• ६ चैत २०८०, मङ्गलबार

क्षेत्रीय व्यापार सुधारका लागि ऋण स्वीकृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १६ गते । नेपाल र बङ्गलादेशबीचको क्षेत्रीय व्यापार सुधार गर्न विश्व बैङ्कले बुधबार एक खर्ब २९ अर्ब रुपियाँ (एक अर्ब तीन करोड अमेरिकी डलर) स्वीकृत गरेको छ । यो सहयोगले खासगरी दुई देशबीचको व्यापार तथा यातायात लागत र समय घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पूर्वी दक्षिण एसियामा द्रुत यातायात र व्यापार कनेक्टिभिटी परियोजना (एक्सेस)को पहिलो चरणअन्तर्गत खर्च हुने यो रकममा दुई देशलाई कागजमा आधारित व्यापार, अपर्याप्त व्यापार पूर्वाधारसहित प्रमुख अवरोध सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । खासगरी व्यापार प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने काममा यो परियोजनाले सहयोग पुग्नेछ । यस्तो प्रणालीले छिटो सीमा पार गर्ने, ट्रकको प्रवेश र निकासीको ट्र्याकिङ, स्मार्ट पार्किङ र सीसीटीभी क्यामरा स्थापना गर्नेछ । 

परियोजनाअन्तर्गत छनोट गरिएका सडक कोरिडोर सुधार गर्न, बन्दरगाह र आवश्यक पूर्वाधारको स्तरोन्नति गर्न सहयोग पुग्नेछ । यसले भूपरिवेष्ठित भुटान र नेपालका प्रवेशद्वार बङ्गलादेश र भारतसँग एकीकरण गर्न मद्दत पुग्ने विश्व बैङ्कले जनाएको छ ।

परियोजनाको कुल लागतमध्ये ७५ करोड ३४ लाख डलर ढाका–सिलटेह राजमार्गसँग शेओला भूमि बन्दरगाह जोड्ने दुई लेनको सिल्हेट–चरकाई–शेओलाको ४३ किलोमिटर खण्डलाई चार लेन सडकमा स्तरोन्नति गर्न खर्च हुनेछ । यसबाट यात्रा ३० मिनेट घट्ने अपेक्षा गरिएको छ । नेपालमा भने परियोजनाको २७ करोड ५० लाख डलर खर्च हुनेछ, जसबाट पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङे–चनौटा सडकको ६९ किलोमिटर सडक खण्डलाई चार लेनको बनाइनेछ । यसबाट भारतका पश्चिमी बन्दरगाहमा सहज पुहँच पुग्ने र यात्रा ३० प्रतिशतले घट्ने अपेक्षा गरिएको छ । 

त्यस्तै परियोजनाले महिला उद्यमी र व्यापारीका लागि समर्पित क्षेत्रसहित राजमार्ग छेउमा कम्तीमा तीनवटा बजार क्षेत्र निर्माण गर्नेछ । यो परियोजनाबाट वीरगञ्ज र भैरहवा सीमा नाकामा व्यापार र भन्सार प्रक्रिया अभिवृद्धि गर्न सहयोग पुग्ने जनाइएको छ । परियोजनाको दोस्रो चरणमा भुटान पनि समावेश हुने विश्व बैङ्कले जनाएको छ ।