• ६ चैत २०८०, मङ्गलबार

जस्तापातामै उड्छ लाखौँ रुपियाँ

blog

बैतडी,साउन १ गते  । बैतडीको पुरचौडी नगरपालिका–२, ल्याँटीस्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छाना शुक्रबारको हावाहुरीले उडाउँदा लाखौँ रुपियाँको क्षति भएको छ । विद्यालयको चार कोठे भवनको छाना दुई महिनाअघि आठ लाख रुपियाँ खर्च गरेर मर्मत गरिएको थियो । विद्यालयको छाना पुनःमर्मत नभएसम्म पठनपाठन गर्नसकिने अवस्था नरहेको विद्यालयका शिक्षक जनक धानुकले बताउनुभयो । 

दशरथचन्द नगरपालिका–६, नकतडीमा रहेको सरस्वती माविको छाना हुरीले उडाउँदा पठनपाठनमा समस्या परको छ । जेठ २ गते बैतडी सदरमुकामको वीरेन्द्र माविको छात्राबासको भवनको छाना हुरीले उडाउँदा छात्राबासमा बस्ने विद्यार्थी समस्यामा परे । पुरचौडी नगरपालिका–६, त्रिकालीस्थित महादेव माविको छाना उडाएको महिनौँ बितिसक्दा पनि मर्मत हुन सकेको छैन । 

हावाहुरीले क्षति पु-याएका यी केही प्रतिनिधि विद्यालयमात्रै हुन् । बैतडीमा बर्सेनि १५-२० भन्दा बढी  विद्यालयको छाना हुरीले उडाएको फाइल आउने गरेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । 

एकाइ प्रमुख अवस्थी भन्नुहुन्छ, “स्थानीय स्तरमै पाइने स्लेटको छाना छोडेर कम्पनीका जस्तापाता भित्रिँदा विद्यालयमा छानो उडाउने समस्या बढेको छ । विद्यालयका भवन निर्माण गर्दा भू–वनोटको ख्याल गरेको पाइएन” एकाइ प्रमुख अवस्थीले भन्नुभयो, “बैतडी जिल्ला बढी हावाहुरी चल्ने जिल्ला हो तर दाताले दिएको डिजाइन अनुसार टिनका छाना राखेर बनाएका भवनमा क्षति हुने गरेको छ ।” बैतडीको भू–वनोटले टिनको छाना दीर्घकालीन हुँदैन भनेर मन्त्रालयको छलफलमै कुरा राखे पनि दाताले बनाइदिने भवनमा जस्तापाताको डिजाइन परिवर्तन नभएको एकाइ प्रमुख अवस्थीले बताउनुभयो । 

स्लेटको छाना राखेर बनाएका विद्यालयका भवनमा हावाहुरीले प्रभाव पार्न सकेको छैन । ५० वर्षअघि निर्माण भएको बैतडी सदरमुकामस्थित वीरेन्द्र माविको स्लेटको छाना अहिलेसम्म सुरक्षित रहेको छ तर जस्तापाताले बनाएका विद्यालयका भवन निर्माण भएकै वर्ष हुरीले उडाउँदा लाखौँ रुपियाँको नोक्सान हुने गरेको छ । 

जिल्लाको पुरचौडीमा रहेको धौलकाँडाको स्लेट खानी प्रदेशभरि चर्चामा रहे पनि विद्यालयका छानोमा स्लेट प्रयोग हुनसकेको छैन । विद्यालय, स्वास्थ्य चौकीका भवन र पछिल्लो समय नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेका जनता आवासका घरमा पनि जस्तापाता नै प्रयोगमा रहेको पाइएको छ । 

बैतडी जिल्लाको भू–वनोट नै बढी हावा चल्ने भएका कारण भवन निर्माणको डिजाइन स्टिमेटमै जस्तापाताको प्रयोग बन्द गरिनुपर्ने सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशी बताउनुहुन्छ । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेर शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक विकास कार्यालयबाट निर्माण भइरहेका नयाँ विद्यालयका सबै भवन ढलान गरेर निर्माण भइरहेको उहाँले बताउनुभयो । बैतडी जिल्लाको नामकरण नै बढी हावा चल्ने ठाउँ वा स्थान (संस्कृतमा बायोत्तड)बाट रहन गएको स्थानीय संस्कृतविद् चन्द्रमोहन तिवारीले बताउनुभयो ।