• ६ चैत २०८०, मङ्गलबार

उद्योगमा लगानी वृद्धि

blog

काठमाडौँ, साउन ५ गते । मुलुकमा स्वदेशी तथा विदेशी लगानीमा उद्योग दर्ता सङ्ख्या बढेको छ । आव २०७८/७९ मा उद्योग दर्ता वृद्धि भएसँगै त्यसका लागि लगानी प्रस्तावमा वृद्धि भएको हो । कोभिड–१९ महामारी सामान्य भएसँगै लगानीमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता वृद्धि भएको हो । 

उद्योग विभागका अनुसार आव २०७८/७९ मा स्वदेशी र विदेशी लगानी रहने गरी साना, मझौला र ठूला गरी ३०९ उद्योग दर्ता भएका छन् । ती उद्योगका लागि तीन खर्ब ४३ अर्ब रुपियाँ लगानी प्रस्ताव भएको छ । आव २०७७/७८ मा २०३ उद्योग दर्ता भएका थिए । त्यसका लागि एक खर्ब ५६ अर्ब रुपियाँ लगानी प्रस्ताव भएको थियो । 

आव २०७८/७९ मा सबैभन्दा धेरै पर्यटन उद्योग १२५, सेवामूलक उद्योग ९९, उत्पादनमूलक ५१, पूर्वाधार आठ, सूचना प्रविधि छ र कृषि तथा वन पैदावर चार उद्योग दर्ता भएका हुन् । आव २०७८/७९ मा २८ हजार ५२७ जनाले रोजगारी पाउने प्रतिबद्धता छ । गत वर्ष १० हजार ८५५ जनाले रोजगारी पाउने प्रतिबद्धता थियो । आव २०७८/७९ मा ठूला उद्योग ९१, मझौला उद्योग १०८ र साना उद्योग ११० उद्योग दर्ता भएका थिए । यो आर्थिक वर्ष विदेशी लगानीमा २९५ परियोजना दर्ता भएका छन् ।

आव २०७७/७८ मा ठूला उद्योग ४२, मझौला ४९ र साना उद्योग ११२ उद्योग दर्ता भएका थिए । यो आर्थिक वर्ष १८४ परियोजनाले दर्ता पाएका थिए । आव २०७८/७९ मा विदेशी लगानी ५४ अर्ब १५ करोड प्रस्तावित भएको छ । 

विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारले लगानीमैत्री वातावरण र उद्योगी व्यवसायीलाई सहज हुनेगरी ऐन नियम ल्याएकाले उद्योग दर्ता वृद्धि भएको जानकारी दिनुुभयो । “विगत दुई वर्ष कोभिड–१९ का कारण उद्योग दर्ता बढेको थिएन । महामारी सामान्य भएको र प्रशासनिक काम सहजीकरण गरेसँगै उद्योग दर्ता गर्ने क्रम बढेको छ,” उहाँले भन्नुभयो । 

यो लगानी प्रतिबद्धता मात्रै भएको र प्रतिबद्धताको ५० देखि ६० प्रतिशत लगानी आउने गरेको उहाँले जानकारी दिनुभयो । लगानी वातावरणका लागि सरकारले बजेट, योजना तथा नीति कार्यक्रम निर्माणमा प्राथमिकता दिएकाले पनि उद्योगमा लगानी बढ्दै गएको उहाँको भनाइ छ । 

कोभिड–१९ का कारण विगतका दुई वर्ष उद्योगमा लगानी बढ्न सकेको थिएन । महामारी नियन्त्रणमा आएसँगै वैदेशिक रोजगारीबाट फर्केर आएका युवाको आकर्षण उद्योग व्यवसायमा बढ्दै गएकाले उद्योग खोल्नेको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ ।औद्योगिक व्यवसाय ऐन ०७६ अनुसार घरजग्गाबाहेक बढीमा २० लाख रुपियाँसम्म स्थिर पुँजी भएको लघुउद्यम, परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योगमा वर्गीकरण गरिएको छ । 

१५ करोड रुपियाँसम्मको स्थिर पुँजी भएको साना, १५ करोडदेखि ५० करोड रुपियाँसम्मको मझौला र ५० करोड रुपियाँभन्दा माथि स्थिर पुँजी भएका ठूला उद्योग हुन् । कृषि तथा वन पैदावारमा आधारित, ऊर्जामूलक, सूचना प्रविधिमा आधारित, पूर्वाधार, उत्पादनमूलक, खनिज, सेवामूलक, पर्यटन गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् ।