• ६ चैत २०८०, मङ्गलबार

नेपाल र क्यानडाको पहिलो खेल रद्द, दोस्रो खेल आज

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २२ गते । नेपाल र क्यानडाबीच मङ्गलबार राति तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने तालिका थियो ।

दोस्रो खेल आज (बुधबार) राति ८:४५ बजे सुरु हुनेछ । नेपालले क्यानडासँग स्टकल्यान्डमा आयोजना हुने आसन्न आईसीसी विश्वकप लिग–२ को तयारीका लागि सिरिज खेलेको हो । यसअघि नेपालले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग पनि एकदिवसीय र टी–२० दुई वटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । 

क्यानडासँगको सिरिज खेलेर नेपाल उतैबाट लिग–२ स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिबियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ ।

स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ ।