• ६ चैत २०८०, मङ्गलबार

विश्वका समस्या हल गर्न समान धारणा बन्यो : सभामुख सापकोटा

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर : सौजन्य श्रीधर न्यौपाने

काठमाडौं, असार १९ गते। संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रका बीचमा समान धारणा बनेको बताउनु भएको छ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो।

  उहाँले संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रका सभामुखको सम्मेलनमा भू–राजनीतिक तनाव, हतियारको दौड, सैन्य खर्च वृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दी र मानवीय संकट लगायतको समस्या असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको  बताउनुभएको हो।

असार १६ र १७ गते बाकुमा सम्पन्न सम्मेलनले असंलग्न राष्ट्रका सभामुख बीचमा सौहार्द सम्बन्ध एवं एकता कायम भएको जानकारीसमेत सभामुख सापकोटाले गराउनुभयो। 

सञ्जाललाई संगठनमा रुपान्तरित गर्नुपर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्ने गरी बुलन्द गर्नुपर्ने विषयमा बहस भएको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘‘हामीले नेपालबाट सोचेर गएको विषय र नाम राष्ट्रका बीचमा समान धारणा रहेको पायौं, हामीले सम्मेलनमा राखेको राष्ट्रको दृष्टिकोणमा पनि असंलग्नताको सिद्धान्तको सान्दर्भिकता र अपरिहार्यता अझ बढेर गएको छ।’’

उहाँले नेपाली प्रतिनिधि मण्डलका तर्फबाट सम्मेलनको मुख्य कार्यक्रममा सहभागिता र सम्बोधनबाहेक दुई पक्षीय भेटवार्ता र छलफल भएको जानकारी दिनुभयो। 

आठ लाख नेपाली रोजगारीमा रहेको मलेसियामा नेपालीको स्थिति, उनीहरुका सेवा सुविधाको सम्बन्धमा ध्यानाकर्षण गराउन छलफल मलेसियासँग छलफल भएको उहाँको भनाइ छ। 


बंगलादेश, जोर्डन, किर्गिजस्थान, मोरक्को, बहराइन, यमन, अल्जेरिया र बुरुण्डीका प्रतिनिधिसँग छलफल भएको सभामुख सापकोटाले जानकारी दिनुभयो।  

सभामुख सापकोटाको नेतृत्वमा असार १४ गते अजरबैजानको बाकु प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार साँझ स्वदेश फर्किएको हो। प्रतिनिधि मण्डलमा सांसद पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी हुनुहुन्थ्यो।