एकता दिवसः पृथ्वीनारायणको योगदानको स्मरण गर्दै सालिकमा माल्यार्पण

काठमाडौँ, पुस २७ गते । राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उहाँको सालिकमा आज माल्यार्पण गरियो ।

सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकनेर मुलुकमा राजनीतिक परिवर्तनको घटनासँगै राज्यका निकायबाट औपचारिक कार्यक्रम गर्न छाडिएकामा १० वर्षपछि यस वर्षदेखि फेरि सुरु गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाइमा पृथ्वीनारायण साहको तस्बिरलाई बग्गीमा राखेर निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेर सिंहदरबारको पश्चिम ढोकामा पुगेको थियो । ¥यालीमा नेपाली सेना, नेपाल प्रहरी र धिमेबाजाका साथै नेपाल स्काउटका छात्रछात्रा, बुद्धिजीवी, समाजसेवी तथा साहित्यकार सहभागी थिए ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण साहले दक्षिणतर्फ अङ्ग्रेजको दबदबा रहेका बखत स–साना राज्य रजौटालाई एकीकरण गरेर विशाल नेपाल निर्माण गर्नुभएको थियो ।

पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उपप्रधानमन्त्रीद्वय कमल थापा र सिपी मैनाली, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका व्यक्ति सिंहदरबार पश्चिम ढोका पुग्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेताद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि सालिकमा माल्यार्पण गर्नुभयो ।

माल्यार्पणपछि उपप्रधानमन्त्री थापाले राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्म दिनलाई राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिएर मनाउन आफूले गरेको प्रयास सफल हुन नसकेकामा दुःख लागेको बताउनुभयो ।

अर्का उपप्रधानमन्त्री मैनालीले एकीकरणका नायक पृथ्वीनारायणको जयन्ती मनाउनुपर्छ भनेर उठेको आवाजलाई आफूले राष्ट्रियता र स्वाभिमानको अभिव्यक्तिका रुपमा लिएको बताउनुभयो ।

राप्रपाका अध्यक्ष चन्दले दक्षिणतर्फ अङ्ग्रेजको जगजगी भएको बेला साना टुक्रामा रहेका राज्यलाई बुद्धिमतापूर्वक एकीकरण गरेर पृथ्वी नारायणले नेपाललाई एकताको सूत्रमा बाँधेको बताउनुभयो ।

सो पार्टीका नेता राणाले नेपाली इतिहासकै सबैभन्दा ठूलो कद भएका व्यक्तिको रुपमा पृथ्वीनारायणलाई लिने गरिएको बताउनुभयो ।

अर्काे नेता डा. लोहनीले नेपाल र नेपाली जनताका राष्ट्रपिताका रुपमा रहनुभएका पृथ्वीनारायणको परराष्ट्र र आर्थिक नीति आजको समयमा पनि उत्तिकै सान्र्दभिक रहेको छ भन्नुभयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति उप्रेतीले पृथ्वीनारायण साहले नेपालको एकीकरण गर्नुभएकाले हामीले नेपाली भन्न पाएका छौँं भन्नुभयो ।

यसैबीच माल्यार्पणका लागि भद्रकालीबाट सिंहदरबारतर्फ जान लागेको जुलुुसलाई निषेधित क्षेत्रका कारण प्रहरीले रोकेपछि सहभागीहरुले त्यही सभा गरेका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना