दुईवर्षमा ३३ थान बहुमूल्य मूर्ति चोरी !

 डोल्पा (त्रिपुराकोट), मङ्सिर १६ गते। डोल्पा भौगोलिक रुपमा विकट भए पनि प्रचुर पर्यटकीय सम्भावनका हिसाबमा भने सम्पन्न छ ।

त्यतिमात्र होइन डोल्पा ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्भावनाका हिसाबमा पनि कम छैन ।

डोल्पामा सडक सञ्जाल नहुँदो शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सुविधाबाट समेत वञ्चित हुनुपरेको छ ।

सरकारी तबरबाट उपचार सेवा नपाउने डोल्पाली उपचारका लागि मठ–मन्दिरमा धाउने गर्दछन् ।

डोल्पामा नेपालकै प्रसिद्ध शे–गुम्बा, बालात्रिपुरासुन्दरी मन्दिर, मष्टा भवानी मन्दिर पनि रहेका छन् ।

बौद्ध र हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र बनिरहेका यस्ता मन्दिरमा पछिल्लो समयमा ऐतिहासिक बस्तुको चोरी भइरहेको छ । प्राचीन ऐतिहासिक महत्व बोकेका यस्ता मन्दिरमा दुई वर्षयता मात्र ३३ थान मूर्ति चोरी भएका छन् ।

मङ्सिर १० गते मात्र साल्दाङ गाविसमा रहेको शे गुम्बाबाट पाँच थान प्राचीन बहुमूल्य मूर्तिको चोरी भएको छ ।

उपल्लो डोल्पाली तथा डोल्पा आउने पर्यटकको गन्तव्यस्थल बन्ने गरेको शे गुम्बामा भएको चोरीको विषयमा स्थानीयवासी चिन्तित भएका छन् ।
पटकपटक डोल्पामा शृङ्खलाबद्ध हिसाबमा भइरेहका चोरीको विषयमा डोल्पाली सचेत वर्ग पनि सशङ्कित भएका छन् ।

गुम्बाको नजिकै रहेको प्रहरी चौकी अत्यधिक चिसोका कारण तल्लो डोल्पा फर्केको केही महिनापछि गुम्बामा चोरी भएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको फितलो सुरक्षा व्यवस्थाका कारण डोल्पामा पटकपटक बहुमूल्य मूर्तिको चोरी भइरहेको राजनीतिक दलहरुले बताएका छन् ।

एकवर्ष अगाडि साल्दाङ गाविसमा रहेको याङ्जोर गुम्बाबाट दर्जनाँै मूर्ति हराएका थिए तर स्थानीयवासीको सक्रियतामा पुनःस्थापना भयो ।

चोरीको विषयमा मङ्सिर १४ गते मात्रै नागरिक समाज, नेपाली काँग्रेस, एमाले, एमाओवादी, बौद्धमार्गीलगायत डोल्पाका समाजसेवी, बुद्धिजिवीले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुभाएका छन् ।

ज्ञापनपत्रमा पटकपटक योजनाबद्ध हिसाबमा चोरी भइरहँदा पनि जिल्लाको गृह प्रशासन तदारुपताका साथ नलागेकाले छिटोभन्दा छिटो खोजीकार्यमा लाग्नुपर्ने, छिमेकी जिल्लाका नाकामा कडाइ गरेर चोरलाई उम्किन नदिनुपर्ने, डोल्पाको माात्र नभई नेपालकै प्रसिद्ध शे गुम्बामा स्थायी प्रहरी चौकीको व्यवस्था गर्नुपर्नेलगायतका माग राखिएको नेपाली काँग्रेस डोल्पाका उपसभापति अङ्गतकुमार बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो भन्दा अगाडि धो गाविसमा रहेको गुम्बाबाट तीस थान, सदरमुकामको नजिकै रहेको तथा डोल्पाको सभासद् धनबहादुर बुढाको जन्मस्थल सहतारा गाविसमा रहेको गुम्बाबाट दुईपटक चोरी भइसक्दा पनि सभासद्ले पनि चोरीको विषयमा जानकारी पाउँदा पनि चासो नदेखाएको तथा प्रशासन पनि मौन रहेकाले दुई वर्षयता हराएका बहुमूल्य मूर्तिको खोजीकार्यका लागि तदारुपताका साथ लाग्न जिल्ला प्रशासन कार्यलयमा दबाब दिइरहेको बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालयले गतवर्षतिर चोरी भएका मूर्तिको खोजीकार्य भइरहेको र मङ्सिर १० गते चोरी भएका पाँचथान मूर्तिको खोजीकार्यका लागि सम्बन्धित घटनास्थलमा अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाइसकेको र छिमेकी जिल्लाका नाकामा चोर उम्किन नदिन कडाइ गरिएको प्रहरी नायब उपरीक्षक धुव्रप्रसाद रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपल्लो डोल्पाका नाम्दो, साल्दाङ, धो, भिजेरलगायतका स्थानमा अस्थायी प्रहरीचौकी राखिए पनि अत्यधिक चिसोका कारण बस्न नसक्ने अवस्था देखिएपछि सबै तल झरिसकेको मौका पारेर चोरी भएको बताउनुभयो ।

उपल्लो डोल्पामा प्रहरी र स्थानीयवासी नभएको मौकामा धेरै चोरी हुने भएकाले बहुमूल्य मूर्ति संरक्षणका लागि चिसो महिना सुरु भएलगत्तै तल्लो डोल्पा झर्ने प्रहरी स्कटिङमा मूर्ति तल्लो डोल्पामा रहेका गुम्बामा ।संरक्षण गर्न ल्याउने र गर्मी महिना सुरु भएलगत्तै उपल्लो डोल्पा लिँदा सुरक्षा हुने धारणासमेत उहाँले राख्नुभयो ।

डोल्पाका अन्य धार्मिक सम्पदा पनि चोरको निसानामा पर्नसक्ने देखिएकाले मन्दिर, गुम्बा सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गरेको बालात्रिपुरा सुन्दरी मन्दिरका पुजारी तथा समाजसेवी पूर्णकेशर न्यौपाने जानकारी दिनुभयो ।

जिल्लाको फितलो सुरक्षा व्यवस्था भएको फाइदा उठाउँदै हरेक यस सिजनमा करोडौँ लुटपाट तथा दर्जनाँैको हत्या समेत हुने गर्दछ । यसरी जानाजान डोल्पामा लगातार चोरी भइरहँदा पनि जिल्लाको सुरक्षा निकाय गम्भीरतापूर्वक जिल्लामा चुस्तरुपमा लाग्नुपर्ने देखिन्छ । रासस


 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना