• ६ चैत २०८०, मङ्गलबार

प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २७ गते । प्रतिनिधिसभाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । सोमबार बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो । 

उक्त विधेयकउपर बैठकमा छलफल भई उठेका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।

यौन हिंसासम्बन्धी विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो ।

नेपालको संविधानको धारा ९४ मा सङ्घीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न नपाइने प्रावधान छ । 

सांसद रावलको नियमापत्तिपछि सभामुख सापकोटाले ३ मिनेट जनाउ घण्टी बजाएर सांसदहरुको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

सांसदहरुको सङ्ख्या कम्तीमा ६९ हुनुपर्नेमा गणना गर्दा ७७ सांसदको उपस्थिति रहेको पाइएपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।