आत्मनिर्भर अर्थतन्त्रको बाटो

Premal kumar khanalप्रेमलकुमार खनाल

नेपालमा जारी भएको नयाँ संविधानप्रति विश्वका प्रायः देशबाट बधाई र शुभकामना सन्देश प्राप्त भयो तर छिमेकी मुलुक भारत सरकारले बधाई तथा शुभकामनाको सन्देश दिनुको सट्टा संविधानप्रति असहमति रहेको प्रतिक्रिया दियो । भारत सरकारले असहमतिमा मात्र आफ्ना व्यवहार सीमित राखेन मधेसी मोर्चाले थालनी गरेको आन्दोलनलाई सहयोग पु¥याउन सीमा नाकामा समान ओसारपसारमा नाकाबन्दी नै लगाउने कार्य गरेको छ ।
मानवता विरुद्धको नाकाबन्दी
भारतले लगाएको नाकाबन्दीले नेपाली जनजीवन र अर्थतन्त्र चौपट्ट बनेको छ । खासगरी भारत सरकारले पेट्रोलियम पदार्थको ओसारपसारमा लगाएको नाकाबन्दीले देशभित्र पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभावमा सवारी साधन राम्रोसँग सञ्चालन नहुँदा उत्पादनका लागि कच्चा पदार्थको अभाव भई उत्पादन र वितरणमा समस्या सिर्जना भएको छ । सर्वत्र उद्योगधन्दा ठप्प भएका छन् । दैनिक रोजगारीबाट जीवन गुजारा चलाउने लाखाँै श्रमिकको जीवनयापन कष्टकर भएको छ ।
यतिखेर खाना पकाउने ग्यासको अभाव हुँदा झन् कठिनाइ भोग्नुपरेको छ । भारत सरकारले पेट्रोलियम पदार्थ मात्रै होइन औषधि आयातमा समेत रोक लगाएकाले अस्पताल र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । देशमा सञ्चालित ४२ वटा औषधि उत्पादन गर्ने उद्योग पेट्रोलियम पदार्थ र कच्चा पदार्थको अभावमा बन्द हुन थालेका छन् । यसैले भारतले लगाएको नाकाबन्दी मानवताविरुद्ध हुन पुगेको छ ।
चौपट्ट अर्थतन्त्र
नेपालको अर्थतन्त्रमा राजस्व सङ्कलनका प्रमुख स्रोतका रूपमा रहेको भन्सार राजस्वमा समेत नाकाबन्दीका कारण प्रभाव परी लक्ष्यअनुरूप राजस्व सङ्कलनमा समेत कमी आएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेका विकासका पूर्वाधार र आवासीय घर निर्माणमा समेत निर्माण सामग्रीको अभावले प्रतिकूल अभाव पारेको छ । भूकम्पका कारण करिब आठ खर्ब रुपियाँ बराबरको क्षति हुन पुगेको कहाली लाग्दो अवस्था झेलिरहेको नेपाललाई नाकाबन्दीले प्रत्यक्ष÷अप्रत्यक्षरूपमा थप खर्बाैं रुपियाँ बराबरको नोक्सानी हुन पुगेको छ ।
भारतीय नाकाबन्दीका कारण उपभोग्य वस्तुको आपूर्तिमा कमी हुन थालेपछि आकासिन थालेको महँगीले डरलाग्दो मुद्रास्फिति उत्पन्न हुन थालेको छ । युगौंदेखि नेपाल भारतबीचको सामाजिक एवं सांस्कृतिक सम्बन्ध, एउटै परिवारका रूपमा स्थापित रहेको छ । छिमेकी हुनुको नाताले भारतले नेपालसँग बन्धुत्वको सम्बन्ध कायम गर्नुपर्नेमा विगतमा पनि पटकपटक यसरी नाकाबन्दी लगाउने कार्य गरेको छ । भारतले वि.सं. २०२०, २०४६ मा पनि नाकाबन्दी लगाउने काम गरेको थियो ।
सन्धि सम्झौता विपरीत
भारतको नाकाबन्दी पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय व्यापार र पारबहन सन्धि एवं भारत र नेपालबीच भएको सम्झौता विपरीत छ । भूपरिवेष्ठित देश हुनुको नाताले नेपालको निर्वाध पारबहनको सुविधा उपभोग गर्न पाउने अधिकार कुण्ठित भएको छ । नाकाबन्दी घोर अमानवीय कार्य हो । युद्धका बेला पनि नगरिने व्यवहार भारतबाट यसपटक भएको छ । सार्वभौम नेपालीले बनाएको संविधानप्रति असहमति राख्नु र त्यसवापत नाकाबन्दी गर्नु सार्वभौम नेपालप्रतिको भारतको हस्तक्षेप र हेपाहा व्यवहार उजागर भएको छ ।
उदारवादी अर्थनीति र नेपालको परनिर्भरता
भारतले नाकाबन्दी लगाउँदा नेपालमा यति चाँडै नै असामान्य अवस्था सिर्जना हुनुमा आत्मनिर्भर अर्थव्यवस्था निर्माणतर्फ ध्यान नदिने नीति पनि जिम्मेवार रहेको छ । अन्य देशमा ३÷४ महिनासम्म पेट्रोलियम पदार्थको भण्डारण गर्ने क्षमता छ भने हामी कहाँ १÷२ हप्तासम्म पनि नपुग्ने गरी नेपाल आयल निगमसँग भण्डारण क्षमता हुनु विडम्बनापूर्ण छ । देशलाई आवश्यक पर्ने वस्तु देशभित्रै उत्पादन गरी आत्मनिर्भर बन्ने नीति अवलम्बन गर्नुको सट्टा उत्पदान, वितरण र सेवा क्षेत्रमा राज्यले हात हाल्नु हुँदैन । यी सबै कार्य गर्न निजी क्षेत्रलाई छोडिदिनु पर्छ भन्दै नवउदारवादी अर्थनीतिका पण्डितहरूको सल्लाहबमोजिम अवलम्बन गरिएको आर्थिक उदारीकरण नीतिको परिणामस्वरूप नेपाल परनिर्भरतातर्फ उन्मुख भएको हो । उदारवादी अर्थनीतिले उत्पादन र रोजगारी गरेर नाफा हासिल गर्नेभन्दा पनि व्यापार गरेर नाफा कमाउने व्यापारिक अर्थनीति अवलम्बन गरेका कारण अहिले हाम्रो देशमा झण्डै आठ खर्बको आयात व्यापार पुगेको छ । यसले गर्दा मुलुकको अर्थतन्त्र नै आयातमुखीझँै बन्न पुगेको छ ।
करिब २५ वर्ष अगाडिसम्म धानचामल निर्यात गर्ने हाम्रो मुलुक कृषि क्षेत्रको व्यावसायिक र आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नेतर्फ ध्यान नदिँदा आज लगभग १० अर्बको धानचामल आयात गर्नुपर्ने अवस्थामा पुगेको छ भने करिब २५ जिल्लामा खाद्यान्न सङ्कट उत्पन्न भई भोकमरीको अवस्था सिर्जना हुने गरेको छ । यसरी दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म आयात गरेर गुजारा चलाउनुपर्ने स्थिति रहेको छ ।
आयातमुखी बनेको हाम्रो देशको अर्थतन्त्रमा कुल आयात व्यापारको झण्डै दुई तिहाइ सामान भारतबाट मात्र आयात हुने गर्छ । यसरी भारतबाट आयात हुने अधिकांश वस्तु दैनिक उपभोग्य रहेका छन् । कुल आयात व्यापारको ९० प्रतिशत हिस्सा भारतबाटमात्र हुने गर्दछ ।
नाकाबन्दीको विकल्प
भारतबाट गरिएको नाकाबन्दीबाट बहुआयामिकरूपमा नकारात्मक प्रभाव परेको छ । नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई प्रगाढ बनाउन अब भारतसँग नयाँ बाटोबाट सम्बन्ध अगाडि बढाउनुपर्दछ । सन् १९५० को सन्धि र व्यापार तथा पारबहन सुविधा सम्झौता बद्लिँदो परिवेशमा दुवै देशलाई फाइदा हुने गरी गर्न ध्यानतर्फ दिनुपर्छ ।
देश ठूलो होस् वा सानो सार्वभौमसत्ता बराबरी नै हुन्छ । अतः दुवै देशले एक अर्काको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ । अब भारतसँग पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय अभिसन्धि तथा कानुनबमोजिम भूपरिवेष्ठित देश हुनुको नाताले निर्वाध पारबहन सुविधा प्राप्त गर्ने अधिकारलाई स्थापित गर्ने गरी भारतसँग उच्चस्तरको राजनीतिक तह एवं कूटनीतिक तवरले वार्ता गरी द्विपक्षीय सम्बन्ध सुमधुर बनाइनु पर्छ ।
आत्मनिर्भरताको बाटो भनेको स्वदेशी उत्पादनलाई वृद्धि गरेर आयात व्यापारलाई प्रतिस्थापन गर्ने हो । अहिले भारतको नाकाबन्दीका कारण मात्र आत्मनिर्भर बन्ने भन्ने होइन नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकतालाई अक्षुण बनाउन आर्थिक हिसाबले पनि आत्मनिर्भर बन्नुपर्छ ।
नेपालको आर्थिक विकास गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नेपालको आफ्नै मौलिक मोडेलको अर्थतन्त्र निर्माण गर्नुपर्छ । उदारीकरण, नीजिकरण र व्यापारीकरणका कारण शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानी, आवास र यातायातका क्षेत्रको सेवा प्राप्त गर्न जनताले ठूलो धन राशि खर्च गर्नुपरेको छ । यी सेवा र सुविधा सहज र सरल ढङ्गले राज्यले उपलब्ध गराउने बित्तिकै जनतासँग रहेको अर्बाैं रकम उपभोग्य वस्तु र सेवामा खर्च नभई बचतका रूपमा परिचालन भएर खर्बाैं रुपियाँ राष्ट्रिय पुँजीका रूपमा परिचालन गर्ने आधार तयार हुनेछ । जल स्रोतको धनी देश भएर पनि पर्याप्त मात्रामा विद्युत् उत्पादन गर्न पुँजीको अभाव रहेको सन्दर्भमा जनतासँग रहेको बचत रकमलाई परिचालन गरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने आधार तयार हुन्छ ।
विद्युत् उत्पादनबाट मात्र मुलुकमा औद्योगिकीकरणको थालनी भई उत्पादन, रोजगारीमा अभिवृद्धि ल्याउन सकिन्छ । पेट्रोलियम पदार्थको आयातका लागि हाल अर्बौं रुपियाँको विदेशी मुद्रा खर्च भइरहेको छ । विद्युत् उत्पादन वृद्धिले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको सट्टामा विद्युतबाट चल्ने ट्रलीबस, ट्याम्पो र अटोरिक्सा तथा अन्य यातायातका साधनको प्रयोग गर्नु पर्छ । देशका मुख्य सहरमा ठूला सार्वजनिक यातायातको थालनी गरी साना साधनको प्रयोग निरुत्साहित गर्नुपर्छ । सरकारी कार्यालयमा विद्युतेबाट चल्ने मोटरसाइकल र साइकलको प्रयोगको थालनी गर्नुपर्छ ।
यसरी विधुतीय सवारी साधन प्रयोग गर्न थालेपछि पेट्रोलियम पदार्थको आयतमा कमी हुँदै जानेछ र अर्बाैं रकमको विदेशी मुद्रा सन्चिति हुनेछ । घरेलु प्रयोगका लागि वैकल्पिक ऊर्जालगायत सौर्य ऊर्जा, गोबर ग्यास प्लान्टको प्रयोगलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ ।
देशभित्र उत्पादित वस्तुको बिक्री वितरणका लागि बजारको प्रबन्ध हुन नसक्दा आपूर्तिजन्य अवरोध सिर्जना भएको छ । खासगरी नेपाल आयल निगमले १४ वटै अञ्चलका प्रमुख सहरमा पेट्रोलियम भण्डारण क्षमता बढाउने बन्दोबस्त मिलाउनु जरुरी भएको छ । देशभित्र उत्पादन न्यून हुने वस्तुको आयात गर्न र निर्यात अभिवृद्धिका लागि भारतबाहेक चीन र अन्य मुलुकसँग पनि व्यापार÷पारबहन सम्झौता गरी वस्तुगत र देशगत व्यापार विविधिकरणको नीति अवलम्बन गर्नुपर्छ ।
नाकाबन्दी नेपालका लागि आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न अवसर पनि हो । दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीमा बढ्दै गएको आयातमुखी परनिर्भरताको अन्त्यका लागि जलविद्युत् क्षेत्रमा व्यापक लगानी गरेर विद्युत्को विकास गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गरेर मुलुकलाई औद्योगिकीकरणको दिशामा अगाडि बढाउने, कृषिजन्य उद्योगहरूको विकास र विस्तार गर्ने, पेट्रोलियम पदार्थको आयातलाई न्यून गर्न वैकल्पिक ऊर्जाको विकास र प्रयोगको थालनी गर्ने कार्यलाई अगाडि बढाउन सक्दा मुलुकलाई आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सकिने विश्वास लिन सकिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना