विपन्न परिवारलाई जीविकोपार्जनका लागि रकम हस्तान्तरण

फलेवास (पर्वत), मङ्सिर २३ गते । सामुदायिक वनमा आधारित उद्यममार्फत जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले यहाँको एक विकट गाउँका परिवारलाई रकम अनुदान दिइएको छ । उत्तरी पर्वतको माझफाँट गाविसको फेदी सौरेनी सामुदायिक वन उपभोक्ता समूहका विपन्न परिवारलाई रकम हस्तान्तरण गरिएको हो । बहुसरोकारवाला वन कार्यक्रम, लि वर्डको सहयोग र सामुदायिक वन उपभोक्ता महासङ्घ पर्वतमार्फत रु तीन लाख अनुदान दिइएको हो ।

अनुदानका रुपमा प्राप्त भएको रकमलाई समूहमार्फत स्थानीय उपभोक्ताको जीविकोपार्जनमा लगानी गर्ने भएका छन् । उनीहरुको आयआर्जनमा सहयोग पु¥याउनका लागि समूहका २० जना सदस्यलाई रु १५ हजारका दरले रकम हस्तान्तरण गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ पर्वतका कार्यक्रम अधिकृत गणेश पौडेलले जानकारी दिनुभयो ।

समूहले दिएको रकमबाट स्थानीय उपभोक्ताले बाख्रापालन, कुखुरापालन र तरकारी खेती लगायतका व्यवसाय सुरु गर्ने भएका छन् । कतिपय उपभोक्ताहरुले पहिलेदेखि नै व्यवसाय गर्दै आएको र उक्त रकम थप लगानीका लागि उपयोग गर्ने पौडेलले जानकरारी दिनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा इलाका वन कार्यालय फर्सेका सहायक वन अधिकृत गोविन्द पौडेलले सामुदायिक वनमा आधारित उद्यमले विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउन सफल हुने भएकाले सबैलाई उपयुक्त व्यावसाय छनौट गरी लगानी गर्न आग्रह गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना