• ६ चैत २०८०, मङ्गलबार

कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाइने

blog

नारद कोहार

तौलिहवा, असार १७ गते ।  कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । १२औँ नगर सभाको दोस्रो बैठकले बुद्धनगरी कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय गरेको हो ।

बुद्धको माध्यमबाट प्राचीन नगरी कपिलवस्तुको चिनारी र पर्यटकीय विकासका लागि यस्तो निर्णय गरिएको नगरप्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले नगरपालिकालाई सांस्कृतिक नगर बनाउने प्रक्रिया पनि अघि बढाइसकेका छौँ र अब ठोस पहल गर्दैछौँ ।” सो नगर सभाबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिकाको ९३ करोड ८४ लाख ७२ हजार बजेट पारित भएको छ । 

बजेटमा सामाजिक सुरक्षा भत्ताको रकम भने समावेश नभएको प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । नगर उपप्रमुख सुनिता गुप्ताले पेस गर्नुभएको विनियोजन विधेयक २०७९ समेत स्वीकृत गरिएको छ ।

प्रत्येक वडालाई ८५ लाख तथा नगरस्तरीय बजेटमार्फत प्रत्येक वडालाई थप ५० लाखका दरले बजेट विनियोजन गरिएको छ । स्वास्थ्य बीमा साझेदारी कार्यक्रम सञ्चालन गर्न एक करोड बजेट विनियोजन भएको छ । झन्डै साढे १२ हजारलाई बीमामा समावेश गर्न बीमा शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने गरी बजेट छुट्टाइएको नगरप्रमुख पौडेलले बताउनुभयो ।

हुलाकी सडक निर्माणका क्रममा गत फागुनमा भत्काइएको ऐतिहासिक महेन्द्र गेट पुनः निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । 

कपिलवस्तु नगरपालिका प्रवेश गर्ने चारवटाद्वारहरू जमुहार, बर्दाहवा, भिक्षु चोक र बहादुरगञ्ज चोकमा डिजिटल प्रतीक्षालय निर्माणका लागि ५० लाख बजेट छुट्टाइएको छ । 

प्रशासन चोक अगाडि आकाशे पुल निर्माणका लागि ३० लाख बजेट विनियोजन भएको छ । निःशुल्क शिक्षा कार्यक्रमअन्तर्गत विद्यालयलाई अनुदान दिन ८१ लाख ७३ हजार बजेट छुट्टाइएको छ । सो अवसरमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले पर्यटक प्रवद्र्धन, करारका कर्मचारीको पोसाक भत्ता पाँच हजारलाई बढाएर १० हजार गर्नुपर्ने र गोरुसिङे तौलिहवा सडक खण्डमा बुद्धको मूर्ति राख्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक र विनियोजन विधेयक पारित गरेको छ । करारका कर्मचारीहरूको एक वर्ष म्याद थप्ने, नगरको बजेटबाट सञ्चालित केही योजनाको म्याद थप्ने र न्यायिक समितिको प्रतिवेदन पास भएको छ ।