पाकिस्तानमा बिहीबार राष्ट्रिय शोकको घोषणा, आक्रमणकारीलाई कडा कारबाही गर्न प्रम शरिफको निर्देशन

चारसद्दा (पाकिस्तान), माघ  ७ गते । पाकिस्तानीमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । 

उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावरको एक विश्वविद्यालयमा बुधबारको आतङ्ककारी आक्रमणमा २१ व्यक्तिको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरिएको हो ।
विश्वविद्यालयजस्तो संस्थामा हमला गरी विद्यार्थीसहित २१ व्यक्तिको हत्या गर्ने उक्त कदमको निन्दा गर्दै पाकिस्तान सरकारले पाकिस्तानमा र पाकिस्तान बाहिर रहेका पाकिस्तानी कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने प्रधानमन्त्री नवाज सरिफको कार्यालयले जनाएको छ ।

राजधानी इस्लामाबादमा एक समारोहबीच यस आक्रमणमा ज्यान गुमाउनेको सम्झना गर्दै प्रार्थना सभाको आयोजना गरिएको छ ।

पेसावर नगरबाट ५० किलोमिटर पर रहेको चारसद्दा जिल्लाको बचाखान विश्वविद्यालयमा सो हमला भएको थियो ।

उक्त बन्दुक हमलामा दर्जनौँ विद्यार्थी घाइते भएका उक्त विश्वविद्यालयका उपकुलपति फजाल रहिम मारवातले जानकारी दिनुभएको छ ।

सो जिल्लाका प्रहरी प्रमुख सइद वाज्रीले उक्त हमलामा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार अपराह्नसम्ममा २१ पुगेको जानकारी दिनुभएको हो ।

सो आक्रमणपछि सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा चार बन्दुकधारीको मृत्यु भएको पनि बताइएको छ ।

मारिनेमा प्राध्यापक र विद्यार्थी धेरै परेका छन् । छात्रबासमा रहेका छात्रछात्रा बढी मारिएका बताइएको छ ।

 


सो हमलाका दोषीलाई कडाभन्दा कडा कारबाही गरिने प्रण प्रधानमन्त्री शरिफले गर्नुभएको छ । उहाँले यसमा सम्लग्नहरुको खोजीका लागि कडा कदम चाल्न सबै सुरक्षा निकायलाई निर्देशन पनि दिनुभएको छ ।

पेसावरमा विगतमा पनि शिक्षालय एवम् विश्वविद्यालयमा यस्तो आतङ्ककारी हमला हुने गरेको थियो ।

सन् २०१४ को डिसेम्बरमा पनि पेसावरमा रहेको एक सैनिक विद्यालयमा भएको हमलामा परी १३४ जना बालबालिकासहित कम्तीमा पनि १५० जनाको ज्यान गएको थियो ।
उक्त विद्यालयमा भएको हमलाका अधिकांश हत्यारालाई पाकिस्तान सरकारले मृत्युदण्ड दिई सकेको छ । यसअघि पाकिस्तान सरकारले त्यहाँ मृत्युदण्डको कानुन खारेज गरेकोमा सो विद्यालयमा भएको क्रुर हमलापछि मृत्युदण्डको कानुनलाई उल्ट्याइएको थियो ।
यस बचाखान विश्वविद्यालयमा भएको हमलामा सम्लग्नहरुलाई पनि कडा भन्दा कडा कारबाहीका लागि प्रधानमन्त्रीले सबै सुरक्षा निकायलाई निर्देशन दिइसक्नुभएको छ । रासस÷एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना