• ६ चैत २०८०, मङ्गलबार

बाँकेमा करिब छ करोडको चोरी पैठारीको सामान बरामद

blog

अवैध रुपमा चोरी पैठारी गरेर भित्र्याउन खोज्दा प्रहरीले बरामद गरेको सामान । तस्विर - सिराज खान। नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, साउन ३ गते । प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाइ गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो । 

बरामद गरेको सामान यति धेरै मूल्यको छ भने नियन्त्रणमा लिन नसकेको सामान कति भित्रिए होला भनेर आफैँ अनुमान गर्न सकिने प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच करोड ९० लाख ५४ हजार रुपियाँ बराबरमा सामान बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । 

अघिल्लो आर्थिक वर्षमा साढे दुई करोडको अवैध मालसामान बरामद गरिएको थियो भने गत वर्षमा त्यसको दोब्बर बढी अवैध सामान बरामद गरेर प्रहरीले उत्कृष्ट काम गरेको छ । सो अवधिमा भन्सार चोरी पैठारी गर्ने ५३ जना भरिया र तस्कर पनि पक्राउ गरिएको एसपी अधिकारीले बताउनुभयो । 

उहाँले प्रहरीले कडाई गरेकाले नै यति धेरै रकमको सामान बरामद गर्न सकिएको र तस्करी र चोरी पैठारी गर्नेको क्षति पुगेको बताएको छ । चोरी पैठारी गर्नेहरु अझैँ पनि सक्रिय रहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरीले त्यसलाई शून्यमा झार्ने अभियानका साथ नाकामा काम गरिरहेको छ । 

चालू मुद्दामा एक हजार ३२५ जना प्रतिवादी पक्राउ

बाँके जिल्लामा चालू मुद्दामा पक्राउ पर्ने प्रतिवादीहरुको सङ्ख्या पनि अघिल्लो वर्षभन्दा गत वर्ष झण्डै दोब्बर पुगेको छ । गएको आर्थिक वर्षमा एक हजार ३२५ जना पक्राउ पर्दा त्यसअघिको आर्थिक वर्षमा ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक वर्षमा बाँके प्रहरीले चार किलोभन्दा बढी सुन पक्राउ गरेको थियो । 

मुद्दा दर्ता सङ्ख्या पनि अघिल्लो आर्थिक बर्ष भन्दा बढेको छ । २०७८ / ७९ मा ११ सय ५७ मुद्दा दर्ता हुँदा त्यसअघिको आर्थिक वर्षमा ८१३ मुद्दा दर्ता भएको तथ्याङ्क बाँके प्रहरीमा छ ।

बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार लागूऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने संख्या दुबै केही घटेको छ । यसबाट लागु औषधको नियन्त्रणमा सफलता मिल्दै गएको पुष्टि भएको उहाँले बताउनुभयो । 

आर्थिक वर्ष २०७७/७८ मा लागू औषधका १२६ मुद्दा दर्ता भएकोमा गत वर्ष ११२ मुद्दा दर्ता भएका छन् । यस्तै, अघिल्लो वर्ष १९६ जना पक्राउ परेकोमा गत आर्थिक वर्षमा १८५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।