• ६ चैत २०८०, मङ्गलबार

उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना

blog

सोल, असार १९ गते। (रासस/एपी)। उत्तर कोरियाले आफूलाई लक्षीत गर्दै संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएको भन्दै त्यसको आलोचना गरेको छ। उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ। 

उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण व्यवहारको निन्दा गर्दै त्रिदेशीय सैन्य सहयोगले आफ्नो सैन्य क्षमता बढाउन बाटो खोलेको जनाएको छ। 

उत्तर कोरियाका छिमेकीहरूले पनि प्योङयाङ हतियार परीक्षणहरूको उत्तेजक दौडमा रहको तथा पाँच वर्षपछि पहिलो आणविक परीक्षणको लागि तयार रहेको बताएका छन्। 

पछिल्लो परिस्थितिले कोरियाली प्रायद्वीप र बाँकी विश्वको सुरक्षा वातावरणको द्रुत गतिमा बढ्दो तीव्र वृद्धिसँगै त्यसको सक्रियताका साथ सामना गर्न देशको प्रतिरक्षा निर्माण तत्काल गर्नुपर्नेमा जोड दिँदै उत्तर कोरियाको विदेश मन्त्रालयले आह्वान गरेको छ। यद्यपि उसले आफ्नो सैन्य सामथ्र्य कसरी बढाउने भन्ने बारेमा केही उल्लेख गरेको छैन। 

गत साता स्पेनमा भएको उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको साइडलाइनमा अमेरिका, दक्षिण कोरिया र जापानी नेताहरूबीच भएको त्रिपक्षीय बैठकमा उत्तर कोरियाको आणविक चुनौतीको सामना गर्न पारस्परिक सहयोग अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।