सार्क कार्यक्रम समितिको बैठक सुरुः क्षेत्रीय केन्द्रहरुको पुनःसंरचनामा छलफल हुँदै

काठमाडौँ, मङ्सिर ६ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को कार्यक्रम समितिको बैठकमा सार्कका तीनवटा क्षेत्रीय केन्द्र बन्द गर्ने र चारवटा केन्द्रको पुनःसंरचना गर्ने विषय माथि छलफल सुरु भएको छ ।
 
आज बिहान ९ बजेदेखि होटल सोल्टीमा सुरु भएको बैठकमा आठवटै सदस्य राष्ट्रका सहसचिवहरुको नेतृत्वको टोलीको सहभागिता रहेको छ ।

सार्कको १८ औँ शिखर सम्मेलन कार्यक्रमको तयारीका क्रममा भएको सो बैठकमा केही केन्द्र बन्द गर्ने र केहीको पुनःसंरचना गर्ने विषयमा छलफल भएको सार्क महासचिव अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।

हाल सार्कअन्तर्गत ११ वटा समिति क्रियाशील रहेका छन् । बन्द गर्नका लागि सिफारिस हुन लागेका केन्द्रमा सार्क सूचना केन्द्र, मानव संशाधन केन्द्र र सार्क अभिलेख केन्द्र रहेका छन् । ती केन्द्रका कार्यालय क्रमशः नेपाल, पाकिस्तान र भारतमा रहेका छन् ।
 
त्यस्तै एकआपसमा गाभ्न (मर्ज)का लागि सिफारिस गर्न लागिएका केन्द्रमा वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्र रहेका छन् । ती केन्द्र क्रमशः भुटान, भारत, मालदिभ्स, बङ्गलादेशमा रहेका छन् ।
 
महासचिव थापाले राससलाई सार्क कार्यक्रम समितिको बैठकका बारेमा सङ्क्षिप्त जाकारी दिनुहँुदै बन्द एवम् गाभिने केन्द्रको व्यवस्थापनसम्बन्धी कार्य सन् २०१५ को डिसेम्बरसम्ममा अन्तिम रुप दिइसक्ने बताउनुभयो ।

सार्क कार्यक्रम समितिको आजको पहिलो सत्रको अध्यक्षता मालदिभ्सले गरेको थियो । त्यसपछि बैठकका कार्यसूची प्रस्तुत भएपछि बैठकको अध्यक्षता मालदिभ्सले नेपाललाई हस्तान्तरण गरेको थियो । सार्क प्रचलनअनुसार सार्क शिखर सम्मेलनका बैठकको अध्यक्षता आयोजक देशले नै गर्ने प्रावधान रहेको छ ।

समितिको बैठकमा पराराष्ट्र÷सार्क विभाग हेर्ने सहसचिव नेपालका यज्ञबहादुर हमाल, भारतका डा एएम गोन्डने, पाकिस्तानका मोहम्मद नाफेज जाकिरा, श्रीलङ्काका दर्शना पेरेरा, बङ्गलादेशका अब्दुल मोटालेब सरकेर, अफगानिस्तानका इल्हाम घर्जी, भुटानका निमा ओमे र मालदिभ्सका एस्थ लुइस जाहिर नेतृत्वको टोलीको सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको पहिलो सत्रमा सार्कका महासचिव थापाले स्वागत गर्नुभएको थियो । सार्कको तल्लो समितिका रुपमा कार्यक्रम समिति रहेको हुन्छ । कार्यक्रम समितिले स्थायी समितिमा प्रस्तुत हुने एजेन्डा तय गर्ने छ । समितिले बैठकमा अघिल्लो सार्क सम्मेलनमा भएका सदस्य राष्ट्रबीचमा भएका सहमतिको कार्यान्वयनको अवस्था र सदस्य राष्ट्रले भोग्नुपरेका समस्यासंग सम्बन्धित एजेन्डा तय गर्ने कार्यक्रम रहेको समितिमा नेपालको नेतृत्व गरिरहनुभएका सहसचिव  हमालले जानकारी दिनुभयो ।

त्यस्तै स्थायी समिति बैठकले परराष्ट्र मन्त्रिस्तरीय बैठकमा प्रस्तुत गरिने एजेन्डा तय गर्ने छ । सो समितिको बैठक यही मङ्सिर ७ र ८ गते  हुने छ भने मन्त्रिस्तरीय बैठक मङ्सिर ९ गते हुनेछ । राष्ट्र÷सरकारका प्रमुखहरुको शिखर सम्मेलन मङ्सिर १० र ११ गते हुनेछ ।

सदस्य मुलुकका परराष्ट्र÷विदेश÷बाह्य मामिला मन्त्रालयमा सार्क मामिला हेर्ने सहसचिव सम्मिलित बैठकले शिखर सम्मेलनमा सदस्य देशले समावेश गर्ने विषय, काठमाडौँ घोषणापत्रबारे बुँदागत छलफल तथा त्यसमा आवश्यक परिमार्जन एवम् पुनःलेखन गर्ने र परिष्कृत विषयवस्तु तथा समितिले निरुपण गर्न नसकेका विषय सचिव सम्मिलित स्थायी समिति समक्ष प्रस्तुत गर्ने सहसचिव हमालले बताउनुभयो ।

राष्ट्र÷सरकारका प्रमुखहरुको शिखर सम्मेलन पूर्वका कार्यक्रम समिति, स्थायी समिति, मन्त्रिस्तरीय बैठक होटल सोल्टीमा हुनेछन् । भने शिखर सम्मेलन राष्ट्रिय सभागृहमा हुनेछ ।

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराको साथ हुन लागेको सार्क शिखर सम्मेलन पूर्वका सबै बैठक सोल्टी होटलमा तय भएपछि होटल प्रवेश र त्यस वरपरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना