• ६ चैत २०८०, मङ्गलबार

पुलिसलाई महिला भलिबल उपाधि

blog

भलिबल उपाधिसहित पुलिस टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १८ गते । बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

विभागीय डर्बीले पुलिसले एपीएफमाथि २५–१६, २७–२५, २५–१९ को रोमाञ्चक जित निकालेको हो । उपाधिसँगै पुलिसले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता एपीएफले दुई लाख ५० हजार रुपियाँ प्राप्त गरेको छ । नियमिति स्पाईकर सरस्वती चौधरी चोटका कारण कोर्ट बाहिर रहँदा एपीएफले पछिल्लो समय खराब नतिजाको सामना गरिरहेको छ ।

तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा आयोजक न्यू डायमन्डले परोपकार गल्र्स होस्टललाई ३–० को सोझो सेटमा हरायो । न्यू डायमन्डले २५–१२, २५–१४, २५–२३ को जित निकालेको हो । तेस्रो भएको न्यू डायमन्डले एक लाख २५ हजार र चौथो भएको परोपकाले ७५ हजार रुपियाँ पायो । प्रतियोगितामा पुलिसकी कोपिला राना सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले २५ हजार रुपियाँ प्राप्त गर्नुभयो । न्यू डायमण्डकी सलिना बुढामगर उदियमान खेलाडी हुनुभयो । उहाँले २० हजार रुपियाँ प्राप्त गर्नुभयो ।

विधातर्फ एपीएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर, एपीएफकै उषाकुमारी विष्ट उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, पुलिसकै कोपिला उप्रेती उत्कृष्ट सर्भर, न्यू डायमण्डकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो र पुलिसका प्रशिक्षक रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । उत्कृष्ट सबैलाई जनही १० हजार रुपियाँ प्रदान गरियो । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्डले प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा चार टोलीले भाग लिएका थिए ।