• ६ चैत २०८०, मङ्गलबार

अवैध क्रसर उद्योग सञ्चालन : सरोकारवाला निकाय मौन

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार २९ गते । कालिगण्डकी नदी किनारमा करिब एक वर्षदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत रघुगङ्गा गाउँपालिका २ स्याउली बजारस्थित नदी किनारबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा अवैध रुपबाट उत्खनन् गरी बिक्रीवितरण भइरहे पनि सरोकारवाला निकाय मौन देखिएका स्थानीयको भनाइ छ । 

अवैध रुपमाबाट सञ्चालन भएको क्रसर उद्योगले जथाभावी नदीजन्य पदार्थको उत्खनन गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । सदरमुकामदेखि नजिकै रहेको सो क्रसर उद्योगबारेमा जिल्लास्थित सरकारी निकाय भने बेखबर छ । वडा कार्यालयले क्रसर उद्योगबारेमा प्रशासनलाई जानकारी गराउँदा पनि चासो नदेखाउँदा मिलेमतोको आशङ्का स्थानीयले गरेका छन् । 

स्थानीय टाठाबाठाले राजनीतिक पहुँचका आधारमा नदी किनारमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको स्थानीयवासीको आरोप छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको रघुगङ्गा गाउँपालिका २ का वडाध्यक्ष अमृत भण्डारीले बताउनुभयो । मापदण्ड विपरित नदी किनारमा क्रसर उद्योग खोलेर अवैध रुपमा नदीजन्य पदार्थको निकासी भइरहेको जानकारी जिल्ला प्रशासन, जिल्ला समन्वय र सुरक्षा निकायलाई गराएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । 

आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर उद्योग सञ्चालन भएको स्थानीयवासीले गुनासो गरेपछि वडा कार्यालयले अनुगमन गरेको जनाएको छ । अनुगमनमा जाँदा क्रसरमा काम गरिरहेका व्यक्तिहरु भागेको अध्यक्ष भण्डारीले बताउनुभयो । यो स्थानमा धेरै पहिलादेखि क्रसर उद्योग सञ्चालन गरेर नदीजन्य पदार्थको अवैध निकासी गरिदै आएको छ उहाँले भन्नुभयो, ‘कसले चलाएको हो ? को को यसमा संलग्न छन्, प्रशासनले छानबिन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ ।’  

सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा क्रसर उद्योग सञ्चालन गर्न कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।