क्षेत्रीय सहयोग विस्तारमा सार्कका क्षेत्रीय केन्द्रहरुको क्रियाशीलता

काठमाडौँ, मङ्सिर ५ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को चौतर्फी विकासमा सहयोग पु¥याउन हालसम्म स्थापना भएका ११ केन्द्रको क्रियाशीलता अपेक्षा गरेअनुसार हुन नसकेको देखिन्छ ।

    सार्कको उद्देश्य हासिल गर्न र क्षेत्रीय सहयोगको अभिवृद्धिका लागि हालसम्म सार्क कृषि सूचना, क्षयरोग तथा एचआइभी÷एड्स, अभिलेख, जलवायु अनुसन्धान, मानव संशाधन, सांस्कृतिक, तटीय क्षेत्र व्यवस्थापन, सूचना, ऊर्जा, वनविज्ञान र विपत्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ ।

    केन्द्रको व्यवस्थापन सञ्चालक समितिबाट हुने प्रावधान छ । समितिमा सदस्य राष्ट्रका प्रतिनिधि, सार्क महासचिव र केन्द्र अवस्थित देशका परराष्ट्र मन्त्री हुन्छन् । केन्द्रको प्रतिवेदन केन्द्रका निर्देशकले स्थायी समितिमा पेस गर्नुपर्छ ।

    कृषि अनुसन्धान, दिगो कृषि विकास र गरिबी घटाउने लक्ष्यले सन् १९८८ मा स्थापना भएको सार्कको पहिलो कृषि सूचना केन्द्र बङ्गलादेशमा छ । केन्द्रले कृषिसम्बन्धी अनुसन्धान र विकासलाई मजबुत पार्न क्षेत्रीयस्तरमा कृषि प्रविधिसम्बन्धी जानकारी तथा सूचना सदस्य राष्ट्रका सम्बन्धित राष्ट्रिय सूचना केन्द्रमा उपलब्ध गराउने भने पनि कृषिसम्बन्धी केही विषयमा प्रकाशन र आफ्ना गतिविधिका बारेमा चौमासिक रुपमा एक छुट्टै पत्रिका प्रकाशनमै सीमित छ ।

    दक्षिण एसियामा क्षयरोगको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सन् १९९२ मा खोलिएको क्षयरोग तथा एचआइभी÷एड्स केन्द्रको कार्यालय नेपालमा छ । यस क्षेत्रका राष्ट्रिय क्षयरोग तथा एचआइभी÷एड्स नियन्त्रण कार्यक्रमलाई समन्वय गरी विश्वमा क्षयरोगसम्बन्धी पछिल्ला विकास, अनुसन्धान एवम् क्रियाकलाप सङ्कलन गरी सदस्य राष्ट्रमा आदान–प्रदान गर्ने काम केन्द्रले गर्दछ । उद्देश्यअनुरुप कार्यक्रमको कार्यान्वयनमा देखा परेका समस्या समाधान गर्न सदस्य राष्ट्रका सम्बन्धित प्रबन्धकहरुको बैठक गर्दै आएको छ ।

    सन् १९९५ मा स्थापना भएको सार्क जलवायु अनुसन्धान केन्द्रले यस क्षेत्रको मौसमसम्बन्धी अनुसन्धान र सो को अनुगमनसम्बन्धी काम गर्दै आएको छ । बङ्गलादेशमा अवस्थित केन्द्रले जलवायु विज्ञानसम्बन्धी पेसाविद् र प्राविधिकले पछिल्ला सूचनाहरु समावेश गरी तयार गरेका तथ्याङ्कहरु सङ्कलनको काम गर्छ । दैवी प्रकोपबाट हुने जनधनको क्षतिलाई कम गर्न मौसमको भविष्यवाणी गर्ने उपकरणको सुधार गर्ने भने पनि त्यसमा ठोस उपलब्धि हासिल गर्न नसकेको गुनासो छ ।

    मानवीय संशाधन विकाससम्बन्धी विषयमा अनुसन्धान गर्ने, तालिम दिने र सूचनाको विस्तार गर्ने उद्देश्यले खडा भएको मानव संशाधन विकास केन्द्रको कार्यालय पाकिस्तानमा छ । सन् १९९९ मा स्थापना भएको केन्द्रले सार्कका जनताको सीप र दक्षता अभिवृद्धिका लागि कार्यरत छ । सांस्कृतिक केन्द्रले सांस्कृतिक छटाहरुलाई संरक्षण, सम्वद्र्धन र संस्कृतिक विविधतालाई विश्वमा चिनाउने कामले स्थापना भएको हो । श्रीलङ्काको यो केन्द्र दक्षिण एसियाली सम्पदाको प्रतीकका रुपमा रहे पनि यसले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिमा ठोस उपलब्धि हासिल गर्न सकेको देखिँदैन ।

    वातावरणीय सन्तुलन कायम राख्न समुद्रतटीय क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको सार्कतटीय क्षेत्र व्यवस्थापन केन्द्रको कार्यालय मालदिभ्समा रहेको छ । यस केन्द्रले तटीय क्षेत्र तथा समुद्री वातावरणको संरक्षण, संवद्र्धन गर्ने र त्यसबाट सार्कका जनता एवम् अन्य प्राणीको संरक्षण गर्दै जैविक विविधताको संरक्षणमा योगदान पु¥याउँदै आएको छ ।

    शिक्षा, संस्कृति, विकास, राजनीति, ग्रामीण वस्तुस्थिति, स्वास्थ्यसहित विश्व जगत्का सूचना सङ्कलन गरी सदस्य राष्ट्रलाई उपलब्ध गराउने काम सूचना केन्द्रले गर्दै आएको छ । नेपालमा रहेको केन्द्रले सूचना बैंकको भूमिका निर्वाह गर्नुका साथै छापा तथा विद्युतीय सञ्चार माध्यमबीच समन्वयका काम गर्दछ ।

    ऊर्जा केन्द्र भने ऊर्जा क्षेत्रको सहयोगका सम्भाव्यताको अध्ययन, ऊर्जा चुनौतीलाई अवसरमा परिणत गर्ने र नवीकरणीय वैकल्पिक ऊर्जाको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले स्थापना भएको हो । पाकिस्तानमा रहेको केन्द्रले ऊर्जा संरक्षण र ऊर्जाको प्राचुर्यताका लागि प्रवद्र्धनात्मक कार्य गर्ने भने पनि उद्देश्यअनुरुपको उपलब्धि हासिल गर्न सकेको देखिँदैन । यस क्षेत्रमा ऊर्जा उत्पादनको सम्भावना व्यापक रहे पनि यो क्षेत्र ऊर्जा सङ्कटबाट पिरोलिँदै आएको छ ।   

    वनजन्य स्रोतको नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रयासको खोजी गर्ने पर्वतीय पर्यावरण, वन जङ्गलको संरक्षणलगायतको क्षेत्रका अनुसन्धान, प्राप्त तथ्याङ्क सूचना सङ्कलन, सङ्कलित तथ्याङ्क सदस्य राष्ट्रमा वितरण गर्ने उद्देश्यले वनविज्ञान केन्द्रको स्थापना भएको हो । भुटानमा रहेको केन्द्रले सार्क राष्ट्रका लागि केन्द्रविन्दुका रुपमा रही वनविज्ञानसम्बन्धी नीति निर्माण गर्नेजस्ता काम गरेको छ ।

    सार्कको ११आँै विपत्ति व्यवस्थापन केन्द्र सदस्य राष्ट्रका दैवीप्रकोप तथा अन्य केन्द्रबीच आपसी सहयोग आदान–प्रदान गर्न क्रियाशील छ । यसले हरेक विपत्ति व्यवस्थापनका लागि अभिलेख सङ्कलन, घटना अध्ययन र विपत्ति व्यवस्थापनका लागि तालिम सञ्चालनको काम गरिरहेको छ ।

    सार्कका हालसम्म १७ शिखर सम्मेलन सम्पन्न भइसकेका छन् । सार्कले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिमा केन्द्रको प्रगतिको अवस्था हेर्दा अपेक्षाकृत भने देखिँदैन । त्यही भएर यही मङ्सिर १० र ११ गते नेपाल हुने १८औँ सार्क शिखर सम्मेलनमा केन्द्रको प्रगति र सङ्ख्याका बारेमा बहस हुने बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना