• ६ चैत २०८०, मङ्गलबार

कर्साघाटमा पुल निर्माण

blog

कर्साघाट (दानव नदी) पुल उद्घाटन गर्नुहुँदै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिर : छविलाल पाण्डे

बुटवल, असार २१ गते । बुटवल उपमहानगरपालिका–१५ र सैनामैना नगरपालिका–१ जोड्ने गरी १२७ मिटर लामो कर्साघाट (दानव नदी) पुल निर्माण सम्पन्न भएको छ । करिब ११ मिटर चौडाइको सो पुल तीनवटा स्ल्याबमा पाइल फाउन्डेसन प्रविधिमा निर्माण गरिएको हो । सङ्घीय सरकारको लगानीमा २०७४ साल असार २९ गते निर्माण सुरु भएको थियो । यो पुल कोरोना महामारीको प्रभावका कारण २०७८ साल पुस ३० गते पुनः म्याद थप गरी निर्माण गरिएको हो । 

कुल १६ करोड ६० लाख लागत अनुमान गरिएको सो पुल निर्माणका लागि अर्घाखाँची÷बबुल जेभीले १३ करोड ९० लाख ३६ हजार ८०९ रुपियाँमा ठेक्का लिएको थियो । पुल निर्माणपछि बुटवलको तामनगर, सेमलार, नारायणपुर, बैठौलिया र सैनामैनाको बनकटवा, पर्रोहा डाँडा, परौता, सिसईलगायतका क्षेत्रमा आवतजावत सहज हुनेछ । 

सो पुलको पूर्वअर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । विकास निर्माणका काममा कुनै पनि राजनीतिक स्वार्थ देखिन नहुने बताउँदै पूर्वअर्थमन्त्री पौडेलले भन्नुभयो, “विकास निर्माणमा सबैको दायित्व जोडिएको हुन्छ ।” 

उहाँले विकास निर्माणका लागि कुनै राजनीतिक दलभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । तिनाउ–दानव नदी कोरिडोरको विषयमा जनतामा भ्रम उत्पन्न गर्ने काम भएको चर्चा गर्दै उहाँले उक्त कोरिडोर निर्माणमा अवरोध भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । सो विषयमा सञ्चारकर्मीलाई समेत सत्य र स्पष्ट सूचना सम्प्रेषण गरी सहयोग गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “रुपन्देहीमा विकास निर्माणका धेरै काम भएका छन् ।

यो जिल्ला विकासको मोडेल पनि हो । कोही कसैलाई विकासको मोडेल हेर्न मन छ भने रुपन्देही आए हुन्छ ।” भैरहवास्थित गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको कामको पूरा तयारी भइसकेकाले बुटवलको तिनाउमा सिग्नेचर पुल र बुटवलदेखि गोरुसिङेसम्मको सडक चौडा बन्ने तयारीमा रहेको जानकारी पनि उहाँले दिनुभयो ।