• ६ चैत २०८०, मङ्गलबार

संसदमा विचाराधीन नागरिकता विधेयक पारित गर्नुपर्ने अभिभारा छ : सभामुख सापकोटा

blog

काठमाडौं, असार १६ गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदमा विचाराधीन नागरिकता विधेयक पारित गर्नुपर्ने अभिभारा रहेको बताउनुभएको छ ।

बिहीवार ‘संसद् दिवस २०७९’को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख सापकोटाले सङ्घीय संसदमा विचाराधीन नागरिकतालगायत महत्त्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्‍याउनुपर्ने अभिभारा रहेको उल्लेख गर्नुभएको हो ।

नेपालमा वि.सं. २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा यस दिनलाई संसद् दिवसका रुपमा मनाउने प्रचलन रही आएको छ ।

‘‘संविधानमा उल्लेखित लोकतान्त्रिक अधिकारको उच्चतम प्रयोग र जनताको आवाज मुखरित गर्ने सर्वोच्च थलो संसद् हो ।’’ सभामुख सापकोटाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको  छ, ‘‘संसद् दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसदले भोग्नु परेका विविध आरोहावरोह, नयाँ संविधान जारी भएपछिको सङ्घीय संसद्सँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्ष गर्ने बेला आएको छ ।’’

त्यस्तै, सङ्घीय संसद्लाई जीवन्त र जनमुखी बनाउने सूत्रवाक्यलाई आत्मसात् गरी अगाडि बढेको उहाँको भनाइ छ ।

‘‘दुई–दुई पटकको विघटन, कोभिड सङ्कटलगायत विविध समस्याका बीचबाट संसदले आफ्ना कार्यहरु निरन्तर अगाडि बढाइरहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘संसद् दिवसले सङ्घीय संसदका सदस्य, संविधानसभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा लोकतान्त्रिक परिपाटीको रक्षा र सुदृढीकरणका लागि एक जुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।’’

त्यस्तै, सभामुख सापकोटाले संसद् दिवसका अवसरमा लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलन र जनसङ्घर्षहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै, उहाँले बेपत्ता, घाइते तथा अपाङ्ग हुनुभएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।