• ८ वैशाख २०८१, शनिबार

कोरस डान्सरदेखि भिडियो निर्देशकसम्मको यात्रामा पाण्डे

blog

काठमाडौं, साउन ३ गते । देवेन्द्र पाण्डे कोरस डान्सर हुँदै भिडियो निर्देशक बनेका एक सफल नाम हो । धादिङ धुनिबेँसी नगरपालिकामा जन्मनुभएका पाण्डे २०५९ सालबाट साइड डान्सरका रूपमा कला क्षेत्रमा प्रवेश गर्नुभएको हो । साइड डान्सरपछि सहायक निर्देशक हुँदै उहाँले निर्देशनमा प्रवेश गर्नुभयो ।  

२०५९ सालमा उहाँले नवयुग माध्यमिक विद्यालय जाबाहालमा अध्ययनका क्रममा एउटा भिडियोमा डान्स गर्ने अवसर पाउनुभयो । त्यो गीतमा नाचेपछि उहाँको नृत्यतिर रुचि बढ्यो । सोही वर्ष ‘परिवर्तन नेपाल’ मा केही समय नृत्य सिक्नुभयो । २०६० मा थप नृत्य सिक्नका लागि उहाँ ‘साधना कला’ केन्द्रमा भर्ना हुनुभयो । यहीबाट आफ्नो कोरस डान्सरको यात्रा सुरु भएको उहाँले बताउनुभयो । 

“कोरस डान्सरकै रुपमा मैले पाँच सयभन्दा बढी म्युजिक भिडियोमा नृत्य गरें, चलचित्रमा भने अवसर पाइनँ” उहाँले भन्नुभयो, “२०६५ सालमा खेमराज तिवारी र कमलराज न्यौपानेको ‘छुट्टिँदैमा माया मर्दैन’ बोलको गीतबाट मैले आफैं निर्देशनमा डेब्यु गरेको हो ।” 

निर्देशक पाण्डे चार सयभन्दा बढी म्युजिक भिडियोका सर्जक हुनुहुन्छ । उहाँका कुन धाराको पानी, तिमी फूल बन, सुखमा तिमीसँगै, बग्ने खोला, मूलको पानी, चाइनाको रेल लगायत भिडियो चर्चित छन् । 

कोरस डान्सरबाट निर्देशक बन्ने यात्रामा विभिन्न चुनौतीहरु भोगेका निर्देशक पाण्डेले तीनवटा चलचित्रसमेत निर्माण गरिसक्नुभएको छ । ‘वान साइद लभ’, ‘भिलेन’ र ‘मानिस ठूलो दिलले हुन्छ’ को काम भइरहेको उहाँले बताउनुभयो ।  

गीतले न्याय पाउने भिडियोमा मात्र काम गर्ने गरेका निर्देशक पाण्डेले सबैखालका म्युजिक भिडियो निर्देशन गर्नुहुन्छ । थोरै समयमा मिठो परिणाम दिनुपर्ने भएको हुँदा यो काम जटिल रहेको निर्देशक पाण्डेको अनुभव छ । करिब सबै कामका अनुभव बटुल्नुभएका पाण्डेले  मिहिनेत गर्ने हो भने त्यहीअनुसारको फल प्राप्त हुनेमा विश्वास गर्नुहुन्छ । फिल्म क्षेत्रमा निर्देशक पाण्डे एक सफल उदाहरण हुनुहुन्छ । उहाँसँग गोरखापत्र अनलाइनकर्मी सनम महर्जनले गर्नुभएको भिडियो कुराकानीः 


भिडियोः मनोजरत्न शाही/केशब गुरुङ्ग 

सम्पादनः मनोजरत्न शाही