• ६ चैत २०८०, मङ्गलबार

चुलोचौको सकेपछि काठको बुट्टामा

blog

काठमाडौँ, असार २० गते  । ललितपुर महानगरपालिका बुङ्मती मच्छिन्द्रबहालका गल्ली, टोलमा छिर्दा निरन्तर रूपमा ज्यावल चलाएको टक्, टक् र टुक् टुक् गरेको आवाज सुनिन्छ । त्यस्तो आवाजसँगै नजिकै रेडियो बज्दै गरेको र महिलाको छेउमा ससाना बच्चा लडीबुडी खेलिरहेको दृश्य देखिन्छ । 

यहाँका अधिकांश महिला हुन् कि पुरुष काठमा बुट्टा कुँद्ने काममा व्यस्त देखिन्छन् । उनीहरू प्रायजसो झ्याल, ढोका, टुँडालमा बुट्टा कुँद्ने काममा व्यस्त हुन्छन् । यो क्षेत्रका महिलाको दैनिकी नै घरधन्दाको काम सकेर ज्यावल चलाउने हो । जसले गर्दा उनीहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन् । आफूसँग भएको सीप, जाँगरको सदुपयोग भइरहँदा निकै खुसी पनि देखिन्छन् ।  

यहाँका महिला पुरुषभन्दा कम छैनन् । प्रायः सबै घरमा पुरुष सदस्यसँगै महिला पनि आफ्नो हातको सीप काठलाई कलात्मक बनाउन ज्यावल चलाइरहेको भेटिन्छन् । स्थानीय मनदेवी शाक्य, रमिता तुलाधर, प्रमिला शाक्य, सुनिता शाक्य र सूर्यतारा शाक्यलगायतका महिलाले आफूलाई यस काममा पुरुष जस्तै अब्बल साबित गर्दै आउनुभयो ।

रातो मच्छिन्द्र गृहश्रमिक महिला सीपमूलक सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहनुभएका मनदेवी शाक्यले हाल बुङ्मती मच्छिन्द्रबहालमा मात्रै २५ जना महिला काठमा बुट्टामा तल्लिन रहेको बताउनुभयो । उहाँका अनुसार कतिपय महिलाले काठमा खाक्सी, रङ लगाउने काममा समेत सघाउने गरेका छन् । उहाँले भन्नुभयो, ‘‘करिब १३ वर्षदेखि भने मागअनुसारको काठमा बुट्टा बनाउने गरेको छु । मसँगै जेठानी, देउरानी, छिमेकी दिदीबहिनी पनि जोडिन आउनुभएको छ ।’’ 

खेतीपाती र घरधन्दाबाट बचेको समयमा महिलाले आफ्नो सीप प्रयोग गरेर काम गरेको देख्दा मिहिनेती महिला भन्दै समाजमा हेर्ने दृष्टिमा परिवर्तन आएको अध्यक्ष शाक्यले  अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्थानीय समुदायमा महिलाको प्रतिष्ठा र सम्मानमा  कमी त थिएन । बुट्टा कुँद्ने सीपका कारण सानोतिनो कामका लागि पनि घरपरिवारका सदस्यसँग हात फैलाउनुपर्ने बाध्यताको अन्त्य भएको र महिलालाई आफैँमाथि बढी आत्मविश्वास जाग्न थालेको छ ।’   

भूकम्पपछि घर, मन्दिर, पाटीपौवालगायतका थुपै्र भौतिक संरचनामा पुनर्निर्माण गर्दा काठमा बुट्टा कुँद्ने कामको बढी माग आउन थालेको हो । यहाँका महिला तथा पुरुषले भूकम्पपछिको समयमा काममा भ्याई नभ्याई भएको छ । पारिवारिक वातावरणमा बसेर घरमै काम गर्दा पनि मासिक राम्रै आम्दानी हुने गरेको अनुभव शाक्यले सुनाउनुभयो ।  

यहाँका महिलाले अचेल मासिक दुई सय रुपियाँ अनिवार्य रूपमा सहकारीमा जम्मा गर्ने गरेका छन् । गृहश्रमिक सरोकार समाज नेपालका कार्यक्रम संयोजक ज्योती शाक्यले भन्नुभयो, ‘परिवारको हेरचाहसँगै मासिक थोरै रकम भए पनि जम्मा गर्न सक्ने क्षमता यहाँका महिलामा देखिएको छ । महिनामा कम्तीमा दुई सय रुपियाँ जम्मा गर्नाले यहाँका महिलामा बचत गर्ने बानीको विकास पनि हुँदै गएको छ ।’

Author

शिवा तामाङ