• ६ चैत २०८०, मङ्गलबार

प्रतिक्रियावादी शक्तिले मजदुर फुटाउने काम गरेका छन् : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिले आफ्नो पार्टीलाई कमजोर बनाउन प्रयासरत रहेको बताउनुभएको छ । शनिबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले त्यस्तो बताउनुभएको हो । 

प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उहाँले चर्चा गर्नुभयो । मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको भएपनि सफल हुन नदिइएको उहाँले बताउनुभयो । मजदुर वर्गमा मात्रै इमान्दार र प्रतिवद्धता रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले विगतमा मजदूरकै बल र शक्तिमा क्रान्ति सफल भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “मजदुर वर्गपक्षीय विचारहरुका संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्छन । हाम्रो देशमा पनि त्यही भएको छ ।” मजदुरहरुबीच फाटो ल्याएर मजदुर आन्दोलन र एकता कमजोर पार्ने काम निरन्तर हुँदैआएको उहाँले चर्चा गर्नुभयो । मजदुर फुटाउने काम शासकले गरे पनि पुनः मजदुर एकताबद्ध भएर ठूलठूला क्रान्ति सफल भएको उदाहरण प्रशस्त रहेको उहाँले चर्चा गर्नुभयो ।

अक्टोवर क्रान्ति, श्रमिक वर्गको आन्दोलन विगतमा सफल हुनुमा मजदुरबीचको एकताले सम्भव भएको बताउनुहुँदै अध्यक्ष ओलीले जहाँ सुधार भएको छ, त्यहाँ मजदुर आन्दोलन र क्रान्ति सफल भएर हो उहाँले भन्नुभयो । विश्वमा शान्ति तव कायम हुन्छ जब मजदुरमाथिको थिचोमिचो अन्त्य हुन्छ अध्यक्ष ओलीले मजदुरकै बलमा परिवर्तन सम्भव रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकताबद्ध, प्रतिबद्ध र ऐक्यबद्ध रहेको पनि बताउनुभयो । मजुदरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उहाँको भनाइ छ । समान ज्याला, श्रमशोषणको अन्त्य र असमान्ता अन्त्यका विषयमा पार्टी जहिले मजदुरको पक्षमा रहेको उहाँले चर्चा गर्नुभयो । मजदूर वर्गको काम, कार्यक्षेत्र, सामाजिक सुरक्षा, न्यायका लागि एमाले जहिले पक्षमा काम गर्दैआएको उहाँले चर्चा गर्नुभयो ।


समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई प्राप्त गर्न मजदूरको साङ्गठनिक एकता र योजनाबद्ध अग्रगामी प्रयासले सम्भव हुने अध्यक्ष ओलीले बताउनुभयो । यसअघिको सरकारले सोका लागि प्रयासरत रहे पनि सफल हुन नदिइएको टिप्पणी उहाँले गर्नुभयो । समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य सम्भ्रान्त वर्गको अभियान होइन, मजदुर र श्रमिकहरुको अभियान रहेको बताउँदै अध्यक्ष ओलीले निरपेक्ष गरीबीको रेखामुनी रहेका वर्गलाई समृद्ध नेपाल र सुखी नेपाली अभियान चाहिएको बताउनुभयो । 

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष विष्णु रिमालसहित मजदुर नेताको सहभागिता छ । आजदेखि शुरुभएको महाधिवेशन आइतबारसम्म चल्ने बताइएको छ । सो भेलामा देशभरबाट र विदेशबाट समेत मजदुर नेता तथा प्रतिनिधिहरुको सहभागिता छ ।