• ६ चैत २०८०, मङ्गलबार

महिलाको शिर उँचो बनाउन प्रतिबद्ध : अध्यक्ष हीरा

blog

गणेश पौडेल

कुस्मा, असार २३ गते । राजनीतिक दलले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको गुनासोबीच पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेले हीरादेवी शर्मालाई अध्यक्ष उम्मेदवार बनायो । निर्वाचनमा विजयी शर्माले मोदी गाउँपालिकाको आगामी पाँच वर्षको नेतृत्व सम्हाल्नुभएको छ । शिक्षा सेवामा लामो समय काम गर्नुभएकी शर्माले गाउँपालिकाको नेतृत्व सम्हालेपछि देशभरकै महिलाको शिर ठाडो पार्नेगरी काम गर्ने अठोट लिनुभएको छ । 

पोखरा–बागलुङ–जोमसोम सडकको प्रवेशबिन्दु रहेको मोदी गाउँपालिकाको नामकरण मोदी खोलाबाट भएको छ जलविद्युत् आयोजना छन् । यो गाउँपालिका सानो छ तर थुप्रै अवसर र चुनौती महसुस गर्नुभएको छ अध्यक्ष शर्माले । गोरखापत्रसँगको सङ्क्षिप्त वार्तामा उहाँले भन्नुभयो, “हामी यहाँका सम्भावनाको उपयोग गरी सङ्घ र प्रदेशसँगको सहकार्यमा समृद्ध मोदी बनाउन लागिपर्ने छौँ ।” मोदी गाउँपालिकामा सम्भावनाका क्षेत्रहरू कृषि, पर्यटन, उद्यमका क्षेत्र प्रविधिसँग जोड्दै आधुनिकीकरणमा जोड दिइनेछ । 

पालिका सदरमुकामदेखि वडासम्म जोड्ने मोटरबाटो स्तरोन्नति गर्ने, स्वच्छ सफा पिउने पानीको व्यवस्था गर्ने, एक घर एक धाराको अभियानलाई मूर्त रूप दिने, मोदीलाई सफा, स्वच्छ र समृद्ध बनाउन निजी क्षेत्र, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग पनि सहकार्य गरी अगाडि बढाउने गरी लाग्ने उहाँ बताउनुहुन्छ । यसो त कार्यकालको पहिलो बजेट (७३ करोड रुपियाँभन्दा बढी) मै गाउँपालिका केन्द्र पातिचौरमा सहलगानीमा निर्माण हुने ११ करोड रुपियाँभन्दा बढी लगानीको खानेपानी आयोजनामा गाउँपालिकाले १० प्रतिशत लगानी गरिदिने भएको छ ।

चुनावी घोषणापत्रमा राखिएका महìवाकाङ्क्षी योजना पूरा गर्नुपर्ने समय सुरुआत भएको छ । अध्यक्ष शर्मा भन्नुहुन्छ, हामीसँग विगतमा मोदी गाउँपालिकाले अगाडि बढाएर दीर्घकालीन महìवका योजनालाई निरन्तरता दिनुपर्ने दायित्व छ । आश्वासन पूरा गर्नुछ । ती सबै कामलाई क्रमबद्ध रूपमा योजनामा समेटेर लैजान्छौँ ।

चुनावका बेला जनतालाई वाचा गरेअनुसार गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, आधुनिक कृषि तथा पशुपालन प्रणालीमार्फत गाउँमै रोजगारीका अवसर, स्थानीय साधन स्रोतको उपयोगमार्फत स्वरोजगारका कार्यक्रमलगायत विभिन्न योजना बनाएर लाग्ने उहाँको भनाइ छ । आफू महिला भएको नाताले पनि पालिकाबाट प्रसूति-सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको उहाँ बताउनुहुन्छ । यसबाट विशेषगरी सुत्केरी महिलाले निःशुल्क सेवा साथै पालिकाभरिका जनताले सेवा पाउने छन् । 

तपाईं महिलाको प्रतिनिधित्व गर्दै अध्यक्ष हुनुभएको छ, तपाईं देशभरका महिलालाई सन्देश दिनेगरी कस्तो काम गर्दै हुनुहुन्छ ? गोरखापत्रको जिज्ञासामा अध्यक्ष शर्मा भन्नुहुन्छ, महिला भएकै कारण काम गर्न सक्षम छैनन् भन्ने जुन सामाजिक दृष्टिकोण छ त्यसलाई परिवर्तन गर्ने गरी काम गर्नेछु । पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा उदाहरणीय काम गर्नेछु । गाउँपालिकाभरका महिलालाई साथमा लिएर महिला दिदीबहिनीहरूको ज्ञान, सीप र क्षमता बढाउने खालका कार्यक्रम चलाउनेछु । 

महिलालाई आत्मनिर्भर बनाउने खालका रोजगारमूलक कार्यलाई अगाडि बढाउनेछु । महिलाहरू आफैँ सक्षम नहुँदा परनिर्भर बन्नुपर्ने बाध्यताको अन्त्य गर्न स्वरोजगारमूलक र सीपमा आधारित कार्यक्रमलाई अगाडि बढाएर देशभरका महिलालाई सन्देश दिने खालको काम गर्नेछु । महिलाहरू पनि अध्यक्ष वा प्रमुख भएर काम गर्न सक्छन् भन्ने उदाहरण दिँदै देशभरका महिलाको शिर उँचो हुने गरी काम गर्नेछु ।  

मोदी पालिका अध्यक्ष शर्माले आफूहरूको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्यम, पर्यटन, पूर्वाधार विकास र सामाजिक विकास पर्ने बताउनुहुन्छ । यी सबै क्षेत्रको काम समान ढङ्गले अगाडि बढाउन सके मात्रै जनताले आशा गरेको प्रतिफल पाउन सक्ने उहाँको बुझाइ छ । आफूहरू विशेषगरी महिला, जनजाति र पहुँच नहुनेहरूका लागि विशेष कार्यक्रम लिएर जनतामाझ जाने बताउनुहुन्छ ।  

गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, सबै वडामा स्वास्थ्य चौकीमार्फत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, बिरामीसँग डाक्टर कार्यक्रम घुम्ती टोली बनाएर अगाडि बढाइने उहाँको योजना छ । पहिलो बजेटमै स्वास्थ्यचौकी भवनलाई अस्पताल भवनमा परिणत गर्ने, विद्यालय भवनहरू बनाउने गरी रकम विनियोजन गराउनुभएको छ ।

हीरा भन्नुहुन्छ, उद्यमका लागि सहयोग गरी सीप विकास र रोजगारीलाई निरन्तरता दिने र नवयुवालाई प्रोत्साहन हुने खालका योजना अगाडि बढाउने छौँ । आगामी आर्थिक वर्षको बजेटमा दूध, तरकारी, फलफूल उत्पादक किसानलाई अनुदानको व्यवस्था गरिएको छ । हरेक वडालाई सम्भाव्य उत्पादन र अर्थोपार्जनका ‘पकेट’ क्षेत्रका रूपमा विकास गरिनेछ ।  

समग्र विकासका लागि कृषि, पर्यटन र रोजगारीका कार्यक्रमलाई लक्षित वर्गसम्म पु-याउन उनीहरूका बस्तीमा नै पुगेर समूहमार्फत त्यहाँको समस्या पहिचान गर्ने, आवश्यकताका क्षेत्र निर्धारण गर्ने, सम्भावना र चुनौतीको पहिचान गरी सोहीअनुसारका वार्षिक योजना बनाई काम गर्ने गरी सबै शक्ति परिचालन गर्ने अध्यक्ष शर्माको भनाइ छ ।

कृषिमा आधुनिकीकरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउने कार्यक्रम अगाडि बढाउने, एक वडा एक उद्यमको अवधारणाबाट स्थानीय उत्पादनलाई नजिकका बजारमा पु-याउने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड दिने उहाँको भनाइ छ । त्यसमा पहिलो प्राथमिकता महिला, दलित, अल्पसङ्ख्यक र विपन्न वर्गलाई दिइनेछ, उहाँले भन्नुभयो । 

पर्यटन प्रवद्र्धन गर्नका लागि मोदी गाउँपालिकाभित्र अत्यन्तै सम्भावनायुक्त क्षेत्रहरू छन् । तिनीहरूलाई प्रचारप्रसार र पूर्वाधारको काम गर्न सक्दा पोखरामा आएका पर्यटकलाई मोदीमा ल्याएर पर्यटनमार्फत रोजगारी सिर्जना गर्न सक्ने उहाँले देख्नुभएको छ । 

मोदी गाउँपालिकासँगै जोडिएर रहेका क्षेत्रबाट जाने राउन्ड अन्नपूर्ण पदमार्गलाई मोदीको भुक्ताङले हुँदै जाने पदमार्गको विकास गर्ने, पन्चासे, जलजला, भवरकोटलगायतका उच्च ठाउँमा पर्यटकीय पूर्वाधारको विकास गर्ने, ती क्षेत्रको नजिक रहेका गाउँमा होमस्टे (घरबास) बनाउने, सुविधासम्पन्न होटलको निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकेमा पर्यटनमार्फत रोजगारी बढाउन सकिने भएकाले त्यस्ता कामलाई समेत प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ । 

यहाँको जनताको मुख्य पेसा नै कृषि हो तर पछिल्लो समय कृषि क्षेत्र पछाडि परेका कारण विदेश जाने प्रचलन बढेको छ । त्यसैले बाँझो जमिनमा खेती गर्ने कृषकलाई विशेष अनुदानको व्यवस्था गरेर कृषि रोजगारी कार्यक्रम अगाडि बढाउने योजना बनाइएको अध्यक्ष शर्मा बताउनुहुन्छ । समग्रमा हाम्रो मुख्य उद्देश्य यहाँका आमजनताको जीवनस्तरमा परिवर्तन ल्याउने नै हुनेछ, अध्यक्ष शर्माको भनाइ छ ।