• ६ चैत २०८०, मङ्गलबार

मासिएका कुलो पुनस्र्थापनाको पहल

blog

मासिएको कुलो पुरानै अवस्थामा ल्याउन प्रयास गरिँदै । तस्बिर : यादवराज पुरी

रौतहट, असार २१ गते । चक्लाबन्दी एवम् अतिक्रमणको कारण मासिएको वर्षौं पुरानो सार्वजनिक कुलो (स्थानीय भाषामा ‘पैनी’) पहिलेकै अवस्थामा ल्याउन पहल थालिएको छ । चन्द्रपुर नगरपालिकाको ५, ६, ८ र ९ नम्बर वडाका जमिनमा सिँचाइ हुने वर्षौं पुरानो ‘पैनी’ मासिएर पानी सडक तथा घर आँगनमा बग्न थालेपछि स्थानीय जनप्रतिनिधिले पूर्ववत् अवस्थामा ल्याउन पहल थालेका हुन् । 

चाँदी नदी हुँदै बग्ने चुरे क्षेत्रको पानीले सिँचाइ गर्न बनाएका परम्परागत कुलो चक्लाबन्दी एवम् सँधियारको अतिक्रमणबाट मासिएका छन् । पानी सडक र घर आँगन हुँदै बग्न थालेपछि गत वर्ष वर्षा याममा डुबानको समस्या देखाप¥यो । उक्त समस्यालाई दृष्टिगत गरी सम्बन्धित वडाका अध्यक्षले मासिएका सार्वजनिक परम्परागत कुलो पूर्ववत् अवस्थामा ल्याउन सक्रिय भएका हुन् । 

भूमि व्यवसायीले मनोमानी चक्लाबन्दी गर्दा र कुलोको साँध भएका किसानले जमिनको क्षेत्रफल बढाउन बर्सेनि पुर्ने गरेकाले कुलो मासिएको वडा नम्बर ६ का अध्यक्ष सहदेव केसीको भनाइ छ । भूमि व्यवसायी र कुलो सँधियारका अवरोध झेल्दै मासिएको कुलो जसरी भए पनि पूर्वस्थितिमा ल्याउने प्रतिबद्धता जनाउँदै उहाँले सोहीबमोजिम चन्द्रपुर नगरपालिका–६, झनझनी टोलमा २०२० सालको नापीले देखाएको नक्साबमोजिम कुलो पुनस्र्थापना गर्न अग्रसर भएको बताउनुभयो । 

कुलो पुनस्र्थापना भएपछि डुबानको समस्या नहुने भन्दै खुसी भएका स्थानीयले उक्त कार्यको प्रशंसा गरेका छन् । पालिकाको वडा नम्बर ७ का किसान जयदेव चौधरीले कुलो मासिँदा बोरिङ, पम्पसेटलगायतका उपकरणको प्रयोग गरी भूमिगत पानीले सिँचाइ गर्नुपर्ने अवस्था रहेको बताउँदै मासिएको कुलो पुनस्र्थापनाले सिँचाइ सुविधा सहज बनाएकोमा खुसी व्यक्त गर्नुभयो ।  

नापी कार्यालय चन्द्रपुरका प्रमुख सविक विकले नक्सामा ‘पैनी’ कायम रहँदारहँदै पनि विविध कारणले कुलो मासिँदै गएको गुनासो आएको बताउनुभयो । नगरपालिकाले मासिएको कुलोबारे नक्सा यकिन गर्न पत्राचार गरेमा नापी कार्यालय सोको कार्यान्वयन गर्न जति बेला पनि तयार रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाभित्र नक्सा कायम भएको करिब एक सयभन्दा बढी सार्वजनिक कुलो मासिएको नापीले जनाएको छ । यस विषयमा नगरप्रमुख सञ्जय काफ्ले भन्नुहुन्छ, “विगतमा के भए के भएनन् तर आफ्नो कार्यकालमा मासिएको सार्वजनिक कुलो पूर्वअवस्थामा ल्याउने र बाँकी रहेका कुलो कुलेसोको सफाइ तथा मर्मत गरी संरक्षण गरिने छ ।” 

Author

यादवराज पुरी