सात कम्युनिष्ट पार्टी एकै ठाउँमा

श्रीधर आचार्य÷विश्वास रेग्मी

काठमाडौँ, मङ्सिर २७ गते । नेपालका सबैजसो कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्दै मुलुक र जनताको समृद्धिका लागि काम गर्न एकता र सहकार्य अहिले अत्यन्त आवश्यक भएको बताएका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा विचार र सिद्धान्तका कारण मात्र नभई साम्राज्यवादी षडयन्त्रका कारण पनि नेताहरू भ्रमित हुने र पार्टी विभाजन गर्ने गरेका अनुभव ताजा रहेको औँल्याउँदै नेताहरूले मुलुकले संविधान बनाएवापत अहिले भोग्नुपरिरहेको अप्ठ्यारो परिस्थितिको सामना गर्न पनि राष्ट्रप्रति जिम्मेवार सच्चा कम्युनिष्टको एकता र सहकार्य आवश्यक रहेको बताए ।

करिव एक शताब्दी उमेर पुग्न लाग्नुभएका प्युठानका पुराना कम्युनिष्ट नेता खगुलाल गरुङ (९८ वर्ष ) को अभिनन्दनका लागि राजधानीमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माक्र्सवादीका अध्यक्ष गणेश शाह लगायतका वक्ताले कम्युनिष्टहरूको एकता र सहकार्यमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले मुलुक निर्माणको काममा कम्युनिष्ट पार्टी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको र आफू यस प्रयासमा इमानदारीपूर्वक लागिरहेको बताउनुभयो ।

उहाँले त्यस निम्ति आफूले जे–जे छोड्न परे पनि तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अविचलित भएर निष्ठाका साथ अगाडि बढेमा मात्र देश विकासको अभियान पूरा गर्न सकिने धारणा राख्नुभयो ।

साधारण व्यक्तिको इमानदार प्रयासले पनि परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

६५ वर्षदेखि गुरुङले कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले सबै कम्प्युनिष्ट दल एक ढिक्का भएर अगाडि बढेमा मात्र जनताको चाहना पूरा गर्न सकिने बताउनुभयो ।

एमाओवादी अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई छिया छिया र चिरा चिरा पार्नमा साम्राज्यवादीको ध्यान छ भन्ने कुरा बिर्सनु नहुने बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरूले आफूबीचको दूरी घटाउनुपर्ने आवश्यकतामा समेत उहाँले जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “साम्राज्यवादीहरू नेपाली कम्युनिष्टको तेजोवध गर्न लागिरहेको यस अवस्थामा सबैले आत्मसमीक्षा गरी जुन रूप र स्तरमा हुन्छ एकताका लागि प्रतिवद्धता जाहेर गरौँ ।”

उहाँले संविधानसभाबाट संविधान बनाएवापत आफूले भोग्नुपरेको अवस्था बताउन समेत अप्ठ्यारो रहेको उल्लेख गर्दै देश र जनताप्रतिको जिम्मेदारीबाट विचलित नहुने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सभापतित्व गर्नुभएका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले निरन्तर कम्प्युनिष्ट आन्दोलनमा सक्रिय गुरुङबाट पे्ररणा लिएर उहाँको सपना पूरा गर्ने दायित्व थपिएको बताउनुभयो ।

दुई सत्रमा सम्पन्न कार्यक्रममा दोस्रो सत्रको अध्यक्षता गर्नुभएका नेकपा मसालका महामन्त्री अर्धभूमिगत नेता मोहनविक्रम सिंहले भारतले नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्न खोजेको र मुलुक अहिले राष्ट्रियता र अस्तित्व रक्षाका दृष्टिकोणले गम्भीर सङ्कटमा परेको बताउनुभयो ।

मुलुकलाई सङ्कटबाट पार लगाउन कम्युनिष्ट क्रान्तिकारीहरूको एकता आवश्यक रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले मुलुक भौगोलिक रूपमा सानो भए पनि हामी कमजोर छैनौँ भन्दै विश्वका विभिन्न मुलुक र भारतभित्रैबाट पनि हाम्रो पक्षमा उठिरहेको आवाज नै हाम्रो शक्ति हो भन्नृुभयो ।

उप–प्रधानमन्त्री तथा नेकपा मालेका महासचिव मैनालीले नेपाल राष्ट्रको निर्माण भएको चार हजार वर्षपछि पनि सार्वभौमिकता र स्वाधीनताका कुराले नेपाली चिन्तित हुन परेको बताउनुभयो ।

नेपालको माक्र्सवादले राष्ट्रको अस्तित्व बचाउने कुरालाई आफ्नो अङ्ग बनाउनुपर्ने विचार समेत उहाँले व्यक्त गर्नुभयो ।

उहाँले अप्ठ्यारो घडीमा बनेको वर्तमान सरकार कम्युनिष्ट एकताको ज्वलन्त उदाहरण भएको उल्लेख गर्दै विगतमा जस्तो सत्तालिप्सा र सङ्कीर्णताबाट विचलित नभई यो एकतालाई कायम राखे देश र जनताका काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बयोवृद्ध कम्प्युनिष्ट नेता खगुलाल गुरुङलाई विभिन्न कम्प्युनिष्ट पार्टीका नेताहरूले सम्मान व्यक्त गर्नुभएको थियो ।

त्यस क्रममा उप–प्रधानमन्त्री चित्रबहादुर केसीले गुरुङको अभिनन्दनका लागि बनाइएको मूल आयोजक समितिका संयोजक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले तयार पार्नुभएको गुरुङको सङ्क्षिप्त जीवनयात्रा वाचन गर्नुभएको थियो ।

उप–प्रधानमन्त्री केसीले नेपालका कम्युनिष्टहरू एक ढिक्का नभई सुख्खै छैन भन्नुभयो ।

अभिनन्दनपछि गुरुङले नयाँ संविधानको कार्यान्वयनलाई प्राथमिकतामा राखेर सबैले काम गर्नुपर्ने समय आएको बताउनुभयो ।

विगतको गल्ती कमजोरीलाई बिर्सेर एकताबद्ध भई काम गर्न कम्युनिष्ट दललाई उहाँले सुझाव दिनुभयो ।

प्युठानबाट कम्प्युनिष्ट राजनीति सुरू गर्नुभएका गुरूङले राणाकालदेखि नै न्यायको पक्षमा वकालत गर्दैै आउनुभएको थियो ।

अभिनन्दन आयोजक समितिका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले कम्युनिष्ट आन्दोलनका अविचलित योद्धा गुरुङको योगदानको कदर गर्दै सरकारबाट समेत उहाँको सम्मान र आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियोे ।

कार्यक्रममा एमाओवादी नेता लीलामणि पोखरेल, सांसद दुर्गा पौडेल, नेता मणि थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

अभिनन्दन समारोहमा एमाले उपाध्यक्ष बामदेव गौतम, कम्युनिष्ट नेताहरू विष्णुबहादुर मानन्धर, भरतमोहन अधिकारी, अमिक शेरचन, बीरबहादुर सिंह, नन्दकुमार प्रसाई, नेतृ हिसिला यमी लगायतको उपस्थिति थियो ।

गत साता वीर अस्पतालमा निमोनिया र क्षयरोगको उपचार गराउनुभएका गुरुङलाई आइतबार अभिनन्दन गरिएको थियो । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उप–प्रमुख सूर्य थापाले सो उपचारका क्रममा लागेको खर्च रु. ३४ हजारको व्यवस्था गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना