• ७ वैशाख २०८१, शुक्रबार

खण्डहर बन्दै नेपाल–चीन सीमा सडक (फाेटाे फिचरसहित)

blog

माथिबाट पहिरो र तलबाट भोटेकोशी नदी कटानले नेपाल–चीन जोडिने उत्तरी सीमा सडक दयनीय बन्दै । तस्विरः चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, साउन ३ गते । उत्तरी चीन सीमा जोड्ने २६ किलोमिटर बाह्रबिसे–चीन सीमा सडक बिग्रेको छ । वर्षा, बाढी र पहिरोको कारण सो सडकको अवस्था नाजुक बनिरहेको छ । माथिबाट भेलबाढीले ल्याएको पहिरो र तलबाट भोटेकोशी नदीले कटान गरेपछि उक्त सडक नाजुक बनेको हो । केही दिन अघि भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा आएको भीषण बाढीले सो सडकखण्ड खण्डहर बनेको छ । 


भोटेकोशी नदीले तान्द लार्चा, कोदारी, १० किलो, डाक्लाङ, चाकु, खोकुण्डोल, नयाँपुल, शिरिशे, जम्बु, खाग्दल लगायतका खण्डका सडक भासिंदै गएका छन् । उक्त खण्डमा माथिबाट ठाडो खोला, खोल्छीका बाढीले सडक बगाएको हो । उक्त क्षेत्रका सडक स्तरोेन्नतिका लागि सडक डिभिजन कार्यालयले वास्ता नै नगरेको चाकुका सञ्जिव श्रेष्ठले गुनासो पोख्नुभयो । बाढीपहिरो र कटानका कारण उक्त सडक बेलाबेलामा महिनौं बन्द हुने गरेको छ । 

चीनको स्वशासित क्षेत्र खासा हुँदै नेपाल आयात हुने मालबाहक कन्टेनर, दर्जनौं जलविद्युत आयोजनाका अत्याधिक भार बोकेका गाडी, टिपरका कारण सडकको अवपस्था दिनहुँ बिग्रदै गइरहेको छ । यात्रुबाहक बस, साना तथा मझौला सवारी साधान उक्त बिग्रिएका सडकका मुस्किलले आउजाउ गर्ने गरेका छन् ।


बाह्रबिसे–कोदारी लोकमार्ग भनेर चिनिने उक्त सडकको अवस्था कन्तबिजोग हुँदा समेत सडक डिभिजन कार्यालय चरिकोटले सडकको अवस्था सुधार्न लागिपरेको छैन । उक्त कार्यालयका प्रमुख अर्जुन सुवाललाई सम्पर्क हुनसक्दैन । सो कार्यालयको बेवास्ताका कारण सडक खण्डहर बनेको स्थानीयहरुको आरोप छ ।

सडक खण्डहर बनेपछि चिनियाँ सामान बोकेर राजधानी भित्रिन थालेका मालबाहक कन्टेनर कयौं दिन सडकमै रोकिन बाध्य भइरहेका छन् । सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरीहरुलाई अस्पताल लैजान समेत कठिनाइ पर्दै आइरहेको छ । २०७१ सालको जुरे पहिरोले बन्द हुँदै आएको उक्त सडक २०७२ वैशाख १२ गतेको भूकम्पले चिराचिरा परेको थियो । मर्मत, सुधार गरेर सूचारु भएको सो सडक २०७३ साल र त्यसपछिका भोटेकोशी नदीको बाढीले कटान गर्दा खण्डहर बनेको थियो । 


नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले उक्त सडक वषौँदेखि तीनै तहका सरकारको उपेक्षामा परेपछि तातोपानी नाकालाई प्रत्यक्ष असर परेको दुःखेसो गर्नुहुन्छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय अन्तर्गत नेपाल–चीन द्विपक्षीय व्यापार चल्ने उक्त नाका सडकको स्तरोन्नति गर्न उहाँले सरकार र सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।


सडकको अवस्था दयनीय भइरहेको कारण पनि चीन सरकारले उक्त नाकाबाट व्यापारिक कारोबार गर्न हिच्किचाइरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष उमेश प्रधानले पीडा पोख्नुभयो । ‘तत्कालै सो सडक सुधार गर्न सबै लाग्नुपर्छ’–उहाँले थप्नुभयो ।