लीका सडक निर्माण बारे सर्वसाधारणसंग छलफल गर्नु भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना