• ६ चैत २०८०, मङ्गलबार

एसपीपी सहमति मैले गरेको होइन : अध्यक्ष ओली

blog

नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुँदै । तस्विर : केशव गुरुङ

लक्की चौधरी

काठमाडौं, असार २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू प्रधानमन्त्री भएका बेला नपठाइएको बताउनुभएको छ । आफूले पठाएको कुनै प्रमाण भए पेश गर्न उहाँले सत्ता गठबन्धनका नेताहरुलाई चुनौती दिनुभयो । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्नुहुँदै अध्यक्ष ओलीले सो चुनौति दिनुभएको हो । यसअघि आफू प्रधानमन्त्री भएका बेला त्यो सहमति भएको भन्ने आरोप सत्तापक्ष दलका नेताहरुले निरन्तर लगाउनुभएपछि अध्यक्ष ओलीले आफूले सो विषय बोल्नुपरेको बताउनुभएको छ । सो बारेमा संसद् बैठकलाई जानकारी गराउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“कुन कुन प्रधानमन्त्री, को को रक्षामन्त्रीले निर्णय गरेका हुन् ? सत्थ्यतथ्य कुरा बाहिर ल्याउन म आग्रह गर्दछु” उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्दै भन्नुभयो, “यस विषयको सत्यतथ्य कुरा सदनलाई जानकारी गराउनुपर्छ, प्रधानमन्त्रीज्यूले त्यो काम गर्नुहोला ।” 

आ.व.२०७९/८० बजेट जनतालाई मार्का पारेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले बजेट तयारी प्रक्रिया नै मूल्यमान्यता विपरीत रहेको दावी गर्नुभयो । अर्थविद, विज्ञ, प्रतिपक्षीदल र नागरिकले बजेटबारे आलोचना गरिरहँदा पनि सरकारले जिम्मेवारीपूर्वक नलिएको उहाँले टिप्पणी गर्नुभयो । संसद्को सबैभन्दा प्रमुख दल, प्रमुख प्रतिपक्षी दलले संसदमा सीसीटिभीको फुटेज देखाउन माग गर्दासमेत सरकारले आलटाल गरेको उहाँले  बताउनुभयो । फुटेज नै गायब गर्ने काम भएको उहाँले टिप्पणी गर्नुभयो ।

जनताको समस्याप्रति अरु दलका सांसदलाई रुचि नरहेको बताउनुहुँदे अध्यक्ष ओलीले संसद् बैठकमा उपस्थितिले पनि त्यो देखाउने चर्चा गर्नुभयो । एमालेका सांसद बैठकमा अनुपस्थित रहने हो भने बैठकको कोरमसमेत नपुग्ने अवस्था रहेको उहाँले टिप्पणी गर्नुभयो । बजेटको विषय ज्यादै गम्भीर विषय भए पनि सरकारले हेलचेक्र्याइँ गरिरहेको उहाँले आरोप लगाउनुभयो । 

सीसीटीभी किन गायब गरियो ?

बजेटबारेको सीसीटीभीको फुटेज माग गर्दासमेत सरकारले उपलब्ध गराउन नसक्नु विडम्बना भएको उहाँले बताउनुभयो । किन उपलब्ध गराउन सकिएको छैन ? आर्थिक अनुशासनहीनताको यो लज्जाजनक अवस्था हो । छानबिन समिति बनाएर यसबारे छानबिन गरिनुपर्छ । निष्पक्ष समिति बनाएर छानबिन गरेर प्रतिवेदन सदनमा पेश गरिनुपर्छ उहाँले भन्नुभयो । 

“को हो एमाले भनेर प्रश्न गर्ने ? यसको सही सत्यतथ्य जवाफ दिइनुपर्छ” अध्यक्ष ओलीले थप्नुभयो, “संसदीय व्यवस्थामा को हो प्रतिपक्षी दल भनेर सोध्ने ?, तपाईहरुलाई त्यो पनि जानकारी छैन ? सीसीटिभीको फुटेज डिलिट गर्न पाइन्छ ?” उहाँले जिज्ञासा गर्नुभयो । आफूमाथि लागेको आरोप प्रष्ट पार्ने मन्त्रीको कर्तव्य हुन्छ उहाँले भन्नुभयो । 

प्रधानमन्त्री देउवा गठबन्धन दलको अगाडि लाचार हुनुभएको उहाँले टिप्पणी गर्नुभयो । गठबन्धन जोगाउन जे पनि गर्न पाइँदैन अध्यक्ष ओलीले थप्नुभयो, “बिचौलिया मान्छे राखेर देशको बजेट बनाउने विषय तमासा नभएर के हो त यो ?” त्यसको छानबिन गर्न उहाँले माग गर्नुभयो । मन्त्री पदमा रहँदा जे पनि गर्न छुट नरहेको उहाँले बताउनुभयो । मन्त्री र सरकार जनताप्रति जवाफदेही हुनैपर्छ उहाँले बताउनुभयो ।