• ६ चैत २०८०, मङ्गलबार

अर्थतन्त्रमा सङ्कट होइन, चुनौती छन्

आयातमा कडाइ गर्नुपर्छ : अर्थविद्

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १८ गते  । विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाब थेग्न आयात घटाउनुपर्ने अर्थविद्हरूले सुझाव दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नालिजम स्टडिजले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था विषयक’ छलफल कार्यक्रममा अर्थविज्ञहरूले मुलुकको आर्थिक अवस्था बिग्रिसकेको नभए पनि यसप्रति सजग रहन आग्रह गरेका हुन् ।  बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा कमी आएकाले अत्यावश्यक बस्तु र सेवाबाहेकका आयातमा कडाइ गर्नुपर्नेमा अर्थविज्ञहरूले जोड दिएका छन् । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले मुलुकको अर्थतन्त्र सङ्कट अवस्थामा नरहेको बताउनुभयो । विदेशी मुद्रा सञ्चिति घटे पनि मुलुकको आर्थिक अवस्था श्रीलङ्काजस्तो नहुने उहाँको दाबी छ । नेपालको विदेशी ऋण धेरै नभए पनि बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा असर पर्न सक्ने हुँदा स्थानीय उत्पादन वृद्धि गरी निर्यातमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।


“सिमेन्टमा मुलुक आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुगेका छौँ । बिजुली निर्यात सुरु भइसकेकाले विदेशी लगानी भिœयाएर आन्तरिक उत्पादन बढाउन सकिन्छ । बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएकाले उत्पादन बढाएर बढ्दो आयातलाई कम गर्न सकिन्छ,” उहाँले भन्नुभयो । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले व्यापार घाटा बढिरहेको र आयात बढ्दै गएर विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने बताउनुभयो । विद्यमान चुनौती समाधानका लागि अत्यावश्यकबाहेकका वस्तु आयातमा कडाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विदेशी मुद्राको सञ्चिति साढे छ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने हुनु नराम्रो अवस्था नरहेको धारणा व्यक्त गर्दै पूर्वगभर्नर क्षेत्रीले तर आयात बढेको अनुपातमा विदेशी मुद्रा आर्जन गर्ने स्रोत नबढेकाले यसप्रति सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।“सरकारमा नीतिगत स्थायित्व छैन । बेरोजगारीका कारण युवा विदेशमा गएका छन् तर स्वदेशमा काम गर्ने जनशक्ति अभाव रहेको छ,” उहाँले भन्नुभयो । 

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा कमी आए पनि यसलाई जोगाउनुपर्छ भन्ने विषयमा सरकार गम्भीर भएको जानकारी दिनुभयो । “विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि आयात निरुत्साहित गर्ने नीति लिएका थियौँ । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा विदेशी मुद्रा बाहिरिने क्रम घटेको छ,” तर पनि आगामी तीन÷चार वर्ष विदेशी मुद्राको चाप पर्ने चर्चा गर्दै डा. उप्रेतीले भन्नुभयो । विदेशी मुद्राको सञ्चिति जोगाउन कृषि उत्पादन बढाउने, निर्यात प्रवद्र्धन गर्ने, बिजुली निर्यात बढाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले बैङ्कमा तरलता अभाव र भुक्तानी सन्तुलनको समस्या रहेको बताउनुभयो । “तरलता अभावले बैङ्कले ऋण दिन सकिरहेको छैन । यसको समस्या समाधान गर्न बजेटले सम्बोधन गरेन,” उहाँले गुनासो गर्नुभयो । श्रीलङ्काले मल आयात रोक्दा धान उत्पादन कम भई खाद्य सङ्कट सिर्जना भएको चर्चा गर्दै उहाँले नेपालमा पनि मल अभावकै कारण खाद्यान्न उत्पादन कम हुन सक्ने भएकाले आपूूर्ति व्यवस्था सहज पार्नुपर्ने बताउनुभयो । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा विकास अर्थशास्त्रका प्राध्यापक डा. विजन पन्तले नीति योजना बने पनि कार्यान्वयन गर्ने संरचना बनाउन नसक्दा अर्थतन्त्र बलियो बन्न नसकेको बताउनुभयो । अर्थशास्त्री डा. गोविन्द नेपालले मुलुकको अर्थतन्त्र सङ्कटको दिशामा गएकाले सजग रहन आग्रह गर्नुभयो ।  वरिष्ठ पत्रकार किशोर नेपालले मुलुकको वर्तमान आर्थिक स्थिति चुनौतीपूर्ण रहेकाले त्यसको समाधानका लागि विज्ञ, अर्थविद्हरूको सुझाव उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।