• ६ चैत २०८०, मङ्गलबार

पहिरो पीडितलाई त्रिपाल र म्याट्रेस वितरण

blog

पहिरो पीडितलाई त्रिपाल, म्याट्रेस लगायतका सामग्री वितरण गरिँदै ।

चन्द्र पन्दाक
ताप्लेजुङ, असार १७ गते ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल, म्याट्रेसलगायतका सामग्री वितरण गरिएको छ । निरन्तरको वर्षापछि गएको पहिरोले विस्थापित भएका र समस्यामा परेका परिवारलाई गाउँपालिकाले उक्त सामग्री वितरण गरेको हो ।

पहिरोले विस्थापित भएका र जोखिममा परेको मेरिङ्देन गाउँपालिकाका विभिन्न वडाका ४० परिवारलाई त्रिपाललगायतका सामग्री वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर)का अनुसार पहिरो पीडित परिवारलाई एकथान त्रिपाल र एकथान दरले म्याट्रेस प्रदान गरिएको छ ।

यस्तै, उहाँहरुलाई खानेपानीको पाइप १२ क्वेल (बन्डल) र ग्याविन तारजाली ५० थान वितरण गरिएको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो । निरन्तर वर्षा भएका कारण एक साताअघि मेरिङ्देन गाउँपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा पहिरो जाँदा सयौं परिवार विस्थापित भएका छन् । पहिरोले विस्थापित परिवार हाल सुरक्षित ठाउँमा त्रिपाल टाँगेर बसेका छन् भने कोही परिवार आफन्तकहाँ शरण लिएर बस्दै आएका छन् ।