• ६ चैत २०८०, मङ्गलबार

सङ्कटमा पोखराको प्याराग्लाइडिङ

blog

पोखराको फेवाताल छेउमै अवतरण गर्दै प्याराग्लाइडिङ । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, असार ३१  गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । विमानस्थल सञ्चालनले यहाँका पर्यटन व्यवसायीलाई खुसीसँगै चिन्ता थपिदिएको छ । ठूला जहाज आउजाउ गर्दा प्याराग्लाइडिङको भविष्य के होला भन्ने कुरामा व्यवसायी चिन्तित हुन थालेका हुन् । पोखराको ब्रान्ड बनिसकेको प्याराग्लाइडिङ हटाउनभन्दा पनि व्यवस्थित गर्न व्यवसायीले चाहेका छन् । 

पर्यटन व्यवसायी गणेश भट्टराईले पोखराको गहनाका रूपमा रहेको प्याराग्लाइडिङ व्यवसाय जोगाउन पहिला पर्यटन व्यवसायी नै एकताबद्ध हुनुपर्ने बताउनुभयो । “एयरपोर्ट त आयो तर पोखराको गहना नै जान्छ कि भन्ने चिन्ता हामीलाई छ,” उहाँले भन्नुभयो । 

प्याराग्लाइडिङको भविष्यको चिन्ता गर्दै नेपाल हवाई खेलकुद संस्था (ना)ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नाका पूर्वअध्यक्ष योगेश भट्टराईले पोखरामा प्याराग्लाइडिङ विस्थापित हुनु भनेको राज्यको आम्दानी, व्यवसायीको लगानी र रोजगारीमा धक्का पुग्ने बताउनुभयो । “राज्यले यस्ता चिजको ख्याल गर्नुपर्छ । प्याराग्लाइडिङको संरक्षण गर्नसके पर्यटकको बसाइ लम्बिनेछ,” उहाँले भन्नुभयो । यहाँबाट प्याराग्लाइडिङ विस्थापन गर्दा पोखराको आकर्षण घट्ने उहाँले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं अल्ट्रालाइट व्यवसायी पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङसँगै अल्ट्रालाइटको पनि उडान ठप्प हुने चिन्ता बढेको सुनाउनुभयो । विदेशमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै हवाई गतिविधि पनि चलिरहँदा पोखरामा पनि त्यसको सम्भावना अध्ययन गरिनुपर्ने उहाँको भनाइ थियो । 

नेपाल हवाई खेलकुद संस्था (ना) पोखरा अध्यक्ष कृष्णप्रसाद भण्डारीले प्याराग्लाइडिङ व्यवसायलाई जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भण्डारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको सराङकोट र तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङ उडानलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा धेरै बहस तथा छलफल चलाएको जानकारी दिनुभयो ।  

पोखरामा ६२ प्याराग्लाइडिङ कम्पनी छन् । यसमा पाँच सय पाइलटले प्याराग्लाइडिङ उडान गर्छन् । सराङकोटको डाँडाबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ । संस्थाका पूर्वअध्यक्ष राजेश बमजनले सराङकोट प्याराग्लाइडिङका लागि उत्तम ठाउँ रहेको बताउनुभयो । कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्न प्याराग्लाइडिङले निकै नै सघाएको उहाँले बताउनुभयो । 

नेपाल हवाई खेलकुद संस्थाका नवनिर्वाचित अध्यक्ष सुनीलबहादुर भट्टराईले पोखरामा नै प्याराग्लाइडिङ बचाइराख्न हरसम्भव प्रयास गर्ने उद्घोष गर्नुभयो । उहाँले पर्यटन व्यवसायीका साथै सङ्घीय सरकार, प्रदेश सरकार, महानगरपालिका साथै समग्र पोखरावासीको सहयोगको अपेक्षा गरेको बताउनुभयो । पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए । 

अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गरिन्छ । सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुङ्गा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो । मान्द्रेढुङ्गा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन् । व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडान केही गरी अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन् ।