माघ ६ गतेभित्र सीमा अवरोध हट्ने सचेतक घर्तीको दाबी

टीकाबहादुर बस्नेत दाङ, पुस २९ गते । नेकपा एमालेका सचेतक गोकुल घर्तीले यही माघ ६ गतेभित्र सीमा अवरोध हट्ने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल दाङले बुधबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचेतक घर्तीले माघ ६ गतेभित्र संविधान संशोधन विधेयक टुंगिएसँगै सीमामा भइरहेको अवरोध पूर्णरुपमा हट्ने दाबी गर्नुभएको हो । मधेसी मोर्चाका मुद्दामा सरकार गम्भीर रहेको भन्दै घर्तीले संविधान संशोधन विधयकमार्फत् आन्दोलनरत पक्षलाई सहमतिमा ल्याई नाका खोलिने बताउनुभयो ।

भारतको आडमा मधेशमा आन्दोलन चलिरहेको भन्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्यसमेत रहनुभएका घर्तीले भारतसँग पटक–पटक भएका कुटनीतिक छलफलबाटै सीमा समस्या कम हुँदै गएको बताउनुभयो । मधेशी मोर्चाका जायज माग पुरा गर्नका लागि प्रमुख दलहरुले साझा एजेण्डा बनाएको प्रष्ट्याउँदै नेता घर्तीले आन्दोलनलाई टुंग्याउने नाममा राष्ट्र«लाई बिखण्डित बनाउने मोर्चाका मागहरु पुरा गर्न नसकिने बताउनुभयो । मधेश आन्दोलनलाई सत्तामा पुग्ने भर्याङको संज्ञा दिँदै घर्तीले संविधानको कुव्याख्या गरेर आन्दोलन लम्व्याउने काम मोर्चाबाट भइरहेको आरोप लगाउनुभयो । ‘अधिकार प्राप्तिका लागि मधेश आन्दोलन चलाइएको हो भने सबै अधिकार संविधानले ग्यारेन्टि गरिसकेको छ । त्यसैमा टेकेर अधिकार खोज्न मधेशी समुदायलाई आग्रह गर्दछु’, सचेतक घर्तीले भन्नुभयो, ‘अरु कुनै स्वार्थका लागि आन्दोलन चलाइएको हो भने आन्दोलन टुंग्याउने नाममा मोर्चाका सबै माग पुरा गर्न सकिदैन ।’ आयोग गठनको विषय ‘फेस सेभिङ’ मात्र भएको भन्दै सचेतक घर्तीले प्रदेशको संख्या तलमाथि नहुने र हालको संरचनामा उथलपुथल नहुने प्रष्ट्याउनुभयो ।

हिमाल, पहाड र तराईलाई अलग गरेर संघीयता बनाउनु नहुने भन्दै घर्तीले हालको सीमांकन अत्यन्तै बैज्ञानिक भएको दाबी गर्नुभयो । ‘हालको सीमांकन अत्यन्तै बैज्ञानिक छ । तराईलाई पहाड र हिमालसँग अलग राख्दा पटक–पटक आयात अवरोध भइरहेको समयमा मधेशलाई पहाडबाट अलग्याएर एक, दुई वा तीन प्रदेश बनाउन सकिदैन’, घर्तीले भन्नुभयो, ‘सुनसरीका केही क्षेत्रलाई क्षेत्रलाई २ नम्वर प्रदेशमा जोड्ने र थारु बहुल क्षेत्र कैलालीको केही भागलाई ५ नम्वरमा मिसाउने बाहेकका अन्य कुनै सीमांकन तलमाथि गराउन सकिदैन ।’ सरकारको कामप्रति कति सन्तुष्ट हुनुहुन्छ नि भनि सोधिएको प्रश्नको जवाफमा सचेतक घर्तीले भन्नुभयो, ‘अहिले नै सरकारको उपलब्धी खोज्ने बेला भएको छैन । असहज परिस्थितिका बीचबाट अगाडि बढेको सरकारले अत्यावस्यक सामग्रीलाई सुलभ बनाउन लागिपरेको छ । अबको केही दिनभित्रै स्थिति सामान्य बन्छ ।’ अर्को एक प्रसंगमा बोल्दै सचेतक घर्तीले भारतबाट गरिएको नाका पूर्ण रुपमा सहज नबन्दासम्म प्रधानमन्त्रीको भारत भ्रमण नहुने बताउनुभयो । ‘भारतीय प्रधानमन्त्रीबाट नरेन्द्र मोदीबाट हाम्रो प्रधानमन्त्रीज्यूलाई भ्रमणको निमन्त्रणा आएको छ । नाका सहज नहुँदासम्म प्रधानमन्त्री भारत भ्रमण जानुहुँदैन’, सचेतक घर्तीले भन्नुभयो, ‘प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाली स्वाधिनता र राष्ट्रि«य अखण्डतामाथि आँच आउने खालका कुनै पनि सम्झौता हुँदैनन् । यसमा हामी सचेत छौं ।’ जिल्ला अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता घर्तीले नेपालले अब दुई छिमेकी देशहरुलाई मिलाएर लैजाने बताउनुभयो । भारतको मात्रै भर पर्दा पटक–पटक धोका भएको भन्दै उहाँले अत्यावस्यक सामग्री आयातका लागि निकट भविष्यमै चीनसँग पनि व्यापारिक सम्झौता हुने बताउनुभयो । उत्तरतिरका कोरला, केरुड र तातोपानी नाका खुलाई आयात सहज बनाउने दिशामा सरकार लागिपरेको भन्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा व्यापारिक नेपाल र चीनको बीचमा व्यापारिक सम्झौता हुने बताउनुभयो । जिल्ला जिल्ला सदस्य किरण गौतमले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष ईन्द्र डिसीले गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना