• ६ चैत २०८०, मङ्गलबार

मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता

blog

नविनकुमार सुवेदी
सुर्खेत, असार २२ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मङ्गलबार भएको भेटमा सङ्घीयता कार्यान्वयन, सशस्त्र द्वन्द्वका पीडितहरुलाई परिररहेको मानसिक स्वास्थ्यसम्बन्धी असर र कर्णालीको सडक गुरुयोजनालगायतका विषयमा छलफल भएको थियो ।

त्यसैगरी, स्विटजरल्याण्ड सरकारको सहयोगमा कर्णाली प्रदेशमा सञ्चालिन मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा पनि छलफल भएको थियो । स्विटजरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्व पीडितहरुका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा चासो राख्नुभएको थियो । उहाँले द्वन्द्वपीडितहरुको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनिकरणका लागि प्रदेश सरकार अझै गम्भीर हुनुपर्ने सुझाव दिनुभयो ।

भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्व पीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको बताउनुभयो ।

‘‘द्वन्द्वपीडितको सवालमा कर्णाली प्रदेश सरकार गम्भीर छ,’’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘‘राहत, जीवननिर्वाह भत्ता, औषधिपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा हामीले काम गरिरहेका छौं ।’’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको पनि बताउनुभयो ।