• ६ चैत २०८०, मङ्गलबार

नेपाल क्यानडासँग पराजित

blog

टसपछि नेपालका कप्तान सन्दीप लामिछाने र क्यानडाका कप्तान । तस्बिर सौजन्य : क्यान

काठमाडौं, असार २३ गते । आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाल क्यानडाविरुद्धको एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटी स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भयो । 

क्यानडाले दिएको एक सय ८९ रनको विजयी लक्ष्य पट्याएको नेपाल ३९.२ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५ रनमा समेटियो । कमजोर ब्याटिङ गरेको नेपालका लागि देव खनालले सर्वाधिक २६ रन बनाउनुभयो । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदिल अन्सारीले समान १३/१३ रन बनाउनुभयो ।

कप्तान सन्दीप लामिछाने ११ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सक्नुभएन । बलिङमा क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभाले ५० रन बनाउनुभयो । आरोन जोनसनले ४४, अमर खालीदले अविजित ३०, उदयवीर सिंहले १६ र अखिल कुमारले १२ रन बनाउनुभयो । 

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । दीपेन्द्र सिंहऐरीले दुई तथा बसिर अहमेद, किशोर महतो, करण केसी र आदिल अन्सारीले एक एक विकेट लिनुभयो । यसअघि क्यानडा र नेपालबीच दुई खेलको एकदिवसीय सिरिज हुने तय भएपनि मंगलबार वर्षाका कारण खेल रद्द भएको थियो । 

यसअघि नेपालले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग पनि एकदिवसीय र टी–२० दुई वटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल आईसीसी विश्वकप लिग–२ खेल्न क्यानडाबाटै स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिबियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ ।

स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ ।