सङ्कटमा पर्दै प्रवासी चरा

krishna bhusalकृष्णप्रसाद भुसाल

 


नेपालमा आठ सय ७६ प्रजातिका चरा पाइन्छन् । यो सङ्ख्या विश्वभर पाइने चराका कुल प्रजातिको करिब १० प्रतिशत हुन आउँछ तर यी सबै प्रजातिका चरा वर्षभरि नेपालमा भेटिंँदैनन् । हिउँदयामको सुरुवातसँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न क्षेत्र तथा ताल, तलैया र नदी आसपासमा बसाइँ सरी आउने प्रवासी चराको विविधता र बथान देखिन्छ ।
खासगरी, उत्तरी ध्रुवमा हिमपातको सुरूवातसँगै अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरियाली प्रायद्विप तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्दछन् । यसैगरी, लगभग ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हँुदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् । यसरी जाडो छल्न आउने हिउँदे प्रवासी चरा नेपालका प्रमुख सिमसार क्षेत्रहरू कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीस हजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा मूलरूपमा आफ्नो समय व्यतित गर्छन् ।
यी हिउँदे प्रवासी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म रहन्छ भने चैतसम्ममा प्रायःजसो आफ्नो स्थायी बसोबास क्षेत्रमा फर्किसकेका हुन्छन् । यसर्थ असोजदेखि चैत महिनासम्मको समयलाई प्रवासी चराको मौसम मानिन्छ । यसरी जाडोयाममा नेपालमा बसाइँ सरी आउने चरामा अधिकांश हाँस प्रजातिका हुन्छन् । यस्तै, अन्य प्रजातिमा शिकारी तथा मांशाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि हुने गर्छन् ।
जाडो सकिंँदै गर्दा हिउँदे प्रवासी चरा आ–आफ्नो मूल थलो फिरिसकेका हुन्छन् । त्यसबेलासम्म दक्षिणी मुलुकहरू र अफ्रिकाबाट समेत हजाराँै ग्रीष्मकालीन प्रवासी चरा अण्डा कोरल्न नेपाल आइसक्छन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउनेमा करिब ४० प्रजाति कोइलीका हुन्छन् भने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहने गर्छन् ।
ग्रीष्मकालीन प्रवासी चराको मुख्य बासस्थान वन र त्यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् । यसरी नेपालमा हिउँदे प्रवासी र वसन्त ऋतुको आगमनसँगै आउने ग्रीष्मकालीन प्रवासी चराको ओहोरदोहोर वर्षभरि नै चलिरहन्छ ।
प्रवासी चराहरू केही बास बस्दै त केही सिँधै उडेर हजारौँ माइलको यात्रा पार गरी नेपाल आउने गर्दछन् । गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि यी चराले सूर्य र तारा तथा नदी, भौगोलिक शृङ्खला, भूचुम्बकीय क्षेत्रको प्रभाव आदिको सहारा लिने गर्दछन् । यसरी चराहरूले बसाइँसराइका बेला प्रयोग गर्ने बाटोलाई ‘फ्लाई वे’ भनिन्छ । बसाइँ सरी आउने चरामध्ये केही विशेष प्रजातिका चरा छन् । जस्तो कि खोया हाँस विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा पनि माथि नौ हजार तीन सय ७५ मिटरको उचाइमा उडेर जाडोयाममा नेपाल आउने गर्दछ । ग्रीष्मकालको प्रवासी चरा जुरे कोइली अफ्रिका महादेशबाट करिब पाँच हजार किलोमिटर लामो दूरी पार गर्दै नेपाल भित्रिन्छ ।
नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अण्डा अरू चराको गुँडमा पार्छन् । उक्त चराले आफ्नै अण्डा ठानेर त्यसलाई कोरल्छ र कोइलीको बच्चा हुर्काउँछ । कास्की जिल्लाको काँडे क्षेत्र शिकारी चराको बसाइँ सर्ने संसारकै एकमात्र ठूलो करिडोर हो । जसको बाटो हुँदै बर्सेनि करिब १५ हजार शिकारी चरा पूर्वबाट पश्चिमतर्पm जाने गर्छन् ।
यसरी नेपालमा बसाइँ सरी आउने चरा खासगरी बासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, वन फडानी र अतिक्रमण, वनमा लाग्ने डढेलो, घाँसे मैदानको नाश, अवैध चरा शिकार तथा व्यापार, बदलिंँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले सङ्कटमा पर्दै गएका छन् ।
पछिल्ला वर्षहरूमा यसरी बसाइँ सरी आउने प्रवासी चराको सङ्ख्यामा कमी आएको विभिन्न अध्ययन प्रतिवेदन र चरा अवलोकनकर्ताहरूको अनुभवले बताउँछ । संरक्षण चेतनाको कमीका साथै जनसङ्ख्याको बढ्दो चाप र गरिबीका कारण प्राकृतिक स्रोतमा अत्यधिक निर्भरता र अव्यवस्थित सहरीकरणको प्रभावले नेपालका रैथाने तथा प्रवासी चराको आश्रयस्थल नासिंँदै गइरहेका छ । जुन चरा संरक्षणमा ठूलो चुनौतीका रूपमा उभिएको छ ।
सन् १९८७ देखि हरेक वर्ष नियमितरूपमा गरिँदै आएको सिमसारमा आश्रित चराको गणनाले हिउँदे प्रवासी जल चराको अवस्था खतराउन्मुख रहेको देखाएको छ । स्वयंसेवी पंक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा र संरक्षण सङ्घ संस्थाले संयुक्तरूपमा गर्ने उक्त गणना कार्यक्रम प्रत्येक वर्ष जनवरीमा गरिन्छ । हिउँदेयामका प्रवासी चराको मुख्य आश्रयस्थल सिमसार भएकाले बिग्रँदो सिमसारको स्वरूप, मिचाहा झारको प्रकोप र चोरी शिकारले प्रवासी चरा प्रभावित भइरहेका छन् ।
ग्रीष्मकालीन पाहुना चरा मूलतः वनमा आश्रित हुनु र त्यसै समयमा वनमा हुने डढेलो तथा विनासले गम्भीर सङ्कट उत्पन्न हुने गरेको छ । विभिन्न सिमसार क्षेत्र र वन पर्यावरणको सूचकका रूपमा हेरिने यी आगन्तुक चराको सङ्ख्यामा आएको उल्लेख्य कमीले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको ह्रासको अवस्था जनाउँछ ।
चरा संरक्षण एकल अभियानले सम्भव हुन सक्दैन । यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगोव्यवस्थापन एवं पर्यटन उद्योग र विकाससँगै लैजानु पर्छ । नेपालमा चरा अवलोकन लागि पनि थुपै्र बाह्य पर्यटकको आगमन हुने भएकाले मौसमी प्रवासी चराको संरक्षण तथा बासस्थान व्यवस्थापन गरियो भने निश्चय नै हाम्रो देशलाई चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न सकिनेछ ।
यसका साथै बसाइँसराइ गर्ने चरा एक देशबाट अर्को देशमा जाने आउने गर्ने हुँदा संरक्षणका लागि अन्तरदेशीय सहकार्यको पनि आवश्यकता छ । नेपालमा विद्यमान चराका लागि महìवपूर्ण बासस्थानको नियमित अध्ययन, तथ्याङ्क अध्यावधी तथा क्षेत्र विस्तारका साथै सम्भावित नयाँ क्षेत्रको पहिचान एवम् विस्तृत अध्ययन÷अनुसन्धान र संरक्षणमुखी क्रियाकलापको खाँचो छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना