संस्कृत साहित्यका साधक कुलचन्द्र गौतम

usha thakurप्राज्ञ प्रा.डा. उषा ठाकुर

 


संस्कृत साहित्य विश्वको सर्वाधिक व्यापक साहित्य रहेको कुरा सर्वविदितै छ । सर्वव्यापक विभु ब्रह्मदेखि परमाणुसम्मको विवरण यस संस्कृत साहित्यमा भएकाले साहित्य नितान्त महŒवपूर्ण र उपयोगी रहेको कुरा विश्वमा प्रमाणित भइसकेको छ । अपूर्व जीवनशक्ति र प्रौढ विचारले परिपूर्ण श्रेय र प्रेय उभय शास्त्रहरूलाई आफूमा समाविष्ट गरेको संस्कृत विश्वको प्राचीनतम् र अद्वितीय साहित्य मानिन्छ ।
धर्मग्रन्थका साथै संस्कृत साहित्यमा सम्पूर्ण साहित्यिक विशिष्टता र विज्ञान, ज्योतिष, वैद्यक, स्थापत्य, पशु–पक्षी र कला कौशल सम्बन्धी सम्पूर्णता पूर्ण विलक्षणताका साथ पाइन्छ । लक्षण ग्रन्थहरूको प्रमुखता आफ्नो विद्वतापूर्ण अभिव्यक्तिका साथ यस साहित्यमा समाहित छ । पाश्चात्य विचारक विन्टरनिरजले भनेको निम्न उक्ति अत्यन्त उचित र सार्थक छ– लिटरेचर (साहित्य) आफ्नो व्यापक अर्थमा जे जति सूचित गर्न सक्छ, त्यो संस्कृतमा वर्तमान छ । संस्कृत साहित्यको उत्कृष्टताले गर्दा सयौँ वर्षदेखि जर्मनी, फ्रान्स, इङ्ल्याण्ड, अमेरिका आदि पाश्चात्य देशमा विज्ञहरू संस्कृत वाङ्गमयको अनुशीलन र अनुसन्धानतर्फ लागेका हुन् । संंस्कृत साहित्यको महŒवलाई विश्वमै प्रतिष्ठित गर्नमा तत्पर हुन संस्कृत साहित्यको अविच्छिन्नधारा आठ हजार वर्षदेखि निरन्तर बगिरहेको छ । यसै महŒवपूर्ण र व्यापक समृद्ध साहित्यका विलक्षण प्रतिभाका धनी हुन् विद्वच्छिरोमणि कुलचन्द्र गौतम (वि.स. १९३४–२०१५) ।
नेपाली र संस्कृत साहित्यका देदीप्यमान रत्न पण्डित कुलचन्द्र गौतम बहुमुखी र विलक्षण विद्वता बोकेका अद्भूत साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो । गौतमलाई उहाँको विलक्षण काव्यशास्त्रीय विद्वता हेरेर क्षेमेन्द्र र पण्डितराज जगन्नाथसँग तुलना गरिन्छ । उहाँलाई महाकवि कालिदास, भवभूतिजस्तै नेपाली र संस्कृत साहित्यका महाकवि भनिन्छ । उहाँलाई भारवि र माघजस्तै नीतिवादी आदर्श कवि मानिएको छ । उहाँ कालिदास र भवभूति जस्तै मानवीय हृदयका असल पारखी, कलाको सौन्दर्यवादी मार्ग अवलम्बन गर्ने असल कवि हुनुहुन्थ्यो । कुलचन्द्र गौतमलाई भारतीय विद्वत् समाजले “साहित्यमणि” र “साहित्यभूषण” पदले सम्मानित गरेको थियो । आदर्श महाकविकारूपमा मान्यता प्रदान गर्दै तत्कालीन नेपाल सरकारले पनि उहाँलाई “विद्वच्छिरोमणि” र “प्रबल गोरखा दक्षिणबाहु” बाट सम्मानित गरेको थियो ।
उहाँका प्रकाशित र अप्रकाशित काव्यकृित र फुटकर रचनासमेत गरी तीन दर्जनभन्दा बढी रचना देखिन्छन् । उहाँले व्याकरण, साहित्य, दर्शन, कर्मकाण्ड, कोश, योग, आयुर्वेदलगायत विविध विषयमा आफ्नो कलम सफलतापूर्वक चलाइ संस्कृत र नेपाली दुवै भाषामा विद्वतापूर्ण ग्रन्थ नेपाली समाजलाई प्रदान गर्नुभएको छ । नेपालको संस्कृत साहित्य र नेपाली साहित्यलाई समृद्ध बनाउन उहाँको योगदान अवीस्मरणीय छ ।
साहित्य शास्त्रका विद्वान् भएका कारण उहाँ लक्षणग्रन्थ र लक्ष्य (उदाहरण) ग्रन्थमा सुन्दर संयोजन गर्नमा अत्यन्त सफल हुनुभयो र प्रसिद्धि पनि प्राप्त गर्नुभयो । वाल्मीकि, व्यास र कालिदासको अनुसरण गर्दै कुलचन्द्र गौतमले आफ्ना सुन्दर, कलात्मक, रसपूर्ण कृतिद्वारा जगत्लाई आध्यात्मिक सन्देशले सिञ्चित गर्दै पाठकलाई अपूर्व आनन्दको अभिव्यक्तिद्वारा काव्यसुखलाई प्रवाहित गरेको देखिन्छ ।
एउटा प्रसङ्ग– जर्मनीबाट एउटा संस्कृत श्लोकको अर्थ नलागेर भारतका अनेक विद्वान्कहाँ अर्थ गर्न पठाइएको थियो र उहाँलाई पनि एक प्रति प्राप्त भएछ । उहाँले त्यसको व्याख्या गर्ने सन्दर्भमा रस, भङ्गश्लेष, अभङ्गश्लेष, भङ्गाभङ्गश्लेष, गुण, दोष, अलङ्कार आदि झल्काएर १३ अर्थ गरी पठाउनुभएको थियो । त्यसमा भारतभर मात्र होइन समस्त भूमण्डलमा संस्कृत साहित्यका अद्वितीय विद्वान् भन्ने उपाधि जर्मनीको सरकारबाट उहाँले प्राप्त गर्नुभयो ।
नेपाली भाषा–साहित्यभन्दा संस्कृत साहित्यमा उहाँको प्रतिभा प्रखररूपमा व्यक्त भएको छ । उहाँका संस्कृत काव्यहरूमा भागवतमञ्जरी, गङ्गागौरवम्, आदर्शदम्पती सीतारामा, कृष्णकर्णाभरणम्, प्रपञ्चचर्चा, रामायणबन्दना, प्रेमपञ्चपञ्चाशिका, बन्दनायुगलम् नवरत्नहार आदि उल्लेखनीय छन् ।
नेपाली भाषामा लेखिएका अलङ्कारचन्द्रोदय र राघवालङ्कार विशिष्ट मौलिकता चिनाउने महŒवपूर्ण लक्षण ग्रन्थ हुन् । उहाँको संस्कृत–नेपाली शब्दकोश पनि अत्यन्त उपयोगी र महŒवपूर्ण रहेको छ ।
तुलसीदासकृत रामचरितमानसको नेपाली टीका लेखेर त्यसभित्र संस्कृत वाङ्मयका पक्ष समावेश गरी अत्यन्त महŒवपूर्ण टिप्पणी दिई धार्मिक आदर्शलाई समाजपरक बनाउनमा उहाँले अपूर्ण योगदान दिनुभएको छ । उहाँले व्याकरणको जटिलता र दुर्बोधतालाई सरल गर्दै सहज, सरल र सुबोध ढङ्गले कृष्णकर्णाभरणम् काव्य लेख्नुभएको छ । संस्कृत भाषामा लिखित उहाँको यो कृति पनि उल्लेखनीय रहेको छ ।
नेपालको संस्कृत साहित्य सिर्जना, लक्षणग्रन्थ निर्माण र अनुवाद साहित्य लेखनमा उहाँ विलक्षण प्रतिभाका धनी साहित्यकारको रूपमा प्रस्तुत हुनुभएको छ । “वैद्यवल्लभ” र ‘योगकौमुदी’, उहाँद्वारा लिखित आयुर्वेदीय ग्रन्थहरू हुन् । वैद्यवल्लभमा रोगको परिचय र रोगको निदान काव्यत्मक शैलीमा प्रस्तुत गरिएको छ र योगकौमुदीमा योगहरूको सविस्तार वर्णन गरिएको छ । यो पनि काव्यकलाको दृष्टिले उत्तम र उपयोगी छ । त्यसैगरी “स्वयंवैद्य” जो सुकै व्यक्तिले घरमा पुस्तक राखेर उपचार गर्न सक्ने महŒवपूर्ण आयुर्वेदिक ग्रन्थ हो ।
कालिदासजस्तै कुलचन्द्र गौतम पनि सुन्दर भाव प्रकाशन र प्राञ्जल पद विन्यासमा सफल हुनुहुन्थ्यो । विशिष्ट काव्य–शैली, भावनाको प्राधन्य, ज्ञान तथा भाव, काव्य कला तथा वस्तुनिष्ठता, उदात्त भाषा र रसको अपूर्ण समन्वय उहाँका कृतिहरूमा स्पष्ट देखिन्छ ।
कुलचन्द्र गौतमको शब्दभण्डार विलक्षण छ । उहाँका पद्यहरूमा शब्द र अर्थको मनोहर सामञ्जस्य छ । संवाद अत्यन्त सरल भए पनि सजीव छन् । कल्पनामा उचाइ छ र भावमा गहिराइ । अनुभूतिप्रति इमानदारिता उहाँका कृतिहरूका उल्लेख्य पक्ष हुन् । कुलचन्द्र गौतममा कालिदासको जस्तै सुन्दर उपमा, भारविको जस्तै अर्थगौरव र माघको जस्तै पदलालित्य यी तीनै गुण सहज र विशिष्टरूपमा हेर्न सकिन्छ । उहाँका कृतिहरू रस परिपाकमा पूर्ण रूपेण समुन्नत छन् । अलङ्कार, व्यञ्जना, गुण, रीति, रस आदि उहाँका कृतिमा पूर्ण सौष्ठवका साथ विराजमान छन् । अनुपम काव्य माधुर्यले परिपूर्ण उहाँका कृति अद्भूत छन् । उहाँले प्रयोग गरेका अलङ्कारहरू काव्य–सौन्दर्य बृद्धिमा, भाषाको प्रवाहमा अद्भूत रूपमा सहायक देखिन्छन् । उहाँको बारेमा विद्वान् साहित्यकार डा. ईश्वर वरालको निम्न भनाइ अत्यन्त सार्थक र मननीय छ–
“बेलाबखत नेपालीमा स्वतन्त्र रचना गरेर औ संस्कृत तथा हिन्दीका केही प्रसिद्ध ग्रन्थको नेपालीमा अनुवाद गरेर कुलचन्द्र गौतमले आधुनिक नेपाली साहित्यमा सम्मान योग्य स्थान ओगटेका छन् । ... कुलचन्द्र गौतम संस्कृतका धुरन्धर विद्वान् थिए । लक्षण ग्रन्थका रचयिता पं. कुलचन्द्र आधुनिक नेपाली साहित्यका अग्रदूत भए । ... पद्यमा होस् वा गद्यमा कुलचन्द्रको नेपाली शैली प्रौढ, सुसंहत किंवा संश्लिष्ट, चमत्कारपूर्ण औ अलङ्कृत छ । उनी शास्त्रीवादी थिए । त्यसकारण उनी शैलीकार भए ... कुलचन्द्रको तुलना आङ्गल साहित्यका डा. जन्सन, बङ्गाली साहित्यका बंकिमचन्द्र चट्टोपाध्याय, ईश्वरचन्द्र विद्यासागर, भूदेव मुखोपाध्याय आदि औ हिन्दीका महावीर प्रसाद दिवेदीसित गर्न सकिन्छ । ... उनी शैलीकार थिए र नेपाली भाषालाई प्रसस्त आढ्यता सम्पन्न पार्न शैलीको निर्माण गर्ने मार्गतिर लागे । ” वास्तवमा उहाँका कृतिहरू अत्यन्त समृद्ध र उपादेय रहेका छन् ।
कुलचन्द्र गौतम जस्ता विद्वान् साहित्य साधकका सबै प्रकाशित, अप्रकाशित कृतिहरूको अध्ययन, अनुसन्धान होस् । अप्रकाशित कृतिहरूको प्रकाशन होस् । उहाँका कृतिहरूको विभिन्न भाषामा अनुवाद होस् र यही नै उहाँको आत्माप्रति हाम्रो सच्चा श्रद्धाञ्जलि हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना