• ६ चैत २०८०, मङ्गलबार

नाइराेबी फ्लाइको सङ्क्रमणद्वारा छालामा हुने एलर्जी कति घातक

blog

काठमाडौं, असार २७ गते । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा नाइरोबी फ्लाइको सङ्क्रमणले छालामा देखिएको विषय निकै भाइरल भइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महाशाखासँग एकिन तथ्याङ्क नभए पनि तराईका विभिन्न जिल्लामा नाइरोबी फ्लाइको  सङ्क्रमणले गर्दा छालासम्बन्धी रोग लिएर अस्पताल जाने बिरामीको सङ्ख्या बढ्दैछ ।

बेलुका राम्ररी सुतेका उनीहरु बिहान उठ्दा घाउ देखिने भएकाले बिरामी धेरै आत्तिने गरेको चिकित्सक बताउँछन् । छाला रोग विशेषज्ञ प्राडा. सविना भट्टराईले तराईका जिल्लाहरुमा नाइरोबी फ्लाइको सङ्क्रमणले हरेक वर्षको वर्षायाममा छालाको समस्या देखिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा नाइरोबी सङ्क्रमणले नयाँ छालाको समस्या देखियो भनेर विभिन्न अड्कलबाजी भएको छ ।’’

नाइरोबी फ्लाई भनेको के हो ?
उहाँका अनुसार छालामा देखिएको एलर्जीलाई भेक्सिकेन्ट डर्मटाइटिस भनिन्छ । यो एलर्जी नाइरोबी फ्लाइ इन्फेक्टा प्रजातिमा कालो र पहेँलो धर्सा भएको कीराको सम्पर्कबाट हुने डा. भट्टराई बताउनुहुन्छ । यो कीरा वर्षायाममा गर्मी ठाउँमा विशेषगरी भारत र तराईका विभिन्न जिल्लामा देखिने गर्छ ।

बढी मात्रमा यिनीहरू झुण्ड–झुण्ड भएर निस्कने गर्छन् । दिनमा नदेखिए पनि रातको समयमा बत्तीको वरिपरि झुण्ड भएर बस्ने गर्दछन् । राति बत्ती बालेर सुत्दा कीरा शरीरमा खसेर छालामा सङ्क्रमण गराउने गर्छ । उक्त सङ्क्रमण नाइरोबी  फ्लाइले टोकेर नभई उक्त कीराको शरीरमा केमिकल एसिड हुने भएकाले त्यो एसिड शरीरमा पर्दा छालामा दाग, घाउ आउने पोल्ने जस्ता एलर्जी देखिने गर्दछन् ।

चिकित्सकका अनुसार उक्त कीराको पखेटा र पुच्छरमा केमिकल एसिड हुने गर्दछ । कीरा शरीरको खाली भागमा खस्दा उक्त एडिडले छालाको खाली भागमा एलर्जी हुने गर्दछ । कीराले शरीरमा छोएमा सुरुमा छालामा चिलाउने, पोल्ने र जनै खटिराजस्ता फोका आएर छाला रातो हुँदै जाने जस्ता एलर्जी हुने चिकित्सक बताउँछन् ।

उहाँले भन्नुभयो, “यो कीराले शरीरमा छोएपछि जनै खटिराजस्तो पानी फोका आउने, छाला रातो हुने, पोल्ने, चिलाउनुका साथै बिमिरा आउने र सुनिने, पोल्ने विस्तारै धर्से एलर्जी जस्तो देखिने गर्छ ।” यदि उक्त एलर्जी शरीरको जोर्नीमा भए, एलर्जी एक ठाउँबाट अर्को ठाउँमा सर्ने गर्छ ।

कीराको सम्पर्कमा आएको १२ घण्टादेखि २४ दिनसम्म लक्षण देखिने चिकित्सक बताउँछन् । सङ्क्रमणले हुने एलर्जी ८–९ दिनमा आफैँ निको भएर जान्छ । ८–९ दिनपछि विस्तारै पाप्रा निस्कदै जान्छ र निको हुन्छ । समयमा नै उपचार गरिएन भने घाउ निको भएको एक–दुई महिनासम्म छालामा कालो धर्के दाग देखिने गर्छ ।

उपचार
पोल्ने, चिलाउने, घाउ भएमा छाला रोग विशेषज्ञलाई देखाउन चिकित्सकको सुझाव छ । एलर्जी भइसकेपछि केही दिनमा  आफैँ निको हुने भए पनि छाला चिलाउने, पोलेमा चिकित्सकको सल्लाहअनुसार एन्टि एलर्जी क्रिम लगाउनसकिने डा। भट्टराई बताउनुहुन्छ । यदि जटिल अवस्था भएमा ट्याब्लेट खानुपर्छ । सामान्य समस्यालाई एन्टी एलर्जी मलम लगाउँदा पनि निको हुने उहाँ बताउनुहुन्छ ।

बच्ने उपाय
यो कीरा देखिने बित्तिकै त्यसलाई हातले नछोई कागज वा कपडाको सहाराले छालाबाट हटाउनुपर्छ । कीरा बसेको ठाउँमा साबुन पानीले राम्रोसँग पखाल्न चिकित्सको आग्रह छ । घर बाहिर निस्कँदा पूर्ण बाहुला भएको लुगा लगाउने, राति सुत्दा झुलको प्रयोग गर्ने, बत्ती निभाएर सुत्दा यो एलर्जीबाट बच्च सकिने उहाँका सुझाव छ ।




Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।