• ६ चैत २०८०, मङ्गलबार

म्याग्दीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

पदक बिजेता उसुका खेलाडीहरु । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २० गते । हिमाली जिल्ला म्याग्दीको बेनीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेल समावेश गरिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलमा अनुशासन पूर्वक प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । थापाले जिल्ला हुँदै प्रदेशमा जित्दै राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा समेत म्याग्दीका खेलाडीले पदक ल्याउनुपर्ने धारणा राख्नुभयो । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खेलकुदले शारिरीक तथा मानसिक रुपमा पनि मानिसलाई स्वस्थ बनाउने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले खेलाडीले देशको प्रतिनिधित्व गर्दै विश्वमा आफ्नो मुलुक चिनाउने भएकाले अनुशासित भएर खेल कौशल प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । 

रानाले राज्यले गरेको व्यवस्था र स्राेत साधनलाई भरपुर प्रयोग गरेर आफ्नो प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने बताउनुभयो । सहभागी खेलाडीले ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका अनुसार कबड्डी, भलिबल, एथ्लेटिक्सतर्फ ट्रयाकमा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर, चार गुणा एक सय मिटर र चार गुणा चार सय मिटर हुनेछ । 

प्रतियोगिताको पहिलो दिन मार्सल आर्टको उसु, तेक्वान्दो, कराते खेल सकिएको छ । मार्सल आर्ट विधाका तीन खेलबाट १८ स्वर्णपदकको टुङ्गो लागिसकेको छ । एथलेटिक्स, कबड्डी र भलिबल खेल जारी छ ।