भकारी रित्तिँदा स्थानीयवासी धमाधम भारत जाँदै

बाजुरा, मङ्सिर २२ गते । बाजुरा जिल्लाको गोत्री– २ का नन्द कडारा आफूले लगाएको अन्नबाली खडेरीका कारण नष्ट भएपछि कामका लागि भारत हिँडेका छन् । लगाएको धानबालीबाट केही महिना खान पुग्ला भन्ने आशमा थिएँ । तर खडेरीले अन्नबाली सुकाएपछि भकारी रित्तियो खानलाई केही छैन अब कामका लागि भारत जाँदैछु । बर्खे बाली खडेरीले केही उत्पादन भएन हिउँदे बाली लगाउन नपाउँदा खाद्य सङ्कट हुने भएपछि भारत जानुपरेको उनले बताए ।

त्यस्तै मुगु श्रीकोट–२ रोल गाउँका गोकर्ण शाही पनि कामका लागि भारतको सिम्ले पहाडतिर लागेका छन् । लगाएको कोदोबाली र धानबाली खडेरीका कारण सुकेपछि परिवार पाल्नका लागि भारत हिँडेको बताए । सातजना परिवारलाई लगाएको बालीबाट छ महिना खान पुग्ने गरेको थियो, खडेरीले बाली सुकेपछि घरमा छाक टार्न कुनै जोहो नभएपछि भारत हिँडेको गोकर्णले बताए ।

लगातारको खडेरीका कारण पानी नपर्दा खेतीयोग्य जमिन बाँझै रहेका छन् । खडेरीका कारण बाजुरा, अछाम, बझाङ, मुगु र हुम्ला गाविसमा बर्खे बाली सुकेको थियो भने हिउँदे बाली लगाउन नपाएको स्थानीयवासीले बताएका छन्

बाजुराको पूर्वोत्तर कोल्टी क्षेत्रमा भयानक खडेरीले जगन्नाथ, साप्पाटा, जुकोट, वाई, गोत्रीलगायतका ११ गाविसमा बर्खे बालीबाट पनि उत्पादन नभएपछि कामका लागि भारत हिँडेका छन् ।

जिल्ला कृषि विकास कार्यालय बाजुराका अनुसार जिल्लामा बर्खे बालीमा ६० प्रतिशतभन्दा बढी बालीमा क्षति पु¥याएको छ । खडेरीले अन्नबालीमा क्षति पु¥याएपछि गाउँका सबै युवा भारततिर लागेका छन् ।

कामका लागि सबै युवा भारत गएपछि गाउँ नै सुनसान भएको मुगुका रमेश बानियाले बताए । त्यसै त कृषिबाट परिवार पाल्न तीन महिना पनि खान पुग्दैन थियो, त्यसैमा खडेरीले सखाप पारेपछि भारतको मायापुरीमा चौकीदारी गर्न जान लागेको प्रेम कुमालले बताएका छन् । “गाउँमा बसेर परिवार पाल्न सकिँदैन । काम गराँै भने पनि कुनै उद्योग धन्दा छैन, अन्य कुनै उपाय छैन । अनि बाध्य भएर नोकरी गर्न भारत गएको कुमालले भने ।” उनका पाँचजना परिवार रहेका छन् ।

खडेरीले अन्नबाली सुकेका यी क्षेत्रमा सधैँ खाद्य सङ्कटको मार खेपिरहने गरेका छन् । त्यसै त चरम खाद्य सङ्कट हुन्थ्यो, अब झनै हुने कृषि विकास कार्यालयले जनाएको छ ।

अन्नबाली सबै सुके, अब चामल किन्नका लागि भए पनि पुरुष भारत जानुपरेको स्थानीयवासी भाना थापाले बताइन् । उनले थपिन् – “अब हिउँदका महिनामा पुरुष गाउँमा बस्दैनन् । गाउँ नै सुनसान हुन्छन् ।”

बाजुराबाट धनगढी, महेन्द्रनगर जाने बस यतिबेला युवाले खचाखच भरिने गरेका छन् । बसमा सिटसमेत पाउन गाह्रो भएको तिपाडा काउन्टरका रमेश रावलले बताए ।

बसमा अधिकांश भारत नोकरी गर्न जाने गरेको पाइन्छ । अरु मुलुकजस्तो राहदानी नचाइने भएकाले पनि भारततिर युवा बढी मात्रामा जाने गरेका छन् । “विदेश जाने रहर त कसलाई हुन्थ्यो । हाम्रो देशमा नोकरी गरौँ भने कलकारखाना र उद्योग छैनन् ।

खेतीपातीबाट पनि उपलब्धि हुँदैन अनि बाध्य भएर पनि भारत जाने गरेको सुरत थापाको भनाइ छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना