• ६ चैत २०८०, मङ्गलबार

२४ घण्टामा ५३ जनामा कोरोना पुष्टि

उपत्यकामा बढ्दै कोरोना संक्रमण : नयाँ भेरियन्टको आशंका

blog

डा. केदारप्रसाद बराल, डा. शेरबहादुर पुन र डा. चुमनलाल दास । फाइल तस्बिर

काठमाडौं, असार १९ गते। पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार असार १ गते एक प्रतिशतभन्दा कम भएको सङ्क्रमणदर असार ५ बाट बढेर २ प्रतिशतको हारहारीमा पुगेको थियो।

 मन्त्रालयको तथ्याङ्क केलाउँदा असार १ गते ०.६४ प्रतिशत, असार ५ गते बढेर १.१३ प्रतिशत थियो। असार १९ गते आइतबार दुई हजार १२० जनाको आरटी पीसीआर र एन्टिजेनबाट परीक्षण गर्दा  ५३ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्क्रमणदर २.५ प्रतिशत हो। 

सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा १८ जना छन्। त्यसैगरी, ललितपुरमा सात, धनुषामा तीन, भक्तपुरमा दुई, कास्कीमा दुई, सर्लाही, काभे्र, चितावन, सिन्धुपाल्चोक, स्याङ्जा, बाँके र कैलालीमा एक–एकजनामा कोरोना पुष्टि भएको छ। 

उमेरअनुसार २१ देखि ३० वर्षका १०, ४१ देखि ५० वर्षका ९, ३१ देखि ४० का ५, १० वर्षसम्मका २, ११ देखि २० एक, ५१ देखि ६० वर्षका ४ र ६१ देखि ७० का दुई जनामा कोरोना पुष्टि भएको छ। 

असार १ गतेदेखि १९ गतेसम्म एन्टिजेन र पीसीआर परीक्षण गर्दा  ६८४ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा २८४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यस अवधिमा कोरोना सङ्क्रमित कसै पनि मृत्यु भएको छैन।

सङ्क्रमण दर बढ्नुको कारण 

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन नेपालमा पुष्टि भएका भेरियन्टभन्दा अलग भेरियन्टको कारणले गर्दा नेपालमा सङ्क्रमणदर बढ्नेको हुनसक्ने बताउनुहुन्छ। चिकित्सकका अनुसार खोप लगाउँदैमा रोग नलाग्ने होइन, खोप लगाएकालाई सङ्क्रमण भए पनि त्यसबाट हुने जोखिम कम हुनुका साथै मृत्युदर घटाउँछ। कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरु बीए फोर र बीए फाइभका कारण छिमेकी देश भारत लगायत अन्य मुलुकमा सङ्क्रमणदर बढ्दो क्रममा रहेको छ। 

भारतमा खुला सीमा र अन्य देशमा पनि मानिसको आवजजावत बढेकोले सोही भेरियन्ट त देखिएको होइन भनेर धेरैले आशंका गरेका छन्।  सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पनले नेपालमा पुष्टि भएका भेरिएन्ट भन्दा अलग भेरिएन्टको कारणले गर्दा नेपालमा सङ्क्रमणदर बढ्नेको हुनसक्ने बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, “भारतलगायत अन्य देशमा पनि ओमिक्रोनको नयाँ प्रजाति बीए फोर बीए फाइभको सङ्क्रमण फैलिएको छ। नेपालमा विदेशबाट आउने सङ्ख्या पनि बढ्दो र खुला सीमाका कारण नेपालमा पनि यो प्रजाति फैलिएर सङ्क्रमण दर बढ्एको हो कि भन्ने शङ्का लागेको छ।” 

यो भेरियन्ट नेपालमा देखिएको भए पनि दोस्रो र तेस्रो लहरमा जस्तै अवस्था नआउने डा.पुनको भनाइ छ। डा.पुन भन्नुहुन्छ, “सङ्क्रमणदर बढे पनि यसले खासै अस्पतालमा भर्नादर र मृत्युदर निकै कम विदेशमा फैलिएको तथ्याङ्कले देखाएको छ। यदि नेपालमा सोही भाइरस फैलिहाल्यो भने पनि धेरै जनाले  खोप लगाइसकेकाले पहिलाको जस्तो आउँदैन।’’ 

अध्ययनहरुले कोरोना विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरको एन्टिबडी विस्तारै कम हुँदै जाने देखाएको छ। 

बढ्नुको कारण अध्ययन हुनुपर्छ : डा. बराल

जनस्वास्थ्यविद् डा. केदार बरालले कोरोनाविरुद्धको खोपले काम गर्न छोड्दै गएकाले नेपालमा सङ्क्रमणदर बढ्दै गएको हुनसक्ने बताउनुहुन्छ।   अस्पतालमा भर्ना कस्ता खाले बिरामी भर्ना भएका छन् त्यसको विषयमा अध्ययन भएपछि मात्र नेपालमा सङ्क्रमणदर किन बढ्यो भन्ने कुरा यकिनका साथ भन्न सकिने डा.बरालको तर्क छ।  

उहाँ भन्नुहुन्छ, “अस्पतालमा तथा आइसियुमा कस्तो खालको बिरामी भर्ना भएका छन्। दीर्घरोगी हुन् कि, खोप लगाएका छन् कि छैनन्, यदि लगाएका छन् भने एउटा मात्र लगाएका छन् कि दुई लगाएका छन् वा बुस्टर लगाएका छन् कि छैनन् भनेर अध्ययन गरिसकेपछि मात्रै नेपालमा किन सङ्क्रमणदर बढ्दै गएको छ भन्ने कुर एकिनका साथ भन्न सकिन्छ।” 

नयाँ भेरियन्टको परीक्षण हुँदैछ : डा. दास 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका निर्देशक डा.चुमनलाल दासले कोभिडको जोखिम कम भइनसकेको अवस्थामा जनस्वास्थ्यका मापदण्ड अपनाउनमा हेलचेक्रयाइँ गर्दा र खुला सीमा नाकामा मानिसको आवतजावतले गर्दा नेपालमा सङ्क्रमणदर बढेको बताउनुहुन्छ। 

नेपालमा सङ्क्रमणदर बढेसँगै नेपाल भित्रिने नाकाहरुमा कडा निगरानी गर्नुका साथै परीक्षण गरेमात्र नेपाल भित्रने व्यवस्था मिलाउन निर्देशन दिइसकेको डा.दासले भन्नुभयो। यसका साथै नेपालमा फैलिरहेको भेरिएन्ट कुन हो भनेर पत्ता लगाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ (अनुवांशिक) गरेको जानकारी दिनुभयो। जीन सिक्वेन्सिङ गर्दा अहिलेसम्म नयाँ भेरिएन्ट पत्ता नलागेको डा.दासले उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ अहिलेसम्म नयाँ भेरिएन्ट भेटिएको छैन, तर उपत्यका बाहिरका  प्रयोगशालामा भने ओमिक्रोनको नयाँ भेएिन्ट बीएन फाइभ पुष्टि भएको भन्ने समाचार आएका छन् हामीले पुष्टि गर्दैछौँ।” 

सङ्क्रमितको सङ्ख्या कति पुग्यो ?

नेपालमा कोरोना सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ११ लाख २० हजार ३१४ जनामा कोरोना पुष्टि भइसकेको छ।  जसमध्ये नौ लाख ६७ हजार ५१६ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार  ९५२ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ३३३ जना रहेका छन्। सङ्क्रमितमध्ये ३२९ जना होम आइसोलेसन, संस्थागत आइसोलेसनमा चार र आईसीयुमा चार  र एकजना भेन्टिलेटरमा उपचाररत छन्। 

सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन्। काठमाडौंमा १७२, ललितपुरमा ३३,भक्तपुरमा १० जना सक्रिय सङ्क्रमित छन्। विश्वमा कोरोनाको सङ्क्रमितको जोखिम कम भइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।