• १५ चैत २०८०, बिहिबार

बसरहित बसपार्क मुख्य चोकमा भीडभाड

blog

लहान, साउन ५ गते । लहानस्थित सिङग्राहीमा नवनिर्मित बसपार्क बसरहित हुन्छ । बसलगायत अन्य सवारीसाधन रोकिँदा यात्रुहरूको भीडभाडले लहानको मुख्य चोक दुर्गन्धित बनेको स्थानीयले बताएका छन् ।  मुख्य चोकमा रहेका बस काउन्टरमा बस चढ्न आउने र बसबाट ओर्लिने यात्रुलाई दिसापिसाब गर्न निकै अप्ठयारो हुने गरेको छ । होटलवाला र पसलेहरूले निजी शौचालयमा दिसापिसाब गर्न नदिएपछि यात्रुहरूले ठूलै सास्ती खेप्दै आइरहेका छन् । यहीँ समस्यालाई ध्यानमा राखेर लहान नगरपालिका ३० प्रतिशत र ७० प्रतिशत महेश गुप्ताको लगानीमा बसपार्क निर्माण गरेको छ । 

सिङग्राहीमा बसपार्क निर्माण हुनुभन्दा एक दशक अगाडि लहान–३ अस्पताल चोकमा समेत करोडौंको लगानीमा बसपार्क निर्माण भयो तर सगरमाथा बस व्यवसायी सङ्घले असुरक्षा हुने भन्दै पार्कभित्र बस लैजान नमान्दा सञ्चालनमा आएन । त्यसपछि मुख्य चोक नजिक बसपार्क हुँदा सहज हुने उद्देश्यले सिङग्राहीमा निर्माण गरिएको बसपार्क पनि सञ्चालनमा नआउनु बिडम्बना भएको स्थानीय गेनीलाल रामले बताउनुभयो । उहाँले थप्नुभयो, “बसपार्क नहुँदा जसोतसो काम चल्यो यात्रुहरूले पनि सास्ती खेपे । सुन्दर र सुरक्षित बसपार्क निर्माण सम्पन्न भैसकेपछि किन सञ्चालन हुन सकिरहेको छैन ? यो पो चिन्ताको विषय भएको छ ।” 

चोकमा रहेको बस काउन्टर सञ्चालकहरू त्यहाँभन्दा सस्तोमा कोठा पाइने बसपार्कमा जान चाहेको देखिन्न । यसबारे जनप्रतिनिधिले पहल थालेर सिङग्राहीमा निर्माण भएको बसपार्क सञ्चालनमा ल्याएर चोकमा जथाभावी रोकिने लामो दूरी तथा स्थानीय बसहरू हटाएर मुख्य चोकको सरसफाइ र सौन्दर्यीकरणमा ध्यान दिनुपर्ने स्थानीयहरूले माग गरेका छन् । 

कोरोनाको कहर रहेको बेला सञ्चालनमा आउन नसकेको बसपार्क नयाँ जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि सञ्चालनमा आउला भन्ने आशमा कोठा भाडा तिरेर पसल थाप्ने सुरमा रहेका दर्जनौं व्यापारीले निकै घाटा बेहोरिसकेको पार्कभित्र पसल खोल्नुभएका रमेश साहले बताउनुभयो । 

बसपार्कभित्र शौचालय र आराम गर्ने प्रतिक्षालयलगायत सबै सेवा सुविधा छ तर चोकमा भीड गरिन्छ । यस विषयमा प्रहरी प्रशासन, ट्राफिक, राजनीतिक दलहरू, नागरिक अगुवा र जनप्रतिनिधिले चोकको सरसफाइ र सौन्दर्यको लागि सिङग्राही बसपार्क सञ्चालनमा ल्याउन बस व्यवसायीलाई दबाब दिन नसके करोडौंको लगानी खेर जाने बसपार्क निर्माणकर्ता महेश गुप्ताले बताउनुभयो । बस व्यवसायीका तर्फबाट राखिएका मागहरू पूरा गरे पनि बसपार्कबाट बस सेवा सञ्चालनमा नआउँदा चिन्ता लागेको उहाँले बताउनुभयो ।